अर्घाखाँचीमा साढे २७ किलोमिटर पिच
सडक पिच भएपछि अर्घाखाँची, प्युठान र गुल्मीका बासिन्दाहरू प्रत्यक्ष लाभान्वित हुने
सन्धिखर्क : मदन भण्डारी लोकमार्गअन्तर्गत अर्घाखाँचीमा सडक निर्माण कार्य सुरु भएको छ। गुल्मी, पाल्पा र स्यांजा जिल्लाको संगमस्थल रिडीबाट, बल्कोट, अर्घा, रतनमारे, गोखुंगा हँुदै प्युठान, रोल्पा भएर यो सडक सुर्खेतमा पुग्ने छ।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१० रुब्दीबाट सुचारु गरी पोखेडाँडा, भण्डार, रतनमारे हुँदै मालारानी गाउँपालिकाको गोखुंगासम्मको २७.६ किलोमिटरको निर्माण कार्य सुरु गरिएको मदन भण्डारी लोकमार्गका प्रमुख इन्जिनियर शशांक मिश्रले बताए।
रुब्दीबाट सुरु भई गोखुंगासम्म निर्माण हुने २७.६ किलो मिटर सडक निर्माण भएपछि अर्घाखाँचीको सन्धिखर्क नगरपालिका, मालारानी गाउँपालिका, प्युठानको झिमरुक गाउँपालिका र गुल्मीको मदाने गाउँपालिकाका बासिन्दाहरू प्रत्यक्ष लाभान्वित हुनेछन्।
सडक निर्माणका लागि श्रेष्ठ कन्स्ट्रक्सन प्रालिले भ्याटबाहेक १ अर्ब ९ करोडको लगानीमा निर्माण कार्यको सम्झौता गरेको मदन भण्डारी लोकमार्गका सूचना अधिकारी इन्जिनियर वीरेन्द्रप्रसाद गुप्ताले बताए। २७.६ किलो मिटर लम्बाइ र ११ मिटर चौडाइका साथ निर्माण हुने सडक निर्माण सँगै पिच हुने कार्यालयका सूचना अधिकारी गुप्ताको भनाइ छ।
रिडीबाट गुल्मीको खज्र्यांग हुँदै अर्घाखाँचीको बल्कोटसम्मको भागमा काम भइरहेको छ। सडक सञ्जालका हिसाबले यो सडक निर्माण कार्य सम्पन्न भएको खण्डमा अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कको बजार विस्तार हुने लक्ष्य राखिएको छ।