स्ववियुमा देशभर उम्मेदवारी दर्ता

त्रिविले यसअघि पटक–पटक निर्वाचन घोषणा गरे पनि विद्यार्थी संगठनबीचको विवादले हुन सकेको थिएन। २०६५ चैत ६ पछि आठ वर्षमा २०७३ चैत १५ गते चुनाव भएको थियो।
काठमाडौं (अन्नपूर्ण) : विद्यार्थी संगठनले शनिबार स्ववियु निर्वाचनका लागि देशभरका क्याम्पसमा उत्साहजनक रूपमा उम्मेदवारी दिएका छन्। छिटफुटबाहेक क्याम्पसमा उत्साहजनक रूपमा उम्मेदवारको मनोनयन दर्ता भएको त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले बताए।
उनका अनुसार उम्मेदवारले बिहान ११ देखि दिउँसो २ बजेसम्म मनोनयनपत्र दर्ता गराएका हुन्। अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष, उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक प्रणालीबाट निर्वाचित हुनेछन्। निर्वाचनमा २८ वर्षे उमेर हदबन्दी कायम गरिएको छ।
त्रिविले यसअघि पटक–पटक निर्वाचन घोषणा गरे पनि विद्यार्थी संगठनबीचको विवादले हुन सकेको थिएन। २०६५ चैत ६ पछि आठ वर्षमा २०७३ चैत १५ गते चुनाव भएको थियो।
अधिकारीका अनुसार उपत्यकाका त्रिचन्द्र कलेज र आयुर्वेद क्याम्पसमा निर्वाचन प्रक्रिया सुरु भएको छैन। उम्मेदवारको नामावलीउपर दाबीविरोध २८ गते बिहान ११ देखि दिउँसो २ बजेसम्म तोकिएको छ। दाबीउपर छानबिनपछि २८ गते नै साँझ ५ बजे नामावली प्रकाशन गर्ने, २९ गते दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन पाउने र सोही दिन दिउँसो २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने समय तोकिएको छ। स्ववियु निर्वाचन आगामी चैत ५ गते त्रिविका ६२ आंगिक र १ हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा हुनेछ।
प्रतिक्रिया दिनुहोस !
