सुत्केरीलाई भाले, घ्यु र अण्डा उपहार

बागलुङ : बागलुङको बडिगाड गाउँपालिकाले सुत्केरी आमा र नवजात शिशुको लागि पोषण कार्यक्रम सञ्चालन गरेको छ ।
गाउँपालिकाले घरमा हुने सुत्केरीको संख्यालाई शून्यमा झार्नुका साथै सुत्केरी आमा र नवजात शिशुको पोषणलाई ध्यानमा राखेर चालु आर्थिक वर्षदेखि पोषण कार्यक्रम कार्यान्वयन गरेको अध्यक्ष गण्डकी थापा अधिकारीले बताइन् ।
कुनै पनि महिला सुत्केरी भएपछि उहाँको घर भेटमा जाने जनप्रतिनिधि वा स्वास्थ्यकर्मीले स्थानीय जातको भाले,एक माना घ्यु र एक क्यारेट अण्डा उपहार लाने गरिएको छ । भाले,घ्यु र अण्डा सबै स्थानीय स्तरमा उत्पादन खाद्य वस्तु हुन्।
अध्यक्ष थापाले लोकल उत्पादन गुणस्तरीय हुने भएको र स्थानीय उत्पादन खरिद गर्दा महिला आर्थिक क्रियाकलपसँग पनि जोडिने बताइन् । ‘लोकल उत्पादन गुणस्तरीय हुन्छ,'उनले भनिन्,‘स्थानीय तहले भाले, घ्यु अण्डा खरिद गर्ने भए पछि बजारको पनि समस्या भएन ।’
गाउँपालिकाले चालु आर्थिक वर्षमा ३९ जना सुत्केरी महिलालाई पोषण वितरण गरिने स्वास्थय शाखा प्रमुख शेरबहादुर बुढाले बताए । उनले १० महिना भित्रका महिलाले पोषण सुविधा पाउने जानकारी दिए ।
सहज स्वास्थ्य सेवा प्रदान गर्नका लागि विभिन्न ठाउँमा स्वास्थ्य संस्था स्थापना गरिएको प्रमुख बुढाले बताए ।
गाउँपालिकाको सात स्थानमा स्वास्थ्य चौकी,तीन स्थानमा आधारभूत स्वास्थ्य केन्द्र र पाँच स्थानमा सामुदायिक स्वास्थ्य इकाइ सञ्चालित छन । दश वटा वडा रहेको बडिगाडमा ९ वटा बर्थिङ सेन्टर रहेका छन् ।
प्रतिक्रिया दिनुहोस !
