सत्ता गोलचक्करमा बेढंगी नृत्य

जनप्रतिनिधिको मूल काम कानुन निर्माण हो। संसद् पुगेका जनप्रतिनिधिको मुख्य ध्याउन्न भने कानुन निर्माणमा नभई सत्ताको ‘म्युजिक चियर’तिर छ। कतिसम्म भने संसद्को नियमित बैठकमै सांसदहरूको गणपूरक संख्या पुग्न नसकेर बैठक स्थगित हुन्छ, जस्तो गत शुक्रबार भयो। त्यस्ता शुक्रबार र बारहरू संसद्ले धेरै व्यहोरेको छ। भत्ताका लागि भनेर हाजिर गर्ने तर संसद्मा उपस्थित नहुने सांसदहरूकै कारण संसद् चल्न नसक्नु भनेको जनप्रतिनिधिको गैरजिम्मेवारीपनको द्योतक हो। खासमा यो सांसदहरूको व्यक्तिगत कमजोरीमात्रै नभई नेपाली राजनीतिकै ध्यान देश र जनतामा नभई सत्ता र सत्ता अनि फेरि पनि सत्तामा हुनुको परिणाम हो।
मुख्य दलका शीर्ष नेतामध्ये को प्रधानमन्त्री हुने, कति समय हुने र अर्काेको पालो कहिले आउने भन्नेबाहेक देश र जनताको एजेन्डामा नेपाली राजनीति प्रवेशै गर्न सकेको छैन। मुठीभर नेताको चाहना र उनीहरूको इशारामा राजनीति सत्ताको गोलचक्करमा घुमिरहेको छ। त्यही गोलचक्करको रनाहामा परेका जनतामा देश र आफ्नै व्यक्तिगत अवस्थाले रिंगटा चलाइरहेको छ। त्यो रनाहा कुन रूपमा कसरी प्रकट होला भन्ने अहिलेको चिन्ता हो। सत्ता र शक्तिमा भएका नेताहरूको एकलएकल निर्णय हाबी गर्ने र जनताले जिताएका सांसद तथा पार्टीकै नेताहरूको भूमिकालाई गौण बनाउने तौरतरिका लोकतान्त्रिक भावना र मर्मविपरीत हो। त्यो एक किसिमले अधिनायकवादी चरित्र हो।
जनताले सुम्पेको जिम्मेवारी भुलेर शीर्ष नेतृत्वको रबर स्ट्याम्प बन्न उद्यत् सांसदहरू पनि यसमा कम्ती दोषी छैनन्। होइन भने उनीहरूले आफ्नो भूमिकाको खोजी गर्न सक्नुपर्छ। नेतृत्वलाई मदारी बनाएर उसकै बेसुरा रागको तालमा बेढंगको नृत्यका लागि राजनीतिक रंगमञ्चमा उभिन उनीहरू पनि तयार हुनु हुँदैन। त्यसै कारण न आज संसद् सरकार र सत्ताको लाचार छायाँजस्तो भएको छ। संसद्लाई बेकामे बनाएर जुन प्रकारले लामो समयलाई स्थगित गरिएको छ, त्यो जनताप्रतिको ठूलो धोका र बेइमानी हो। अनुत्तरदायित्वको पराकाष्ठा हो।
निकट भविष्यमा हुने राष्ट्रपति निर्वाचनलाई लिएर सत्ता र प्रतिपक्ष दलहरू सिद्धान्त र आदर्शहीन प्रतिस्पर्धामा छन्। संवैधनिक संस्थाको प्रमुखलाई लिएर दलबीच देखिएको अनुचित र अस्वस्थ प्रतिस्पर्धाले गणतान्त्रिक व्यवस्थाको प्रतीक पदको गरिमाको ओज कमजोर बनाइदिएको छ। खासमा यसले जनतामा निम्त्याएको राजनीतिप्रतिको घृणाभावलाई ‘मायावी’ रूपमा प्रकट हुन खोज्ने शक्तिले दुरुपयोग गर्ने खतराप्रति दलहरू पटक्कै सचेत देखिन्नन्। आजको आवश्यक सुशासन हो र तत्काल अर्थतन्त्रलाई त्राण दिँदै समृद्धिको यात्रा तय गर्नु राजनीतिको मूल दायित्व हो। त्यसलाई भुलेर भइरहेको राजनीति कदाचित असलमा राजनीति होइन। नीति, निष्ठा, नैतिकता, आदर्श र सिद्धान्तविहीन हर्कतलाई राजनीति मान्न सकिन्न।
प्रतिक्रिया दिनुहोस !
