बागलुङको धवलागिरि बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनको सकस

बागलुङ : साविकको धवलागिरि अञ्चलको एक मात्र आंगिक क्याम्पस धवलागिरि बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन गर्न सकस भएको छ ।
त्रिभुवन विश्व विद्यालयले चैत ५ गतेको लागि निर्वाचन मिति चयन गरेपनि धवलागिरि क्याम्पसमा भने निर्वाचन स्थगित भएको छ । विद्यार्थी संगठनहरु बीचको विवाद समाधान नभएपछि क्याम्पसले निर्वाचन स्थगित गरेको हो ।
निर्वाचन अधिकृत भक्तिराज न्यौपानेले निर्वाचन संयोजकको जिम्मेबारीबाट फागुन ३० गते राजीनामा दिएका छन् । निर्वाचन अधिकृतको राजीनामासँगै चुनाव स्थगित भएको धवलागिरि बहुमुखी क्याम्पस बागलुङका प्रमुख प्राध्यापक डा.रामप्रसाद उपाध्यायले जानकारी दिए ।
निर्वाचनको लागि चैत २७ गते मनोनयन दर्ताको समय तोकिएपनि बामपन्थी विद्यार्थी संगठनहरूले चैत २५ गते विद्यार्थीको फर्जी परिचयपत्र भेटिएको भन्दै तालाबन्दी गरेपछि मनोनयन दर्ता हुन सकेको थिएन । अखिल (क्रान्तिकारी) लगायतका पाँच विद्यार्थी संगठनले विद्यार्थीको परिचयपत्र नयाँ जारी गर्नुपर्ने लगायतका माग राख्दै निर्वाचन कार्यालयमा ताला लगाएको थियो । पटक–पटकको वार्ता र छलफलबाट समस्या समाधान नभएपछि नेपाल विद्यार्थी संघले ताला फुटाएको थियो ।
क्याम्पसमा विकसित विभिन्न घटनाक्रमले गर्दा प्रभावित हुन गएको र निर्धारित समयमा चुनाव गर्ने वातावरण नभएको भन्दै फागुन ३० गते निर्वाचन प्रमुख भक्तिराम न्यौपानेले राजीनामा दिएपछि चैत १ गते क्याम्पसले निर्वाचन स्थगित भएको सूचना निकालेको थियो ।
स्थगित भएको निर्वाचनको अर्को मिति तोक्नुपर्ने माग राख्दै नेपाल विद्यार्थी संघले क्याम्पसमा धर्ना दिएको थियो । विद्यार्थीको आन्दोलनपछि क्याम्पस प्रशासनले चुनावी प्रतिस्पर्धाका लागि दर्ता भएका १० वटै विद्यार्थी संगठनबीच आम सहमति जुटे चैत १८ गतेभित्र निर्वाचन गर्न सकिने जनाएको छ ।
क्याम्पसले निर्वाचनको लागि नयाँ मिति घोषणाका लागि केन्द्रमा अनुमति मागिसकेको क्याम्पस प्रमुख उपाध्यायले बताए । उनले चैत ६ गतेअघि सम्भावना नभएको र त्यसपछि १८ गतेभित्र कुनै मितिमा निर्वाचन गर्न सकिने त्रिविलाई जानकारी दिएको बताए।
‘चैत १२ गतेदेखि चौथो वर्षको परीक्षा सञ्चालन हुँदैछ,’ प्रमुख उपाध्यायले भने,‘निर्वाचन स्थगित भएको ३० दिन भित्र क्याम्पस प्रमुखले निर्वाचन गराउन सक्ने प्रावधान छ । सोही बमोजिम विद्यार्थी संगठनहरूबीच छलफल गरेर निर्वाचनको लागि नयाँ मिति तोक्छु ।’
क्याम्पस प्रमुख उपाध्यायले निर्वाचनको लागि चैत ६ गते विद्यार्थी संगठनहरूसँग बैठक आव्हान गरिएको बताए । १० वटै विद्यार्थी संगठनले संयुक्त रूपमा चुनावी अपिल गरे चुनाव गर्न सकिने क्याम्पस प्रमुखको भनाइ छ । ‘विद्यार्थी संगठनबीच आम सहमति बिना निर्वाचन हुँदैन,’ प्रमु्ख उपाध्यायले भने,‘जनधनको क्षति गरेर चुनाव गर्न सकिदैन ।’
अनेरास्ववियू धवलागिरि बहुमुखी क्याम्पसका अध्यक्ष अनिल शर्माले अनेरास्ववियु निर्वाचन गर्नुपर्छ भन्ने पक्षमा भएपनि आफूहरुले राखेका माग पूरा गरिनुपर्ने बताए । उनले निर्वाचन हुनको लागि सबै संगठनको साझा धारणा आउनुपर्ने र त्यसपछि टियुले निर्वाचनको लागि समय दिएमा निर्वाचन हुने बताए । ‘चुनाव नगर्ने भन्ने अनेरास्ववियुको धारणा छैन,’ अध्यक्ष शर्माले भने,‘हामीले क्याम्पस र स्ववियुलाई विभिन्न माग राखेर नै तालाबन्दी गरेका थियौं । त्यो माग सुनवाइ हुनुपर्छ ।’
यस्तै अनेरास्ववियु क्रान्तिकारीका केन्द्रीय सदस्य जीवन शर्माले विद्यार्थी संगठनबीच छलफल र सहमति भएको खण्डमा मात्रा चैत्र १८ भित्र चुनाव हुने बताए । नेविसंघले सुरुवातदेखि नै निर्वाचन हुनुपर्ने माग गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस !
