सलाम नारी रत्न

यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवताः
यत्रैतास्तु न पूज्यन्ते सर्वास्तत्राफलाः क्रियाः
मनुस्मृति भन्छ, ‘जुन परिवारमा नारीको पूजा हुन्छ, त्यहाँ देवता पनि रमाउँछन्। जुन घरमा नारीको सम्मान हुँदैन, त्यहाँ गरिएका राम्रा काम पनि निष्फल हुन्छन्।’
आज अन्तर्राष्ट्रिय नारी दिवस। यस सन्दर्भमा अन्नपूर्ण पोस्ट्ले सिंगो पत्रिका देशका विभिन्न क्षेत्रमा ख्याति कमाएर चम्किएका नारीको सम्मानमा समर्पण गरेको छ। असमानता, असहजता र अवसरहीनताका बाबजुद देशको नाम उँचो राख्न सफल सय व्यक्तित्वका सक्षेप–गाथा आजको अंक हो। जसलाई हामीले ‘शतरत्न’ उपाधि प्रदान गरेका छौं।
नेपाल शिक्षा, स्वास्थ्य र विकासमा पछाडि छ। छोरा र छोरीबीच विभेद बृहत् छ यहाँ। तैपनि राजनीतिक चेतनासँगै हाम्रो देशले महिला सशक्तीकरणमा विश्व लोभ्याउने सफलता हासिल गर्दै गएको छ। राष्ट्रपति, प्रधानन्यायाधीश र सभामुखजस्ता मुलुकका सर्वाेच्च जिम्मेवारीमा महिला पुगिसकेका छन्। जबकि हाम्राभन्दा पुराना प्रजातन्त्र भएका मुलुकहरूमा यो अझै सम्भव भएको छैन। आज पनि संसारका दुई सय देशमध्ये दर्जनजति मात्रै मुलुकको नेतृत्व महिलाले गरेका छन्। सुखद पक्ष के भने महिला नेतृत्व भएका मुलुक वा निकायहरूमा सुशासन ज्यादा र भ्रष्टाचार कम छ। संसारभर नै संसद्मा महिलाहरूको प्रतिनिधि ३३ प्रतिशत पनि पुग्न सकेको छैन। नेपालले त्यो सम्भव गराइछाडेको छ।
संसद्मा ३३ प्रतिशत महिला प्रतिनिधित्व र राष्ट्रका प्रमुख पदहरूमा महिलालाई पु¥याएरमात्रै नेपालले सन्तोष मान्ने ठाउँ छैन। व्यवहारतः आज पनि नेपाली महिला पितृसत्तात्मक शासनको दलनमा छन्। पुरुष र महिलाबीचको भेदभाव र अन्तर अझै मेटिएको छैन। त्यसो त विश्व आर्थिक मञ्चले यो शताब्दीसम्मै लैंगिक असमानता मेटिन कठिन हुने बताएको थियो। त्यसो भनेर असमानता हटाउन कुनै कसर बाँकी राख्न चाहिँ हुँदैन। प्रकृतिले मानिसलाई महिला र पुरुषका रूपमा विकास गर्नुका पछाडि यो सृष्टिको निरन्तरताकै प्रमुख कारण छ, तर लैंगिक भिन्नता र विभेद भने मानिस आफैंले सृष्टि गरेको हो। यसको अन्त्य मानिस स्वयम्बाटै सम्भव छ।
आज पनि छोरी भएकै कारण शिक्षाबाट वञ्चित हुनुपर्ने, रोजगारीलगायत अवसरबाट टाढा हुनुपर्ने र राज्यका निकायमा समानुपातिक प्रतिनिधित्व नगराइनु दुर्भाग्यमात्रै होइन मानव सभ्यताका लागि कलंकको कुरा हो। नारीलाई छुट्टै र विशेष अधिकार चाहिएको वा दिने प्रश्न होइन, प्रश्न समग्र मानव अधिकार प्रदान गर्ने कि नगर्ने भन्ने हो। नारीवादी आन्दोलनको लक्ष्य पनि त्यही हो कि नारीलाई दोस्रो दर्जामा नराख, मान्छेकै हैसियत देऊ। यो सर्वथा सही र उचित माग हो। नारी र पुरुषको समान सहभागिता र समान हैसियतबिना समाजको समतामूलक समृद्धि र विकासको कल्पना गर्नु मूर्खता हो। तसर्थ महिला सशक्तीकरणमा राज्यले थप अग्रगामी नीति र कार्यक्रम तय गर्नुपर्छ। राज्यको तालाचाबी लिएका राजनीतिक दलहरूले त्यसको नेतृत्व गर्न जरुरी छ।
अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा यो विशेषांक निकाल्दा हामी गौरवान्वित भएका छौं। शतरत्न त सानो खोजीमात्र हो, विस्तृत खोजबिन गर्ने हो भने लाखरत्न पाउन सकिन्छ यहाँ। ती सबै आमा, दिदी–बहिनीप्रति हाम्रो सलाम छ। र, यही प्रेरणापुञ्जका आधारमा अन्य रत्न जन्मिन सकून् भन्ने मंगल कामना पनि।
प्रतिक्रिया दिनुहोस !
