ठेकेदार सम्पर्कबिहीन भएपछि धरानमा सडक निर्माण अलपत्र

ठेकेदार सम्पर्कबिहीन भएपछि धरानमा सडक निर्माण अलपत्र
अलपत्र परेको धरान ४ को सडक । तस्बिर : रत्नप्रसाद आचार्य
सुन्नुहोस्

धरान : धरान उपमहानगरपालिका वडा नम्बर–१५ को निराजन बस्तीदेखि वडा नम्बर ४ को कन्या पोखरी जोडने निर्माणाधिन सडक अलपत्र भएको छ । सडक निर्माणको जिम्मा पाएको लुम्बिनी गजरमुखी जेभी काठमाडौंका ठेकदार दिपक गौत्तम र विष्णुप्रसाद शर्मा सडक निर्माणको काम छाडेर सम्पर्कबिहीन भएपछि निर्माणको काम अलपत्र परेको हो ।  

धरान उपमहानगरपालिकासँग गाभिएको सुनसरीको साविकको पाँचकन्या गाविसको पत्राङवारी,हर्दिया,तेलम्पुर,ढाँडे र कन्यापोखरीका बासिन्दालाई धरान आउन सहज हुने उद्देश्यले कोसी प्रदेश सरकारको पूर्वाधार विकास कार्यालयले यो सडक निर्माणका लागि बजेट विनियोजन गरेको थियो ।

 पूर्वाधार विकास कार्यालय विराटनगरले १५ किलोमिटर लम्बाई, १८ फिट चौडाई र एक मिटरको ड्रेन सहितको सडक कालोपत्र गर्नका लागि २०७६ असोज १५ गते लुम्बिनी गजुरमुखी जेभीलाई ठेक्का लगाएको थियो । २०८० असार २८ गते निर्माण सम्पन्न गर्नेगरी सडक निर्माणको ठेक्का सम्झौता गरेका ठेकेदार शर्मा र गौतम सम्पर्कबिहीन भएपछि सडक निर्माणको काम अलपत्र परेको धरान ४ का वडा सदस्य राजन चाम्लिङले बताएका छन् । 

उनले सडक निर्माणको काम अलपत्र पार्ने दुवै ठेकेदारलाई पक्राउ गरी कडा कारबाही गर्न र सडक निर्माणको काम अगाडि बढाउन सरकारसँग माग गरेका छन् । ३९ करोड ८७ लाख ६७ हजार रुपैयाँमा ठेक्का लगाएको थियो । 

सडक निर्माण गरे वापत १९ करोड २१ लाख ३० हजार ठेकेदार कम्पनीलाई भुक्तानी दिइसकिएको पूर्वाधार विकास कार्यालय विराटनगरका इन्जिनियर सुजन दाहालले बताए । उनका अनुसार हालसम्म सडक निर्माणको काम ४० प्रतिशत सम्पन्न भएपनि ठेकेदार सम्पर्कबिहीन भएका कारण समयमा सडक निर्माणको काम सम्पन्न गर्न कठिनाई देखिएको बताए । 

ठकेदार गौत्तम र शर्माले सडक निर्माणको ठेक्का पाएका भएपनि उनीहरुले धरानकी इन्दु सुब्बालाई पेटी ठेक्का लगाएका थिए । ठेक्का सम्झौता गरेका ठेकेदारले समयमा रकम भुक्तानी नगरि सम्पर्कबिहीन भएका कारण सडक निर्माणको काम रोक्नु परेको पेटी ठेकदार सुब्बाले बताएकी छन् ।

सडक निर्माणको काम बीचमा अलपत्र पारेका कारण निर्माण गरिएको ड्रेन र सडक भत्किन थालेको स्थानीय सम्राट क्षेत्रीले बताए । उनले समयमा सडक निर्माणको काम सम्पन्न नभएपछि यातायातका साधन सञ्‍चालन र यहाँको कृषि उत्पादनलाई बजारसम्म पुर्‍याउन समस्या भएको बताए । 

पूर्वाधार विकास कार्यालय विराटनगरका प्रमुख शुशिल श्रेष्ठले ठेकेदारलाई छलफलका लागि बोलाउँदा समेत नआएकाले मन्त्रिस्तरीय बैठक बसेर उनीहररूविरुद्ध कानुनी कारबाही प्रक्रिया अगाडि बढाएर सडक निर्माणको अर्को प्रक्रिया अगाडि बढाइने बताए ।  ठेकदार गौतमलाई फोन सम्पर्क गर्दा उनको फोन उठेन।

 

 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.