ठेकेदार सम्पर्कबिहीन भएपछि धरानमा सडक निर्माण अलपत्र
धरान : धरान उपमहानगरपालिका वडा नम्बर–१५ को निराजन बस्तीदेखि वडा नम्बर ४ को कन्या पोखरी जोडने निर्माणाधिन सडक अलपत्र भएको छ । सडक निर्माणको जिम्मा पाएको लुम्बिनी गजरमुखी जेभी काठमाडौंका ठेकदार दिपक गौत्तम र विष्णुप्रसाद शर्मा सडक निर्माणको काम छाडेर सम्पर्कबिहीन भएपछि निर्माणको काम अलपत्र परेको हो ।
धरान उपमहानगरपालिकासँग गाभिएको सुनसरीको साविकको पाँचकन्या गाविसको पत्राङवारी,हर्दिया,तेलम्पुर,ढाँडे र कन्यापोखरीका बासिन्दालाई धरान आउन सहज हुने उद्देश्यले कोसी प्रदेश सरकारको पूर्वाधार विकास कार्यालयले यो सडक निर्माणका लागि बजेट विनियोजन गरेको थियो ।
पूर्वाधार विकास कार्यालय विराटनगरले १५ किलोमिटर लम्बाई, १८ फिट चौडाई र एक मिटरको ड्रेन सहितको सडक कालोपत्र गर्नका लागि २०७६ असोज १५ गते लुम्बिनी गजुरमुखी जेभीलाई ठेक्का लगाएको थियो । २०८० असार २८ गते निर्माण सम्पन्न गर्नेगरी सडक निर्माणको ठेक्का सम्झौता गरेका ठेकेदार शर्मा र गौतम सम्पर्कबिहीन भएपछि सडक निर्माणको काम अलपत्र परेको धरान ४ का वडा सदस्य राजन चाम्लिङले बताएका छन् ।
उनले सडक निर्माणको काम अलपत्र पार्ने दुवै ठेकेदारलाई पक्राउ गरी कडा कारबाही गर्न र सडक निर्माणको काम अगाडि बढाउन सरकारसँग माग गरेका छन् । ३९ करोड ८७ लाख ६७ हजार रुपैयाँमा ठेक्का लगाएको थियो ।
सडक निर्माण गरे वापत १९ करोड २१ लाख ३० हजार ठेकेदार कम्पनीलाई भुक्तानी दिइसकिएको पूर्वाधार विकास कार्यालय विराटनगरका इन्जिनियर सुजन दाहालले बताए । उनका अनुसार हालसम्म सडक निर्माणको काम ४० प्रतिशत सम्पन्न भएपनि ठेकेदार सम्पर्कबिहीन भएका कारण समयमा सडक निर्माणको काम सम्पन्न गर्न कठिनाई देखिएको बताए ।
ठकेदार गौत्तम र शर्माले सडक निर्माणको ठेक्का पाएका भएपनि उनीहरुले धरानकी इन्दु सुब्बालाई पेटी ठेक्का लगाएका थिए । ठेक्का सम्झौता गरेका ठेकेदारले समयमा रकम भुक्तानी नगरि सम्पर्कबिहीन भएका कारण सडक निर्माणको काम रोक्नु परेको पेटी ठेकदार सुब्बाले बताएकी छन् ।
सडक निर्माणको काम बीचमा अलपत्र पारेका कारण निर्माण गरिएको ड्रेन र सडक भत्किन थालेको स्थानीय सम्राट क्षेत्रीले बताए । उनले समयमा सडक निर्माणको काम सम्पन्न नभएपछि यातायातका साधन सञ्चालन र यहाँको कृषि उत्पादनलाई बजारसम्म पुर्याउन समस्या भएको बताए ।
पूर्वाधार विकास कार्यालय विराटनगरका प्रमुख शुशिल श्रेष्ठले ठेकेदारलाई छलफलका लागि बोलाउँदा समेत नआएकाले मन्त्रिस्तरीय बैठक बसेर उनीहररूविरुद्ध कानुनी कारबाही प्रक्रिया अगाडि बढाएर सडक निर्माणको अर्को प्रक्रिया अगाडि बढाइने बताए । ठेकदार गौतमलाई फोन सम्पर्क गर्दा उनको फोन उठेन।