विश्रान्ति

विश्रान्ति

केहीबेर सोचिरहें– मनबाट झिकेर ईश्वरलाई मन्दिरमा किन राखेका होलान् ?

ऊ   मरेको मात्र के थियो–

मलामीहरू तरखर गर्न थालिहाले
आफैंले बनाएको आँगनमा
केहीबेर बाँचुञ्जेलको थकाइ त मार्न देऊ !

मृत्यु एउटा यस्तो कठोरतम सत्य हो, जुन क्षणबाट हरेक जीवात्माको जीवन अध्याय समाप्त हुन्छ। नदी र जीवन दुवै विश्रान्तिमा पुगेर सकिन्छन्। जीवनको विश्राम मृत्यु हो कि त्योभन्दा पनि पर अझै केही छ, त्यो त जान्दिनँ। तर जीवन नदीजस्तै हो, समुद्रमा मिसिएपछि पहिचान नै हराउँछ।

यस्तै, एउटा नदीका किनारमा एक क्षण बिताउँदाको कुरा हो, शनिबार। थोरै जतन गरेर राखेको फुर्सदलाई खर्च गर्ने दिन। कुनै धार्मिक संयोगको कुरा थिएन। जब धर्म आफ्नो कर्म र संस्कारमै बसेको हुन्छ भने त्यसका लागि विशेष साइत जुराइरहनु पर्दैन। प्रत्येक पल आफैंमा शुभ समय हो। तथापि, त्यो दिन अझ पवित्र थियो। चाडपर्वको दिन थियो। तीर्थ व्रतको दिन थियो। गंगामा स्नान गर्दा पवित्र भइने आत्मिक भरोसाको दिन थियो। कैयनका लागि नयाँ कार्ययोेजना आरम्भ गर्ने र संकल्प गर्ने दिन थियो। सामाजिक, धार्मिक, शास्त्रीय वा प्राकृत सबै तरहले दिन खास परेको थियो। मकर संक्रान्ति।

थोरै रहरले, बाँकी परिवारको करकापले। हामी त्यस दिन एकाबिहानै घरबाट चितवनका लागि प्रस्थान गर्‍यौं। यस्तो यात्राले महिलाका लागि विशेष महत्त्व राख्छ किनकि गौंडागौंडामा थरिथरिका भान्सा तयार हुन्छन्। रुचिअनुसारको सूची बनाएर गोजीअनुसार रोजी खान पाइने। उनीहरूलाई भान्सामा पसेर हात झोस्नु पर्दैन। जीवनको रंगमञ्चमा यो छोटो नाटकको एउटा दृश्य मात्रै हो। यस्ता सहस्र दृश्य मिलेर जीवन बनेको हुन्छ। यत्ति हो, नाटकमा पर्दा कतिखेर गिर्छ, त्यो थाहा हुँदैन। पपेट सोका कलाकार झैं नाचिरहेका हुन्छौं।

हामी रामनगरलाई उछिनेर आँपटारी पुग्यौं। कुरा नदी किनारको क्षणमा पुर्‍याउनुपर्ने भएकाले बाटोमा के के भयो भनेर सुनाइरहनु दरकार भएन। कतै सुक्खा पहिरोले घुम्तीमा बाटो छेकियो त कतै छेउको नालीमा लरीको चक्का ओर्लियो। कतै दुर्घटनामा परी स्वर्गे भएको कुखुराको क्षतिपूर्ति माग गर्दै सडकमा मुढा तेर्साइयो। यस्तै यस्तै त हुन् नि सडकमा हेर्न लायकका तमासाहरू। बरु मनकामनाको प्रवेशद्वारबाटै टाकुराकी मनकामना देवीलाई नमस्कार गरियो। वैतरिणी नदीभन्दा पनि त्यति परको स्वर्गबाट एक एकजनाको बहीखाता राख्न सक्ने देवीदेवताले यति नजिकको टाकुराबाट मैले हात जोडेर बिन्ती गरेको त पक्कै देखेहोलान् है ?

