स्वास्थ्यमा फड्को मार्दै टीकापुर अस्पताल

स्वास्थ्यमा फड्को मार्दै टीकापुर अस्पताल
सुन्नुहोस्

टीकापुर : डाक्टर त परै जाउन, कुनै बेला मेडिकल अधिकृत भेटन पनि गाह्रो थियो। सामान्य विरामी पनि धनगढी र नेपालगञ्जमा उपचार गर्न जान्थे। अर्थात, टिकापुर अस्पताल नाम मात्रैको थियो। 

अहिले भने अस्पतालको रुपरंग फेरिएको छ, स्वास्थ्य क्षेत्रमा फड्को नै मारेको छ। यहाँ हाल २१ जना डाक्टर कार्यरत छन्। ती मध्ये १० जना विशेषज्ञ डाक्टर, ८ जना मेडिकल अधिकृत, २ जना डेन्टल र १ जना डी फर्मा डाक्टर सेवारत छन्। अस्पतालले अस्पतालले विद्युतिय टोकन सिस्टम लागु गरेको छ,  फोहोरजन्य पदार्थबाट मोहर कमाउने अभियान पनि सुरु गरेको छ।

टीकापुर अस्पतालका सूचना अधिकारी शान्तराज शर्माका अनुसार दैनिक ५ शय बढी विरामीहरूले अस्पतालबाट सेवा लिइरहेका छन। ओपीडी, सर्जिकल, मनोचिकित्सक, हाडजोर्नी तथा नशा रोगको उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता हटेको छ। ‘सामान्य अप्रेसनका लागि पनि धनगढी, नेपालगञ्ज जानुपर्ने बाध्यता थियो,’ स्थानीय भुपेन्द्र बोगटीले भने ‘विरामीको पैसा र समय दुबै बचत भइरहेको छ।’ 

टीकापुर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष झपटबहादुर सोडारीले अस्पतालमा आधुनिक र प्रविधिमैत्री सेवाहरू थप भइरहेको बताए। ‘मनोचिकित्सक सेवा, वातानुकुलीन शव गृह सञ्चालन, फोहोर व्यवस्थापन, हस्पिटल म्यानेजमेन्ट सिस्टम, फार्मेसी गाइडलाइन लागु गरिसकेका छौं’ अध्यक्ष सोडारीले भने, ‘अस्पतालको संस्थागत सुदृढिकरण भइरहेको छ, अस्पताललाई पूर्ण रुपमा प्रविधिमैत्री बनाउने काम भइरहेको छ।’

हस्पिटल म्यानेजमेन्ट सिस्टम लागु भएपछि यहाँका विरामीले लामो समय लाइन लाग्नुपर्ने, पालो मिचिने, धेरै ठाउँमा लाइन लाग्नुपर्ने बाध्यता हटेको छ। ‘ओपीडी पर्चा लिन टोकन सिस्टम छ, त्यहाँबाटै डाक्टरसम्म पुग्ने लाइनको नम्बर आउँछ, त्यसपछि औषधिको नम्बर आउने हुनाले झन्झट हटेको छ’ अध्यक्ष सोडारीले भने। 

सोडारीका अनुसार अस्पतालले सुदूरपश्चिममै पहिलोपटक फार्मेसी गाइडलाइन निर्माण गरी लागु गरेको छ। यसले औषधि सेवाको व्यवस्थापन, औषधिको मौज्दात व्यवस्थापन, मेडिकलजन्य उपकरणको उपलब्धता आदिमा सहज बनाएको छ। ५१ श्ययाको अस्पतालले १५ श्यया एचडीयू सञ्चालन गरिरहेको छ। पाइपलाइनबाटै विरामीको बेडसम्म अक्सिजन पु¥याइएको छ। 

‘एचडीयू बेडहरूमा पाइपलाइनबाटै अक्सिजन सप्लाइ भइरहेको छ भने अन्य वार्डसम्म लैजानका लागि सिलिण्डरमा भर्न सकिने बनाएका छौं’ अध्यक्ष सोडारीले भने ‘नियमित अप्रेसनहरू भइरहेको हुनाले विरामीले सहज रुपमा सुविधा पाइरहेका छन्।’

‘अस्पतालको प्रशासनिक कार्यका लागि भवन निर्माणको अन्तिम चरणमा छ, डाक्टर क्वाटर निर्माण सुरु गरिसकेका छौं, अपांगमैत्री शौचालय बनेको छ, पार्किङ व्यवस्थित गरिरहेका छौं’ अध्यक्ष सोडारीले भने ‘ल्याबको स्तरवृद्धिका लागि दुईवटा आधुनिक मेसिनहरू खरिद भइसकेका छन्, आगामी दिनमा माइक्रोबाइलोजी ल्याब सञ्चालन गर्ने योजना छ।’ व्यवस्थित ल्याब नहुँदा स्तरवृद्धिका लागि पहल भइरहेको उनले बताए।

अस्पतालले अस्पतालजन्य फोहोरबाट मोहर कमाउन थालेको छ। जम्मा हुने अस्पतालजन्य फोहोरहरू स्लाइन, सिरिञ्ज, औषधिका बट्टा, बोतल, कार्टुन आदि बिक्री गरेर अस्पतालले आम्दानी लिन थालेको हो। 

‘तीन महिनादेखि हामीले अटोक्लेभ मेसिन जडान गरेर फोहोरको वर्गीकरण गर्ने, निर्मलीकरण गरेर जम्मा गरेका छौं’ अध्यक्ष सोडारीले भने ‘गत दुई महिनामा १३ क्वीन्टल फोहोर संकलन गरेर बिक्री गरेका छौं, जसबाट अस्पताललाई २८ हजार रुपैयाँ आम्दानी भएको छ।’

अस्पतालले क्यान्सर पीडित विरामीलाई लक्षित गर्दै डायलासीस सेवा सुरु गर्ने योजना बनाएको छ। संघीय स्वास्थ्य सेवा विभागबाट डायलासीस उपकरण प्राप्त भएलगत्तै सेवा सुचारु गर्ने अध्यक्ष सोडारीले बताए। 

अस्पतालमा माइक्रोबाइलोजी ल्याब सञ्चालन गर्ने, ल्याप्रोस्कोपी मेसिन थप गर्ने, हाडजोर्नीका लागि आर्थोस्कोपी मेसिन थप गर्ने योजना बनाएको छ। सहयोगी संस्था कोइकाको आर्थिक सहयोगमा थप जनशक्ति र उपकरण थप्ने योजना रहेको सोडारीले बताए।

मासिक १ सय ५० भन्दा बढी विरामीले अप्रेसन सेवा लिइरहेको अस्पतालमा श्ययाको अभाव छ। प्रदेश सरकारसँगको सहकार्यमा अस्पताललाई तत्काल एक शय श्यया र आगामी दिनमा २ शय श्ययाको बनाउन पहल भइरहेको अध्यक्ष सोडारीले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.