
जोगी बाबा, वेद, पुराण, उपनिषद् आदिबाट मेरो जिज्ञासाको समाधान हुनेवाला छैन। यदि समाधान भयो भने पनि विकासवादीहरू हाँस्नेछन्। जीव उत्पत्तिसम्बन्धी जिज्ञासाको समाधान आधुनिक विज्ञानले गर्न सक्छ।
कहाँ छस् ? केही कुरा गर्नु पर्नेछ’ घनश्यामले फोनमा भन्यो।
‘म घरै छु।’
केही क्षणमै घनश्याम मेरो घर आइपुग्यो। ऊ हँसिलो देखिन्थ्यो। ‘यार, मैले त सुनितालाई मन पराउन थालेको छु’, उसले भन्यो।
‘साँच्चै हो ?’
उनीहरूबीच भएको वार्तालाप र क्रियाकलापको बारेमा कृष्णचरित्र भट्याएजस्तो गरेर भट्यायो। अनि ‘ऊभन्दा राम्री कन्या भेटेको छैन’, भन्यो।
‘तैंले रोजेकी कन्या राम्री होलिन् ! अब चाँडो बिहे गर् ! बुवाआमाको गुनासो सकिन्छ। आफन्तजनहरू पनि खुशी हुन्छन्’, मैले भने।
‘अहिले माया पिरती मात्रै गाँसेको हो। विवाहको कुरा कहाँ गरेको हुँ र ? पहिला जिज्ञासाको समाधान गरौं, त्यसपछि... !’ अलिक ठूलो स्वरमा घनश्यामले भन्यो।
मैले अनिभज्ञ भएझैं गरेर सोधें, ‘के सम्बन्धी जिज्ञासा ?’
‘बुझ पचाउँछस् ?’ उसले रिसाउँदै भन्यो।
‘ए, तेरो चल्ला र अण्डाको जिज्ञासा ? अझै चित्त बुझाउन सकिनस् ?’ हाँस्दै भनें।
‘म विवाह गरेर विदेश जान्छु। उनले काम गर्छिन्, म विज्ञानको विधिबाट जीव उत्पत्ति कसरी भयो भन्ने बारेमा खोजी गर्छु’, घनश्यामले भन्यो।
‘अलिक अघि विवाह नगर्ने भनेको होइन ? अहिले विवाह गर्छु भन्छस्। खासमा तँलाई के भएको हो ?’, हँसीमजाक गर्दै भनें।
‘नेपाली पढाउने गुरुलाई प्रश्न सोध्दा अरूले घनश्यामको दिमागले काम गर्न छोड्यो भने। अब तँ यही कुरा दोहोर्याउँदैछस् ?’ घनश्यामले मुख रातो पार्दै भन्यो।
‘तेरो लहलहैमा लागेर म पनि तँ जस्तो भएको छु। असामान्य किसिमको प्रश्न जो–कोहीलाई सोध्दा यसको हावा खुस्केछ मात्र होइन, मस्तिष्कको उपचार गर्ने बेला भएछ भन्छन्। यो समस्याको समाधान गर् वा नगर् यो मेरा लागि ठूलो कुरा होइन। विवाह गर्छु भनिस्। यही ठूलो कुरा होे’, मैले भनें।
उसले प्रसंग मोड्दै भन्यो, ‘जोगी बाबा, वेद, पुराण, उपनिषद् आदिबाट मेरो जिज्ञासाको समाधान हुनेवाला छैन। यदि समाधान भयो भने पनि विकासवादीहरू हाँस्नेछन्। जीव उत्पत्तिसम्बन्धी जिज्ञासाको समाधान आधुनिक विज्ञानले गर्न सक्छ। यसकारण मैले गणित र जीवविज्ञान पढेको थिएँ। मलाई आधुनिक विज्ञानप्रति विश्वास छ।’ अनि उसले ब्रह्माण्ड र जीवको उत्पत्ति बारेमा आधुनिक विज्ञानले खोजी गरेको कुरा चर्चा गर्न थाल्यो। विकासवादका अनुसार, हाम्रो आत्मज्ञान परमतंखव मनमा र बाहिर देखिने ज्ञान भूततंखवमा सीमित छ। वस्तुमा जुन किसिमको क्रिया उत्पन्न हुन्छ, त्यसलाई खोजेर निकाल्नु दार्शनिकहरूको काम हो। त्यस्तो क्रियाको खोजीमा सार्वदेशिक नियम लागू हुन्छ। जुन विकासवादको नियम हो।
