मुस्ताङमा अन्तर गाउँ तारो खेल सुरु
जोमसोम: मुस्ताङको थाकसय क्षेत्रको लेतेमा तोरन्ल पर्व हर्षउल्लासका साथ मनाईएको छ। फागुपूर्णिमादेखि सुरु भएको तोरन्ल पर्वको उत्तरार्धमा थाकसाय क्षेत्रका थकाली समुदायले एकठाउँमै भेला भई तोरन्ल पर्व विशेष उत्सवका रुपमा मनाएका हुन्।
तोरन्ल पर्व थकाली चारचन समुदायको सबैभन्दा महत्वपूर्ण र ठुलो पर्व हो। परापूर्वकालमा हिमाली क्षेत्रका बासिन्दाले जंगलमा धनुषवाण प्रयोग गरी शिकार खेल्ने ऐतिहासिक कथासँग जोडिएको छ।
तोरन्ल पर्वको बेला थकाली समुदायले धसोमा तारो हान्ने (धनुषवाण) खेल्ने चलन छ। तोरन्ल पर्वमा थकाली समुदायले धनुषवाण खेल्ने, घरआँगन सिटिक्क सिंगारर्ने, छोरी ज्वाई, चेलीबेटीलाई आमन्त्रण गरी मिठोमिठो परिकार बनाएर खुवाउने, पूर्णिमा अघिल्लोदिनदेखि पछिल्लोदिनसम्म लगातार ३ दिन दिंगवत पितृहरुको सम्झना गर्दै पुजापाठ गर्दै चोखोपानी र मिठामिठा खानेकुरा बनाएर पितृलाई चढाउने गरिन्छ।
परापूर्व कालमा थकालीहरूले मृगको शिकार गरी ३ दिनसम्म खाने र रमाईलो गर्ने चलन थियो । त्यति बेला स्थानीय धनुषवाण प्रयोग गरी शिकार खेल्ने गरिन्थ्यो । त्यही प्रचलनलाई थकालीहरुले पर्वको एक अंशको रुपमा लिएका हुन् ।