सिनो व्यवस्थापन गर्दै पोखरा महानगर

विमानस्थल वरपर मांसाहारी चरा गिद्ध, चील, महाचील लगायतका चराको गतिविधि बढेपछि चराको गतिविधि कम गर्न यो अभियान सुरु गरिएको पोखरा महानगरपालिकाका प्रवक्ता मोतिलाल तिम्सिनाले जानकारी दिए।
पोखरा : पोखरा अन्तर्राष्ट्रिय विमानस्थल वरपर मांसाहारी चराको गतिविधि बढेपछि पोखरा महानगरपालिकाले सिनो व्यवस्थापन सुरु गरेको छ। पोखरा महानगरपालिकाको स्थापना दिवसको अवसर पारेर महानगरले विमानस्थल नजिकैको विजयपुर खोला, सेती नदी क्षेत्रमा मरेका जनावरको व्यवस्थापन गरेको हो।
सरसफाईका क्रममा विमानस्थल नजिकैको विजयपुर खोलामा १२ वटा मरेका बंगुरका पाठा, एउटा मरेको बहर देखिएपछि व्यवस्थापन गरेको पोखरा महानगरपालिका सरसफाई प्रमुख कल्पना बरालले जानकारी दिइन्। सरसफाईका क्रममा विजयपुर खोलामा मरेका जनावरका पुराना हाडखोर पनि भेटिएको बरालले बताइन्।
विमानस्थल वरपर मांसाहारी चरा गिद्ध, चील, महाचील लगायतका चराको गतिविधि बढेपछि चराको गतिविधि कम गर्न यो अभियान सुरु गरिएको पोखरा महानगरपालिकाका प्रवक्ता मोतिलाल तिम्सिनाले जानकारी दिए। चराको गतिविधि बढी हुने क्षेत्र विजयपुरको दुई कुलाको मुहान देखि विजयपुर र सेती नदीको दोभान मरेखरेघाटसम्म सफा गरिएको सरसफाई प्रमुख बरालले बताइन्।
सिनो रहेको विजयपुर खोला क्षेत्रमा चील, गिद्धलगायतका मांसाहारी चराको संख्या निकै धेरै देखिएको पनि उनले सुनाइन्। बंगुर पाल्ने किसानले मरेका पाठा खोलामा फ्याँक्दा पनि समस्या बढेको महानगरपालिकाले जनाएको छ। खोला, नहर, नदी कुनै पनि क्षेत्रमा कुनै पनि किसीमको फोहोर फ्याँक्नेलाई कडा कारवाही गरिने महागनरपालिकाले जनाएको छ। सफा, सुन्दर बनाउने जिम्मा महानगरपालिका एक्लैको मात्र नभएर सबै नागरिकको पनि उत्तिकै भूमिका हुने भएकोले जथाभावी फोहोर नफ्याँक्न उनले सबै पोखरेली नागरिकलाई अनुरोध गरिन्।
सरसफाईका क्रममा ८ ट्रक प्लाष्टिकजन्य फोहोर व्यवस्थापन गरिएको पनि उनले बताइन्। नेपालमा पाइने ९ प्रजातिकै गिद्ध पोखरा सेरोफेरोमा पाइन्छन्। यसै गरि नेपालमा पाइने ६ प्रजातिका महाचील पनि पोखरामा पाइने चरामा विद्यावारिधि गरेका हेमसागर बरालले बताए।
प्रतिक्रिया दिनुहोस !