यो नियमबाट हामीले वस्तुहरूलाई भिन्न–भिन्न रूपमा हेर्न सक्छौं। जस्तो– बादल, बालुवाको थुप्रो, पिण्ड शरीर, समाजको निर्माण आदिको खोजीमा एकीकरणको नियम लागू हुन्छ। त्यस्तै, कुनै पिण्डलाई परिस्थितिबाट अलग्याउनु वा विभाजन गर्नु भनेको विनाश गर्नु हो। विनाश र विकासमा फरक छ। विनाशमा विभाजनको नियम लागू हुन्छ। यसमा एकता हुँदैन। भूततंखवको समायोजन, विनाश गतिको परिणाम र विवरणबाट भौतिक विकासलाई बुझ्न सकिन्छ।
एकीकरणको विरूद्धमा भूततंखवहरूले विनाश गतिको नियमलाई स्वीकार गरेर तंखवहरूलाई तितरबितर बनाइरहेका हुन्छन्। यसलाई विभाजनको नियम भनिन्छ। परम सत्ताको काम बाहिरी सम्बन्धका साथै भित्री सम्बन्धलाई पनि बराबर रूपमा समन्वय गरेर एकीकरण गर्नु हो। त्यसैले परम सत्ता
अत्यन्त पूर्ण जीवन हो। यसकारण पृथ्वी, ग्रह, नक्षत्र आदिको परम सत्ता र उत्पत्तिको बारेमा खोजी गर्न अति जरुरी थियो। त्यसैले वैज्ञानिकहरूले आ–आफ्नै किसिमले अनुसन्धान गर्न थाले।
पश्चिमा विद्वान्हरूको दृष्टिकोण पूर्वीय दर्शनप्रति कस्तो छ ? पूर्वीय दर्शन र योगीहरूका कुरा सुनेर विकासवादीहरू किन हाँस्छन् ? हाँस्नुको कारण के हो ?
पुराणमा पृथ्वीको उत्पत्ति दुई अर्ब वर्षपहिले भएको अनुमान गरिएको छ। यस्तो हिसाब आर्यभट्टले निकाल्नुभएको थियो। अन्य धर्मग्रन्थमा पनि पृथ्वीको उत्पत्ति बारेमा विभिन्न अनुमान गरिएको छ। त्यस्तै, पश्चिमा ज्योतिषशास्त्री हेलीले नदीहरूले समुद्रमा ल्याएको नुनबाट पृथ्वीको उमेर पत्ता लगाउन थाल्नुभयो। उहाँले पानी सँगसँगै प्रतिवर्ष नदीले समुद्रमा कति नुन ल्याउँछन्, यसको खोजी गर्न थाल्नुभयो। समुद्रमा जति नुन छ, त्यो सबै नुन नदीहरूले ल्याउन कति वर्ष लाग्यो होला ? उहाँले यसको हिसाब गरेर देखाउनु भयो।
उहाँको यस्तो खोजले १० करोड वर्षसम्मको हिसाब निस्कियो। तर, यो पद्धतिबाट निकालिएको हिसाबमा कैयौं समस्या देखा परे। जस्तो– पृथ्वीमा नदी कहिलेदेखि अस्तित्वमा आए ? अहिलेसम्म कति नदीको अस्तित्व हरायो ? प्रत्येक वर्ष एउटा नदीले समुद्रमा कति नुन ल्यायो ? यो ठीक तरिकाले जान्न मुस्किल थियो। तथापि यो हिसाबले समुद्रको आयु कमसेकम १० करोड वर्षभन्दा पुरानो रहेछ भन्ने अनुमान लगाउन सकिन्छ।
पृथ्वीको आयु जान्ने अर्को पद्धति थियो चट्टानको उमेर। प्रतिवर्ष पृथ्वीमा माटोको तह कति बाक्लो भएर जम्छ ? इङ्ल्यान्ड र अमेरिकामा भने चार हजार वर्षमा माटो एक फुट बाक्लो चट्टानमा परिणत हुने हिसाब गरियो। पृथ्वीमा माटोको सतह सबै ठाउँमा एकै प्रकारको पाइँदैन। पृथ्वीको भू–गर्भको चट्टान एक माइलभन्दा केही बाक्लो छ। यति बाक्लो चट्टान बन्न पक्कै दुई अर्ब वर्षभन्दा ज्यादा समय लाग्यो होला !
तेस्रो, मारिया क्युरीले रेडियोएक्टिभिटी प्रक्रिया र रेडियम तंखव पत्ता लगाउनुभयो। रेडियोएक्टिभीटी प्रक्रियाद्वारा युरेनियम तंखव क्रमशः हिलियमको साथै थोरियम, रेडियम, रेडन र पोलिनियम हुँदै सिसामा परिणत हुन्छ। यसरी तंखव निरन्तर अर्को तंखवमा परिवर्तन भइरहेका हुन्छन्। तंखवहरूको
यस्तो विनाश गतिलाई स्वाभाविक मानिन्छ। यसले देश र कालको परिस्थितिमा खासै कुनै प्रभाव पार्दैैन। सुरुमा पृथ्वीको सतहमा सबै तंखव थिए होलान् ! जसमा युरेनियम पनि थियो।
त्यस समयका युरेनियमका परमाणुहरू हेलियम ग्याँस र सिसाको रूपमा परिवर्तन भइसकेका छन्। भिन्नभिन्न चट्टानको रेडियम अनुपातबाट काल समय पत्ता लगाइएको थियोे। सो विधिद्वारा पृथ्वीको आयु पत्ता लाग्यो। यद्यपि चट्टानमा भएका सबै सिसा युरेनियमबाट मात्रै बनेका हुँदैनन्। युरेनियमबाट बनेको सिसाले छुट्टै विशेषता राख्छ। हेलियम र सिसाको रेडियम अनुपात र समयको हिसाबबाट पृथ्वीको आयु दुई अर्ब वर्ष भएको हिसाब निकालियो।
पृथ्वीको उत्पत्ति सूर्यबाट भयो। आज भन्दा दुई अर्ब वर्षअगाडि कुनै एउटा तारा सूर्यको नजिकबाट गयो। यो ताराको ग्याँसीय आकर्षण शक्तिले सूर्यको ग्याँसीय पिण्डको एक भाग तानिएर एउटा डल्लोका रूपमा चोइटियो। खिचाइको वेगसँगै त्यो डल्लो फुटेर थुप्रै डल्लाहरू हुन पुग्यो। पछि ती डल्ला कैयौं टुक्रामा विभाजन हुन पुगे। हरेक ग्याँस गोलाका टुक्राहरू आफ्नो उद्गम सूर्यको वरिपरि घुम्न थाले। यसरी सूर्यको वरिपरि घुमेका पिण्डबाट ग्रह बने। यीमध्ये एउटा हो हाम्रो पृथ्वी।
विकासवादको नियमलाई अनुसरण गर्दै, पृथ्वीभन्दा बाहिरी संसारमा जीव पाइएमा कुनै आश्चर्य मान्नु पर्दैन, बरू नपाइए आश्चर्य मान्नुपर्छ भनेर स्टिफन हकिङजस्ता कैयन् वैज्ञानिक भन्ने गर्नुहुन्छ।
‘बाह्य संसारमा उच्च सभ्यता बोकेका जीवहरू अस्तित्वमा छन्’, आणविक बम निर्माणमा संलग्न भौतिकशास्त्री एनरिन फार्मीको भनाइ थियो। बेलाबेलामा उल्कापात हुँदा खसेका चट्टानहरूमा टाँसिएर आएका जीव बन्ने रसायनहरूलाई आधार मानेर कसैले जीव बाह्य संसारबाट पृथ्वीमा आएको विश्वास गर्छन्। यसको कुनै ठोस र भरपर्दो प्रमाण छैन। अधिकांश वैज्ञानिक भने प्राकृत क्रियाबाटै जीवको स्वतः उत्पत्ति भएको विश्वास गर्छन्।
पृथ्वीको उत्पत्तिकालदेखि नै वायुमण्डलमा कार्बन, हाइड्रोजन, अक्सिजन र नाइट्रोजनजस्ता तंखवहरू थिए। यिनीहरू स्वतन्त्र एवं परमाणुले भरिएका थिए। यिनीहरूले निकै प्रतिक्रियात्मक स्वभाव बोकेका थिए। यिनै परमाणु परमाणुबीचको प्रतिक्रियाबाट केही परमाणु स्थिर भएर अणु बने। केही अणुहरू स्थिर भएर अणुगुच्छमा परिणत भए। अणुगुच्छको संयोजनबाटै जीव उत्पत्ति भएको मिलर र युरेले सन् १९५३ मा प्रयोगशालाबाट प्रमाण जुटाउनुभयो। उहाँहरूले प्रयोगशालामा हाइड्रोजन, मिथेन, एमिनोएसिड र जलको बाफलाई मिश्रण गरेर विद्युतीय झट्का दिएर हरेक जीवमा पाइने एमिनोएसिडलगायत अन्य रासायनिक तंखवहरू उत्पादन गरेर देखाउनु भयो।
आजको जस्तो कार्बन, हाइड्रोजन, अक्सिजन, नाइट्रोजन, सल्फर र सिलिकनजस्ता विभिन्न तंखवको संयोजनको बादलले त्यतिबेलाको पृथ्वी र अन्य ग्रहको वायुमण्डललाई ढाकेको थियो। वायुमण्डलमा भएका यस्ता तंखवबीच साधारण प्रतिक्रिया भएर जीवका लागि अत्यावश्यक पर्ने अणुहरूको निर्माण भयो। यिनै अणुबाट जीवको उत्पत्ति सम्भव भएको छ।
बेलाबेलामा उल्कापात हुँदा त्यसको अवशेष चट्टान जमिनसम्म आइपुग्छ। त्यस्तो चट्टानको अनुसन्धानबाट अन्तरिक्षमा जैविक अंशाणुहरू बन्ने पुष्टि गरियो। अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले दिएको जानकारीअनुसार, जीवमा पाइने एमिनोएसिडलगायत अन्य रासायनिक तंखवहरू; जुन आनुवंशिक तंखव वा डीएनए, आरएनए निर्माणका लागि चाहिने आवश्यक तंखव हुन्, यी बाह्य संसारमा निर्माण भएका हुन सक्छन्। यस्तैयस्तै प्रमाणका आधारमा पृथ्वीबाहेक अन्य संसारमा पनि जीवको स्वतः उत्पत्ति भएको हुन सक्ने विश्वास लिएर खोजी कार्य जारी राखिएको छ।
जड र चेतन तंखवको संरचना एकै प्रकारबाट निर्माण भएका हो। जसको धर्म एकै किसिमको हुन्छ। जीवमा यी तंखवहरूको संरचना भने विकसित र विस्तृत रूपमा रहेको छ। आजभन्दा करिब ४० करोड वर्षपहिले जीवको उत्पत्ति हुने क्रममा समुद्रमा फिँज उत्पन्न भयो। तापक्रम र पानीको वहावसँगै फिँज एकआपसमा जुट्दैफुट्दै सरल किसिमको वनस्पति र एककोषीय जीव उत्पत्ति भयो। उदाहरणका लागि लेउ र ब्याक्टेरिया। समुद्रमा साइनोब्याक्टेरिया नामक नीलो–हरियो लेउमार्फत वायुमण्डलमा भएको कार्बनडाइअक्साइड ग्याँसलाई ग्रहण गरेर प्रकाश संश्लेषण क्रियाद्वारा जीवलाई चाहिने प्राणवायुको उत्पत्ति भयो। समयको अन्तराल क्रममा बहुकोषीय जीवको उत्पत्ति भयो। जीवको श्वासप्रश्वास क्रियामा अक्सिजन र कार्बनडाइअक्साइडको स्थानान्तरणमा सोडियम र क्लोरिन तंखवले सहायता गर्यो।
‘यसको विस्तृत जानकारी प्राप्त गर्न तथा खोजीका लागि म परदेश जान लागेको छु। तँ पनि जाने भए कागजात ठीक पार्। म गाउँ गएर राहदानीका लागि कागजात तयार पारेर आउँछु’, घनश्यामले भन्यो।
‘म कुनै पनि अवस्थामा विदेश नजाने’, मैले भनें।
‘त्यसो भए अर्को दिन बसौंला÷अहिले सानो काम छ, यति भन्दै घनश्याम कोठाबाट बाहिरियो।
दिनमा एकपटक योगीलाई नभेटे घनश्यामलाई निद्रा पर्दैनथियो। अचानक उसमा आएको परिवर्तन मलाई उदेक लाग्यो। अब योगीहरूले दिनुभएका तंखव मीमांसा ज्ञानका बारेमा बोल्न घनश्यामले लाज मान्न थाल्यो।
विकासवादमा पूर्वीय दर्शन
पश्चिमा विद्वान्हरूको दृष्टिकोण पूर्वीय दर्शनप्रति कस्तो छ ? पूर्वीय दर्शन र योगीहरूका कुरा सुनेर विकासवादीहरू किन हाँस्छन् ? हाँस्नुको कारण के हो ? घनश्यामलाई सम्झाउन केही प्रमाण जुटाउनतिर लागें।
