चट्याङबाट जोगिने उपाय
मौसम सुक्खा छ। हावाहुरी चल्ने र आगलागी हुने बेला हो यो। मनसुन सुरु हुनुअघिको घडी पनि हो यो। बर्खा लाग्नु, पानी पार्नु भनेको सँगसँगै चट्याङ पनि पर्न थाल्नु हो। नेपालमा चट्याङको उच्च जोखिम भएका विश्वकै उच्च तीन देशभित्रै पर्छ। जलवायु परिवर्तनको उच्च जोखिममा पनि छ नेपाल। चट्याङजस्तो विपद् चाहिँ जलवायु परिवर्तनसँगै झन्झन् बढिरहेको छ। बाढी, पहिरोजस्ता विपद्का बारेमा भन्दा जत्तिकै चासो र चिन्ता चट्याङका बारेमा देखिन्न। राज्य र नागरिक दुवैले बेवास्ता गरेको विपद् हो। चट्याङबाट जोगिन पूर्वतयारीका र रोकथामका प्रयास पनि कमै भएका छन्। राष्ट्रिय विपद् न्यूनीकरण प्राधिकरणका अनुसार गएको १२ वर्षमा मात्रै ११ सय ३५ नेपालीको ज्यान चट्याङले लिइसकेको छ।
चट्याङबाट जोगिने भनेर देशभरका नौ स्थानमा डिटेक्सन सेन्टर पनि स्थापना नभएका होइनन्। तर सन् २०१७ मा स्थापित सेन्टर अहिले मृतप्रायः छन्। तिनले चट्याङको कुनै सूचना दिँदैनन्। विश्वमा चट्याङ पूर्वानुमानका अरू प्रविधि पनि विकास भएका छन्, तिनको सही सदुपयोगका लागि नेपालको पहल गतिलो छैन। त्यस्ता औजारहरूको प्रयोगमा ध्यान दिन जरुरी छ। बर्खायाममा बादलसँगै आउने बिजुलीको झट्का नै चट्याङ हो। यो घरायसी प्रयोगको बिजुलीभन्दा हजार गुना वा त्योभन्दा बढी शक्तिशाली हुन्छ। एकै झट्काले ठूलो क्षति पु¥याउन सक्छ।
चट्याङबाट जोगिन एक त राज्यस्तरबाट पूर्वसूचना केन्द्रहरू चुस्त बनाउनुपर्छ। तिनबाट आउने सूचना बेलैमा सर्वसाधारणकहाँ पु¥याउनुपर्छ। मौसम पूर्वानुमान गर्दा नै मेघ गर्जनका जुन सूचना प्राप्त हुन्छ, त्यसैअनुसार जोगिनका लागि सम्बन्धित ठाउँमा सूचना पु¥याउँदामात्रै पनि धनजनको क्षति हुन पाउँदैन। अर्काेतिर ठूला पूर्वाधार वा घर, भवन निर्माण गर्दा चट्याङ प्रतिरोधी बनाउन आवश्यक छ। जसरी भूकम्प प्रतिरोधी निर्माणको मापदण्ड कार्यान्वयनमा अचेल चासो छ। चेतना पनि बढेको छ। चट्याङ प्रतिरोधी निर्माणमा पनि त्यस्तै ध्यान दिन जरुरी छ। सर्वसाधारणले पनि बर्खा या चट्याङ पर्न सक्ने पूर्वमनुसनजस्ता याममा सजगता अपनाउनु पर्छ। मेघ गर्जन र चट्याङको ख्याल गरी खुला ठाउँमा नबस्ने, अग्ला पोल र रूखको ओत लाग्नु हुँदैन। राज्य र नागरिक दुवै तर्फबाट सचेतना अपनाउन सके चट्याङबाट जोगिन सकिन्छ।