केहीबेर सोचिरहें– मनबाट झिकेर ईश्वरलाई मन्दिरमा किन राखेका होलान् ? दर्शन गर्न धाई धाई मन्दिर पुग्नु पर्ने ! यात्रा चितवनसम्मको थियो। शिवघाटमा भोजनले प्रतीक्षा गरिरहेको थियो। भोकचाहिँ हामीसँगै गुडिरहेको थियो। सृष्टिकर्ताले भोक सृजना गर्न बिर्सिएको भए यो संसार कस्तो हुन्थ्यो होला है ? तृणहारीले तृण नखाँदा, मांसहारीले सिकार नगर्दा इकोसिस्टममैं खलबली आउँथ्यो। धर्तीमा अमनचयन र शान्ति अनि सुरक्षा भने ढुक्कैले हुने थियो। कसैले कसैको संहार नै गर्न नपर्ने। यो धर्तीको कलंक भनेको आहार र दौलतको लालच नै त रहेछ।

हामी आँपटारी पुगिसकेका थियौं। अचानक शिवघाटको तटीय रेस्टुरेन्टको भोजनले भन्दा देवघाट घुम्न जाने रहरले बढी आकर्षित गर्‍यो। फनक्क मोडियौं, शिवघाटको सट्टा देवघाटतिर। नदी तटको ‘क्लाइमेक्स’मा पुग्नु पर्नेछ। मकर संक्रान्तिमा पाइला टेक्न नपाउँदै घचेडिने सप्तगण्डकीको बगरको मानव भेल यसपल्ट कोरोनाका कारण अलि पातलै थियो, घचेडिनु नपर्ने। तथापि धार्मिक विश्वास, चाडपर्वको महत्त्व र सांस्कृतिक पहिचानलाई विशिष्ट ठान्नेहरूका लागि कोरोनाको त्रासले त्यति धेरै बिघ्नबाधा पुर्‍याएको थिएन। देवघाट वास्तवमा मेरा लागि यस्तो ठाउँ हो, जहाँ धार्मिक, सांस्कृतिक, पर्यटकीय, प्राकृतिक सौन्दर्यको दर्शन जुनसुकै कारणले जतिपल्ट भ्रमण गरे पनि मन आह्लादित हुने गर्छ।

झोलुंगे पुलमा बत्तिँदै बत्तिँदै, मास्कले टम्म छेकेको मुखबाट बाफ ओकल्दै, दायाँ–बायाँका साना ठूला मन्दिरहरूलाई नियाल्दै, बटुकहरूको हवन कर्मबाट आनन्दित हुँदै, बाँदरहरूको झम्टाइबाट तर्किदै तल झर्‍यौं दोभानमा। खोलामा गोडा डुबाएर गंगाको जल शिरमा छर्कियौं। डुबुल्की नै मार्ने आँट र योजना केही थिएन। बरू केटाकेटीले नाना तरहले फोटाचाहिँ खुबै खिचे। थाहा छ, अब छिनमै यी फोटा देश–विदेश पुग्नेछन्। पारिवारिक 

जीवनको गोपनीयता सत्यानाश। जाडो भुइँदेखि आकाशसम्म मनग्गे थियो। तैपनि गंगास्नान चलिरहेको थियो। फर्किने निधो गर्‍यौं– डुंगा तरेर।

मयलले कट्कटिएका लाइफ ज्याकेट कसेर डुंगामा बस्यौं। नदीलाई आँखाले प्रश्न गरें, ‘हे तरङ्गिनी, जमेर हिमाल भई बस्न राम्रो कि पग्लिएर विश्राम नै नलिई ओरालो दगुरिरहन राम्रो ?’ उत्तर नदिई सुसाउँदै ऊ हाम्रो डुंगालाई छुँदै भाग्यो। दुईजना माझी भाइले रमाइला गफ गर्दै पल्लो किनार तारिदिए। हामीलाई रमाइलो लाग्यो तर यति विशाल नदी तरेर किनारा छुनु भनेको हामीले किन केहीजस्तो नठानेको ? जीवनका प्रत्येक जंघार यसरी नै सजिलै तरिने भए जीवन कस्तो मखमली ओछ्यान झैं हुन्थ्यो ?

बगरका ढुंगामा टेकेर शरीरको सन्तुलन मिलाउन खोज्दै डुंगाको भाडा तिर्दै थिएँ। बुहारीले अचम्म मान्दै प्रश्न गरिन्, ‘आम्मै ! यहाँ त भर्खरै लास जलाएजस्तै छ नि ?’ माझी भाइले सरल उत्तर दिए, ‘यस्तै हो बहिनी, बाँचुञ्जेली पनि यही घाट धाउँछन्, मरेपछि पनि यहीँ आएर विश्राम लिन्छन्।’ स्तब्ध भएर तिनै ढुंगामाथि उभिइरहें। पैसा गोजीमा थन्काएर माझी भाइ नयाँ यात्री बटुल्न थाल्यो। यो कस्तो नदी तट हो, जहाँबाट नयाँ बाटो आरम्भ पनि हुन्छ, बाटो त्यहीँ पुगेर टुंगिन्छ पनि। देवघाटबाट हामी शिवघाटतिर लाग्यौं।​​​​​​​​​​​​​​


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.