नुवाकोट : जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको १२औं संस्करणमा लिखु गाउँपालिका च्याम्पियन बनेको छ। नुवाकोटको चौघडामा सम्पन्न प्रतियोगिताको ६ विद्यामा ९८ स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएको थियो।
जिल्ला खेलकुद विकास समिति नुवाकोटले आयोजना गरेको प्रतियोगितामा ९८ स्वर्ण, ९८ रजत र एक सय २२ कास्य पदकका प्रतिस्पर्धा भएको थियो।
प्रतियोगितामा प्रथम भएको लिखुले २२ स्वर्णसहित १४ रजत र पाँच कास्य हात पार्यो। प्रतियोगितामा दोस्रो भएको विदुर नगरपालिकाले १२ स्वर्णसहित पाँच रजत र १० कास्य जितेको छ भने तेस्रो भएको सूर्यगढी गाउँपालिकाले पाँच स्वर्णसहित नौ रजत र आठ कास्य पदक जितेको छ।
प्रतियोगितामा एथ्ले्टिक्स, भलिबल, तेक्वान्दो, उसु, करातेलगायतका खेलहरू समावेश गरिएको आयोजक खेलकुद विकास समितिका अध्यक्ष सन्तोष राइले जानकारी दिए।
प्रतियोगितामा विजेता तथा उपविजेतालाई नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरे।
उनले खेल र खेलाडिहरुको स्तर विकासका लागि स्थानीय, प्रदेश र संघीय सरकारले विशेष कार्यक्रम ल्याउनु पर्ने र त्यसका लागि आफ्नो दलले जोड दिने पनि बताएका थिए।