अन्धविश्वासको अवशेष

सबैभन्दा त स्वास्थ्य सेवा सर्वसुलभ र जुन कुनै नागरिकको पनि वशको सेवा नबनाई धरै छैन।
कुनै रोगव्याधि लाग्दा झारफुक गर्ने, धामी र झाँक्रीको भर पर्ने चलन अझै बाँकी छ। यसरी यी चलन रहनु भनेको नेपाली समाज अझै अधोगतिमा हुनुको द्योतक हो। गाउँघरमा मात्रै होइन, सहरका चोकचोकमै धामी, झाँक्री र कथित माताहरू उपचार गर्ने भनेर हाकाहाकी बसिरहेका छन्।
सहरका गल्लीगल्लीमा जति आधुनिक अस्पताल र क्लिनिक छन्, त्यस्तै हाराहारीमा छ्याप्पीछ्याप्पी कथित माताका पसलहरू चलेका छन्। कुनै पनि व्यक्तिमा दैवी शक्ति हुँदैन, कसैले पनि छोएर, फुकेर वा मन्त्रोचारण गरेर उपचार गर्न सक्दैन। यति सामान्य ज्ञान पनि नभएर अन्धविश्वासका भरमा कथित माताका पसलहरूमा सेवाग्राही झुम्मिन्छन्। यो नेपाली समाजमा व्याप्त अन्धविश्वासको जरो अझै नउखेलिएको प्रमाण हो। बोक्सी लागेको भनेर वा कहिले भूतप्रेत मन्साउने नाममा माताको आवरणका व्यक्तिहरूले सोझासादा नेपालीको पैसा कुम्ल्याउने धन्दा चलाइरहेका हुन्। अझै कतिपयको त धनमात्रै होइन, ज्यानै पनि लिएका छन्।
राजधानी काठमाडौंमै पनि माताकै नाममा उपचारको बहानामा ज्यान जानु त झन् लाजैमर्दाे कुरा हो। गएको पुसमा भक्तपुरकी १४ वर्षीया रोश्नी श्रेष्ठको उपचारको बहानामा कथित माता उर्मिला तामाङको कुटपिटबाट ज्यान गयो। उता फागुन २० गते बुटलवलमा कथित माता सोनिया रेश्मीको कुटाइबाट सीता ज्ञवालीको मृत्यु भयो। रेश्मी र उर्मिलाले बिरामीको रोग उतार्ने नाममा कुटपिट गर्दा दुख्दैन भनेर भ्रममात्रै छरेनन्, अति गरेर ज्यानै लिए। अझ भन्न के बाँकी राखेका थिएनन् भने माताले पिट्दा बिरामीलाई होइन बोक्सीलाई दुख्छ। त्यतिसम्मको झुटलाई पत्याउन बिरामी र आफन्त किन विवश भए ? कि नेपालमा आधुनिक औषधोपचार सर्वसाधारणको पहुँचमा छैन।
धनीमानी र पहुँचवाला कोही त्यस्ता माताकहाँ पुगेर ज्यान गुमाउँदैनन्। जान विवश त सोझासादा र निर्धन नागरिक न हुन्। धामी, झाँक्री र कथित माताको भर पर्दा २०७६ देखि अहिलेसम्म देशभर १५ जनाले ज्यान गुमाएको तथ्यांक नेपाली समाजमा व्याप्त अन्धविश्वासको अवशेष चित्रित गर्न काफी छ। चिकित्सकीय अध्ययन र अनुमतिबिनै उपचारको सूचनाको पाटी टाँग्नेहरूमाथि नै कारबाही भएको देखिन्न भने भित्रभित्रै यस्ता धन्दा चलाउनेहरू मौलाउनु स्वाभाविक छ। त्यसतर्फ प्रहरी, प्रशासनको ध्यान जानु जरुरी छ। अर्काेतिर अन्धविश्वासको भूत उतार्दै धामी, झाँक्री र कथित माताहरूको भर नपर्न सचेतना बढाउन जरुरी छ। सबैभन्दा त स्वास्थ्य सेवा सर्वसुलभ र जुन कुनै नागरिकको पनि वशको सेवा नबनाई धरै छैन।
प्रतिक्रिया दिनुहोस !
