बलात्कार कसुरमा वृद्धलाई २ वर्ष कैद
नुवाकोट : बलात्कार कसुरमा नुवाकोटका एक वृद्धलाई दुई वर्ष कैद सजायको फैसला भएको छ।
१३ वर्षीया एक बालिकालाई बलात्कार गरेको कसुरमा बेलकोटगढी नगरपालिका-४ डाँडाखर्कका ६८ वर्षीय ऋषिबहादुर बाँस्कोटालाई जिल्ला अदालत नुवाकोटले दुई वर्ष कैद सजायको फैसला गरेको हो।
नुवाकोटका जिल्ला न्यायाधीश मदनबहादुर धामीको इजलासले मंगलबार आंशिक दाबी पुग्ने ठहर गर्दै २ वर्ष कैद सजाय र २५ हजार रुपैयाँ पीडितलाई क्षतिपूर्ति भराउन आदेश दिएको हो। २०७७ मंसिर २४ गते बलात्कार गरेको दावी गर्दै जिल्ला प्रहरी कार्यालयमा मंसिर २९ गते उजुरी दर्ता भएको थियो।
पीडित बालिकाको स्वास्थ्य परीक्षण मंसिर २९ गते त्रिशूली अस्पतालमा भएको थियो। जिल्ला अदालतले आरोपित बाँसकोटालाई २०७७ पुस १६ गते पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएकोमा २६ महिनापछि अन्तिम फैसला भएको हो।