‘सबै मानिस भौतिकवादी भैसके, ‘घनश्यामको यस्तो भनाइले सर आइज्याक न्युटनको यान्त्रिकीकरणको सिद्धान्तलाई प्रस्ट झल्काउँथ्यो। यन्त्रहरूको विकास, यन्त्रबाट उपचार पद्धति, रासायनिक खाद्य सामग्री र सुखसुविधाको होडबाजीका कारण मानिसहरूले प्राकृतिक नियमहरूलाई भुल्दै जान थाले।
घनश्यामले पछिल्लो समय म्याक्स मुलरको पुस्तक पढेछ क्यारे ! हुन त वेदको गम्भीरता र विशिष्ट छन्द रचनाका कारण तीक्ष्ण मस्तिष्क भएकाहरूले पनि वेदका सबै रहस्यहरूलाई सही तरिकाले बुझ्न सकेका छैनन्। यसकारण प्राचीनकालदेखि नै वेदको भाष्य रचना गर्न थालियो। वेद–भाष्य परम्पराअन्तर्गत वेदको पहिलो भाष्यकारका रूपमा रावणलाई लिइएको पाइन्छ। तर उहाँको वेद–भाष्य पूर्णरूपमा उपलब्ध छैन।
वेद–भाष्य गर्ने प्रसिद्ध भाष्यकारहरू ः स्कन्द स्वामी, उद्गिथ, वररुचि, भट्टभास्कर, महीधर, उव्वट र आचार्य सायण हुन्। उहाँहरूमध्ये आचार्य सायणको भाष्य प्रसिद्ध बन्यो। उहाँले चारै वेदको भाष्य गर्नुभएको थियो। सायणको भाष्यको प्रभाव विस्तारै अन्य भाष्यकारहरूमा पनि पर्न थाल्यो।
यद्यपि सायणको वेद–भाष्यमा वेदको आत्मा अथवा विचारधाराको सही–सही तरीकाले व्याख्या हुन सकेन। आचार्य सायणको भाष्य कर्मकाण्डमा आधारित थियो। कर्मकाण्डीय धुनमा उहाँले मन्त्रको वास्तविक अभिप्रायलाई अत्यन्त संकुचित बनाइदिनुभयो। १९औं शताब्दीमा आचार्य सायणको भाष्यलाई आधार बनाएर युरोपेली दार्शनिकहरूले वेदको विषयमा नूतन सिद्धान्त प्रतिपादन गर्नुभयो।
यो सिद्धान्तको प्रमाणमा आचार्य सायणको भाष्यबाट प्राप्त भए जति सबै सामग्री राखिएका थिए। अन्य विषय चाहिँ प्रकृतिमाथि आश्रित थियो। उहाँहरू प्रतिभाशाली र कल्पना गर्न निपुण हुनुहुन्थ्यो। तर, उहाँहरूको कल्पना शक्तिले पनि वेदका छन्दहरूलाई पूर्णरूपमा पर्गेल्न सकेन। यसकारण उहाँहरूले वेदको भाषा, छन्दरचना र काव्यलाई राम्ररी सुल्झाउन सक्नु भएन।
सायणको भाष्यमा उल्लिखित ब्राह्मण, उपनिषद् र पुराणबाट लिइएको गाथाको ऐतिहासिक सम्बन्ध देखाउँदै वेदलाई वैदिक गाथाशास्त्र, वैदिक इतिहास र वैदिक सभ्यतामा विभाजन गरेर उहाँहरूले वेदको बारेमा नवीन सिद्धान्त प्रस्तुत गर्नुभयो।
सायणको भाष्यलाई आधार बनाएर युरोपेली दार्शनिकहरूले भाषाविज्ञान पद्धतिअनुसार वेद ग्रीक साहित्यबाट अभिप्रेरित भएको बताउने चेष्टा गर्नुभयो। फलस्वरूप तुलनात्मक गाथाशास्त्र एवम् तुलनात्मक भाषाविज्ञानको सिर्जना गरियो। युरोपेली दार्शनिकहरू यस्तो निष्कर्षमा पुग्ने प्रमुख तीन कारणहरू थिए ः (१) उहाँहरूलाई वैदिक परम्परा र साहित्यको ठीक–ठीक ज्ञान थिएन, त्यसैले प्राचीन ऋषिको नैरुक्तिक प्रणालीलाई छाडिदिनुभएको थियो। (२) सायणको भाष्य उहाँहरूको मार्गदर्शक बनेको थियो। (३) पश्चिमी विद्वान्हरू कसैले पनि वेदमाथि श्रद्धा त के सहानुभूति पनि राख्नु हुँदैनथ्यो। उहाँहरूलाई वेद मन्त्रको वास्तविक अभिप्राय बताउने मार्गनिर्देशक कोही थिएन। फलस्वरूप उहाँहरूले विचारधाराको निर्माणमा कल्पना र अड्कलबाजीबाट काम लिएको देखिन्छ।
