फेरिए राष्ट्रपति

फेरिए राष्ट्रपति
नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई सोमबार शीतल निवासमा बधाई दिँदै निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी।
सुन्नुहोस्

काठमाडौं : नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल सोमबार शीतल निवास प्रवेश गरेका छन्।  पद तथा गोपनीयताको शपथ लिई उनले कार्यभार सम्हालेका छन्। यससँगै निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी शीतल निवासबाट बिदा भएकी छन्।

पौडेलले विशेष समारोहमा कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसमक्ष शपथ लिएका थिए। त्यसपछि निवर्तमान राष्ट्रपति भण्डारीले आफ्नो कुर्सी पौडेललाई हस्तान्तरण गरी बधाई दिएकी थिइन्। भण्डारीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारका तर्फबाट बिदाइ उपहार प्रदान गरेका थिए। राष्ट्रपति पौडेल भण्डारी बाहिरिँदा गाडीसम्म पुर्‍याउन गएका थिए। 

भण्डारी दुई कार्यकाल जिम्मेवारी पूरा गरी बिदा भएकी हुन्। संविधानसभाबाट संविधान जारी भएपछि पहिलो पटक २०७२ कात्तिक ११ गते राष्ट्रप्रमुखमा निर्वाचित भएकी थिइन्। त्यसपछि २०७४ फागुन २९ गते दोस्रो कार्यकालका लागि पनि राष्ट्रपति पदमा निर्वाचित भएकी थिइन्। भण्डारी देशको सर्वोच्च पदमा पुग्ने पहिलो महिला हुन्। 

पूर्वराष्ट्रपतिका सेवासुविधा के छन् ?

सरकारले पूर्वराष्ट्रपतिलाई विभिन्न सेवासुविधा उपलब्ध गराउँदै आएको छ। जसमा २ लाख घरभाडा, मासिक ५० हजार रुपैयाँसहित अन्य सुविधा छन्। यस्तै उपराष्ट्रपतिलाई मासिक ७५ हजार घरभाडासहित ४० हजार दिने व्यवस्था छ। पूर्वराष्ट्रपति तथा उपराष्ट्रपतिलगायत पदाधिकारीलाई भत्तासँगै प्रतिव्यक्ति एउटा गाडी, गाडीमा लाग्ने मासिक २ सय लिटर इन्धन, मोबिल, मर्मत खर्च, सवारी चालक, कर्मचारी, कार्यालय सहयोगीसमेत राज्यले उपलब्ध गराउने व्यवस्था छ।

काठमाडौं उपत्यका वा अन्य प्रदेशका राजधानीमा घर भए मर्मतका लागि भत्तासहित मासिक १ लाख रुपैयाँ दिने व्यवस्था छ। घर नभएका उपराष्ट्रपति, प्रधानमन्त्रीलगायतलाई भत्तासहित मासिक ७५ हजार रुपैयाँ छुट्ट्याइएको छ। 

मासिक भत्ता, आवास सुविधासहित गाडी, निजी सचिवालय कर्मचारीको व्यवस्था, सुरक्षा व्यवस्था राज्यले उपलब्ध गराउने मापदण्डमा छ। तर, राष्ट्रपति वा उपराष्ट्रपति तथा पूर्वपदाधिकारीले मापदण्डबमोजिम पाएको सुविधा नलिन वा पाएको सुविधा जुनसुकै बखत पनि फिर्ता गर्न सक्छन्। सुविधा प्राप्त गर्ने पदाधिकारी वा विशिष्ट व्यक्तिको मृत्यु भएमा कानुनबमोजिम निकटतम हकदारले सम्बन्धित निकायमा १५ दिनभित्र फिर्ता गर्नुपर्ने हुन्छ। 

भण्डारी सरकारी आवासमा नबस्ने 
पूर्वराष्ट्रपति डा. यादव सरकारी आवासमा बस्दै आएका छन्। भण्डारी आफ्नै घरमा बस्ने भएकी छन्। निजी निवास बूढानीलकण्ठमा छ। तर, घरमा मर्मत भइरहेको कारण उनी बालुवाटारस्थित छोरीको घरमा सरेकी छन्। 

पौडेललाई भारत, चीन, अमेरिकालगायत मुलुकले बधाई ज्ञापन गरेका छन् । भारतीय समकक्षी द्रौपदी मुर्मुले आफू र भारतीय नागरिकका तर्फबाट हार्दिक बधाई भन्दै पत्र लेखेकी छन् । पौडेलको कार्यकालमा भारत र नेपालबीच बहुपक्षीय र बृहत्तर सम्बन्ध थप सुदृढ बन्ने आफू विश्वस्त रहेको मुर्मुको बधाई सन्देशमा उल्लेख छ । चिनियाँ राजदूत चेन सङले बधाई दिँदै पौडेल नेतृत्वमा नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्ध थप विस्तार हुने विश्वास व्यक्त गरेका छन् । अमेरिकी राजदूतावासले बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.