आन्तरिक तथा बाह्य पर्यटकको वृद्धि
मुस्ताङमा साढे दुई महिनामा ४ हजार ८२५ विदेशी पर्यटक भित्रिए
आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल

जोमसोम : मुस्ताङमा जनवरीदेखि मार्च १४ तारिखसम्म ४ हजार ८२५ जना विदेशी पर्यटक भित्रिएका छन् । मुस्ताङ भित्रिएका पर्यटकमध्ये अधिकांश भारतीय पर्यटक रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप जोमसोमस्थित चेकपोस्टले जनाएको छ ।
अग्रेजी नयाँ वर्ष सन् २०२३ को जनवरी १ देखि मार्च १४ तारिखसम्म सार्क देशका ४ हजार ३२७ जना र फरेनर ४९८ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएको एक्याप जोमसोमका कार्यालय प्रमुख अशोक सुवेदीले जानकारी दिए ।
नयाँ वर्षसँगै जनवरीमा ११८ सार्क र १३ जना फरनेर गरी १३१ जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरे । फ्रेब्रअरीमा सार्क देशका १ हजार ४१० जना र फरेनर २८४ जना गरी १ हजार ६९४ जना विदेशी मुस्ताङ आएका थिए ।
जनवरीको तुलनामा फ्रेब्रुअरीमा विदेशी पर्यटक ह्वात्तै बढेको देखिन्छ । यसैगरी मार्च १ देखि १४ तारिख आजसम्ममा सार्क देशको २ हजार ५९८ जना र फरनेर २०१ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएका हुन् । जनवरीदेखिको तथ्याङक हेर्दा मुस्ताङमा विदेशी पर्यटकको सख्या ह्वात्तै बढेको एक्याप चेक पोस्टको भनाइ छ ।
सन् २०२२ मा ६५ हजार ९४० जना विदेशी पर्यटकले मुस्ताङ जिल्लाको भ्रमण गरेका थिए । जसमध्ये ४६ हजार ७२४ जना सार्क देशका र १९ हजार २०६ जना फरेनर विदेशी पर्यटकले मुस्ताङ जिल्लाको भ्रमण गरेका थिए । सन् २०२२ मा ४८ देशका विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका थिए ।
मुस्ताङ आउँने हवाई मार्गका विदेशी पर्यटक समेत बढेपछि अहिले दैनिक १०/१२ उडान भइरहेको जोमसोम नागरिक उड्यन कार्यालयले जानकारी दिएको छ । अहिले तारा एअर र समिट एअरको जहाजले नियमित उडान गरिहेको तारा एअर जोमसोमका प्रतिनिधि सुजन लालचनले जानकारी दिए । उनले बशन्तऋतुको आगमनसंगै पर्यटकीय सिजन सुरु भईसकेकाले पोखरा–जोमसोम हवाई उडान अझै वृद्धि हुने दावी गरे ।
मुस्ताङमा आन्तरिक पर्यटक क्रेज
मुस्ताङमा आन्तरिक पर्यटकको क्रेज बढ्दै जान थालेको छ । हिउँदयामको चिसो मौसम सकिएर गर्मीयाम सुरु भएसँगै धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा आन्तरिक पर्यटकको क्रेज ह्वात्तै बढेको छ । पुस र माघ महिनामा ठप्पै रहेको यहाँको पर्यटन गर्मीयाम सुरु भएसंगै वृद्धि हुन थालेको हो ।
अहिले मुस्ताङ भ्रमणका लागि स्वदेशी तथा विदेशी पर्यटकहरुको ओइरो लागिरहेको स्थानीय पर्यटन व्यवसायीहरुको भनाई छ ।पर्यटक सवार मुस्ताङ आएका सवारी साधनले बेनी–जोमसोम सडकमा लस्कर देख्न पाईन्छ । त्यसो त मार्च १ देखि पोखरा–जोमसोम हवाई सेवा सञ्चालनमा आएपछि हवाई मार्गबाट मुस्ताङ आउने पर्यटकको संख्या पनि बढ्दै जान थालेको हो । अहिले बेनी–जोमसोम सडक मार्ग हुँदै दैनिक दर्जनौं सवारी साधन मुस्ताङ आउने गरेको प्रहरी चौकी घाँसाले जनाएको छ ।
हिउँदयामको चिसोले सुस्त बनेको मुस्ताङको पर्यटन चलायमान भएसँगै यहाँका पर्यटन व्यवसायीहरु उत्साहित भएका छन् ।मुस्ताङको जोमसोम,मार्फा,कागबेनी र मुक्तिनाथ आसपासलगायत उपल्लो मुस्ताङमा संञ्चालित पर्यटक लक्षित होटलहरु समेत पर्यटकले भरिभराउ भईरहेको पर्यटन व्यवसायीहरुको भनाई छ । घरपझोङ–५ ठिनीको ग्रामिण होमस्टेमा समेत आन्तरिक पर्यटक जाने गरेका छन् । सस्तो, सुहाउँदो, हिमाली उत्पादनको बेग्लै स्वाद लिन पर्यटन होमस्टेमा आउने गरेको ठिनी होमस्टेकी सचिव जुमा थकालीले बताइन् ।
मुक्तिनाथ होटल ग्राण्ड साम्वलाका प्रोपाईटर सुरज गुरुङले भारतीय र स्वदेशी पर्यटकहरु धार्मिक स्थल मुक्तिनाथ मन्दिर दर्शन गर्न आउँने भीडभाड बढेको बताए । हिमाली जिल्ला भ्रमण गर्ने अनुकुल मौसम सुरु भएसंगै स्वदेशी पर्यटकहरु मुक्तिनाथ दर्शन गरी उपल्लो मुस्ताङको चिनसंग सीमाना जोडिएको कोरलानाकासम्म पुग्छन् । विदेशीले भने कोरलानाका जान पाउँदैनन् । विदेशीले उपल्लो मुस्ताङको छोसेर स्थित नेचुङसम्म मात्र जान पाउँछन् ।
उपल्लो मुस्ताङ एक्यापको निषेधित र नियन्त्रित क्षेत्र अन्तर्गत पर्ने भएकाले त्यहाँ जाने विदेशी पर्यटकले १० दिनको प्रवेशआज्ञा अनुमती स्वरुप ५ सय डलर नेपाल सरकारको अध्यागमन विभागमा तिर्नुपर्ने हुन्छ ।
उपल्लो मुस्ताङको पृथक भुगोल, धार्मिक मौलिक कलासंस्कृति र त्यहाँको पुरातात्तिवक सम्पदा अवलोकन गर्न विदेशी पर्यटक लालायित हुन्छन् । नेपाली पर्यटकले लोमान्थाङ दरबार,छोसेर गुफा ,उपल्लो मुस्ताङको जियोलोजिकल भूबनोट र नाका हेर्न उत्साहित हुन्छ ।
जोमसोमबाट कोरलानाका सवारी साधनमा ६ घण्टैमा पुग्न सकिन्छ । तर,अधिकांश भारतीय पर्यटक भने मुक्तिनाथ मात्रै दर्शन गरी फर्किन्छन् ।
प्रतिक्रिया दिनुहोस !