युरोपेली दार्शनिकका अनुसार ‘वेद आर्य जातिको आदिम काल र उपनिषद्को प्रारम्भिक मानसिक अवस्था हो। यसलाई वैदिक कविहरूले छन्दोबद्ध गर्नुभएको थियो। यसमा कहीँ उच्च विचार छैन, किनकि यो बर्बर, आदिम र असभ्य समाजको कल्पनाको गीत मात्र हो।’
उहाँहरूले भन्नुभयो– वेद एक आदिम, जंगली र बर्बर समाजको सुक्ति संहिता हो। यसका नैतिक, धार्मिक मान्यता र विचार असंस्कृत छन्। त्यतिबेलाको सामाजिक संरचना असभ्य थियो। चौतर्फी जगत्को विषयमा उनीहरूको दृष्टिकोण बिल्कुल बच्चाजस्तो थियो। वेद रचना गर्ने व्यक्ति प्रकृतिको पूजाआजा गर्थे र प्रकोपबाट बच्न यज्ञ गर्थे। वैदिक ऋषिहरू मूर्ख, तर श्रद्धालु उपासक थिए। वेदको दार्शनिक विचार उपनिषद्बाट मात्र उत्पन्न भयो। वेद एक–ईश्वरवादी नभएर बहुदेवतावादी छ। यसमा मांस भक्षण, यज्ञमा पशु–बलि, जुवा र जाँडरक्सीको नराम्रो असर छ।
श्रीअरविन्द ‘वेद रहस्य भाग–१’ पुस्तकमा लेख्नुहुन्छ, ‘जब वेदको प्राचीन धर्म पुस्तक सायण पण्डितको हातमा आयो। उहाँले सच्चा भएर वेदको भाष्य गर्नुभयो। उहाँ अत्यन्त परिश्रमी, साहसिक, कल्पनाको उडानमा प्रतिभाशाली हुनुहुन्थ्यो। तैपनि प्राचीन रहस्यवादी कवित्व प्रणालीलाई राम्ररी बुझ्न अयोग्य हुनुभयो। किनभने, यस प्राचीन संस्थाप्रति उहाँको कुनै प्रकारको सहानुभूति थिएन। त्यसैले उहाँसँग आफ्नो बौद्धिक र आत्मिक वातावरण पाउने कुनै मूलसूत्र नै थिएन।’
घनश्यामले सुनाएको विकासवादको खोज ‘आनुवंशिक गुण बन्ने रसायन तंखवहरू बाह्य जगत्मा निर्माण हुन्छन्’, भन्ने कुराले मलाई चकित तुल्यायो। आत्मा तंखव धेरै माथिल्लो लोकबाट पृथ्वीमा आएका छन्। स्वर्गलोकमा चेतन ऊर्जाको सत्ता भएकाले जीवात्माको कर्मशुद्धि स्वर्गलोकमा हुन्छ। कुनै पनि वस्तुले आफ्नो जिम्मेवारीको बोध गरेर कार्य गर्नु नै देवता हो। जीवात्माको चेतनालाई शुद्धि गर्ने जिम्मेवारीको बोध गर्ने पदार्थ स्वर्गलोकमा पाइन्छ। फलस्वरूप, त्यहाँ देवता मात्र बस्छन्।
यस्तै झल्को आउने गरेर आनुवंशिक तंखव डीएनए निर्माणका लागि एमिनोएसिडलगायत अन्य जैविक तंखव माथिबाट पृथ्वीमा आउने भएकाले अन्य स्थानमा पनि जीव रहेको अनुमान विकासवादीले गरेका छन्। यस्तै–यस्तै प्रमाणहरूलाई आधार बनाएर, भयंकर–भयंकर जीवहरू पृथ्वीमा आएर उत्पात मचाइरहेका चलचित्रहरू हामीले पनि हेर्ने गरेका छौं। तर, पूर्वीय दर्शनमा चेतना ऊर्जा प्रकाश, जलको सूक्ष्म कण, वायु, विद्युतीय चुम्बकमार्फत पृथ्वीमा आउने र जाने उल्लेख गरिएको छ।
प्रतिक्रिया दिनुहोस !
