उपराष्ट्रपति निर्वाचनको मतगणना सुरू

उपराष्ट्रपति निर्वाचनको मतगणना सुरू
सुन्नुहोस्

काठमाडौं :उपराष्ट्रपति निर्वाचनको मतगणना सुरू भएको छ। मतदान सकिएलगत्तै मतगणना सुरू भएको हो। निर्वाचनमा संघीय संसद्का तीन सय ३२ र प्रदेशसभाका पाँच सय ५० सांसद मतदाता रहेकाकोमा ८२९ जनाले मतदान गरेका छन्। संघतर्फ ३११ र प्रदेशसभा तर्फ ५१८ सांसदले मतदानमा भाग लिएका हुन्।

गणतन्त्र नेपालको तेस्रो उपराष्ट्रपति चुन्न शुक्रबार बिहान १० बजेदेखि मतदान सुरू भएको थियो।  उपराष्ट्रपतिका लागि एमालेकी अष्टलक्ष्मी शाक्य,जसपाका रामसहाय प्रसाद यादव र जनमतकी ममता झा चुनावी मैदानमा छन्।

यादवलाई सत्ता गठबन्धन दल नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र,नेकपा एकीकृत समाजवादी,जनता समाजवादी पार्टीलगायत दलको समर्थन रह्यो। झालाई जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतले समर्थन गरेका छन्। शाक्यलाई एमालेको मात्रै समर्थन छ। 

बिहान १० देखि दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको थियो।  मतदानमा संघीय संसद्का सदस्य र प्रदेशसभा सदस्यका लागि बेग्ला–बेग्लै मतदान केन्द्र तय गरिएको थियो।

साँझ ६ बजेभित्र निर्वाचनको परिणाम सार्वजनिक गर्ने आयोगको तयारी छ। 

यो निर्वाचनमा संघीय संसद्का सदस्य र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डल रहने व्यवस्था राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन,२०७४ ले गरेको छ। संघीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको ४८ गणना हुन्छ।

निर्वाचनमा संघीय संसद्का तीन सय ३२ र प्रदेशसभाका पाँच सय ५० सांसद मतदाता रहेका छन् ।

कुनै उम्मेदवारले प्राप्त गरेको कुल मत निर्वाचक मण्डलको तत्काल कायम रहेको कुल मतको बहुमत भए निर्वाचन अधिकृतले उक्त व्यक्ति निर्वाचित भएको घोषणा गर्नुपर्ने व्यवस्था ऐनको दफा ५५ (२)ले गरेको छ। बहुमत नपुगे सबैभन्दा बढी मत प्राप्त दुई उम्मेदवारबीच पुनः निर्वाचन गराउनुपर्ने हुन्छ। पुनः मतदानमा कुनै उम्मेदवारले प्राप्त गरेको मत कुल मतको ५० प्रतिशतभन्दा बढी भए निर्वाचित भएको घोषणा गर्नुपर्ने ऐनमा उल्लेख छ। 

५० प्रतिशत नकटाए पुनः निर्वाचन गराउनुपर्ने हुन्छ। त्यस बेला कुल सदर मतको बढी मत पाउने उम्मेदवार निर्वाचित हुन्छन्। दुई वा सोभन्दा बढी उम्मेदवारको मत बराबर भए निर्वाचन अधिकृतले नै गोला हाली निर्णय गर्ने व्यवस्था छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.