स्ववियु निर्वाचन : वीरगन्ज नर्सिङ क्याम्पसमा चुनाव जितेकाहरु धर्नामा

स्ववियु निर्वाचन : वीरगन्ज नर्सिङ क्याम्पसमा चुनाव जितेकाहरु धर्नामा
मंगलबार धर्नामा बसेका विधार्थीहरु।
सुन्नुहोस्

वीरगन्ज : वीरगन्ज ४ विर्ता स्थित वीरगन्ज नर्सिङ क्याम्पसमा स्ववियु निर्वाचनको विषयलाई लिएर उत्पन्न विवाद झन चर्किएको छ। निर्वाचन सम्पन्न भइ मत परिणाम आएको दुई दिन हुँदासमेत निर्वाचित भएको प्रमाणपत्र क्याम्पस प्रशासनले नदिएको र क्याम्पसमा गरिएको तालाबन्दीले पठनपाठन प्रभावित भएको भन्दै स्ववियुमा निर्वाचित र अनेरास्ववियु समर्थक विधार्थीहरु मंगलबार धर्नामा बसेका छन्। 

निर्वाचित भएको प्रमाणपत्र नदिएर षडयन्त्र गरिएको भन्दै धर्नामा बसेकाहरुले क्याम्पस प्रमुख र क्याम्पस प्रशासनविरुद्ध नारा लेखिएका प्लेकार्ड पनि प्रदर्शन गरेका छन्। 

उनीहरुले चुनावमा पराजित भएकाहरुले हार स्वीकार्न नसकेर क्याम्पसमा तालाबन्दी गरेकोले पठनपाठन र आउँदै गरेको परीक्षासमेत प्रभावित हुने भएकाले तालाबन्दी खोल्न माग पनि गरेका छन् । स्ववियु निर्वाचनको बहानामा तालाबन्दी गर्न नपाइने र शैक्षिक गतिविधि निर्वाध ढंगले पुनः सूचारु हुनुपर्ने धर्नामा बसेका विधार्थीहरुको माग छ।

उनीहरुले तालाबन्दी खोली निसर्त रुपमा पठनपाठन पुनः सूचारु गर्नुपर्ने मागसहित त्रिभुवन विश्वविद्यालयका डिनलाई पत्र पनि लेखेका छन्। उक्त पत्रमा लेखिएको छ, ‘स्ववियू निर्वाचनको परिणाम सार्वजनिक भएर सबै पक्षले स्वीकारसमेत गरिसकेको अवस्थामा रातारात क्याम्पसको प्रशासनिक भवनमा तालाबन्दी गरिएकोमा हामी विद्यार्थीहरुको आश्चर्यचकित भएका छौं। के कति कारणले किन रातारात हाम्रो क्याम्पसमा तालाबन्दी गरियो भन्ने कुरा अझैसम्म हामी कसैले बुझ्न सकेका छैनौं’।

आफूहरुको मालाई बेवास्ता गरिए कडा कदम चाल्न आफूहरु बाध्य हुने चेतावनी समेत उनीहरुले दिएका छन्।
यता क्याम्पस प्रमुख जमुना भट्टराईले भने केही विधार्थी संगठनहरुले क्याम्पसका विभिन्न शाखामा सोमबार तालाबन्दी गरेका कारण प्रमाणपत्र वितरणमा समस्या भएको बताइन्। उनले प्रशासन शाखामा निर्वाचनसँग सम्बन्धित सबै कागजातहरु रहेको तर तालाबन्दीका कारण त्यहाबाट झिक्न नपाएकाले प्रमाणपत्र वितरण गर्न नसकिएको बताइन्।

क्याम्पस परिसरमै रहेका वडा प्रहरी कार्यालय वृत्तका प्रहरी निरीक्षक विदुर शिवाकोटीले निर्वाचनको विषयलाई लिएर भएको विवाद सुल्झाउन क्याम्पस प्रमुख र क्याम्पस प्रशासनले विधार्थी संगठनहरुसँग छलफल जारी राखेको जानकारी दिए। 

वीरगन्ज नर्सिङ क्याम्पसमा आइतबार भएको स्ववियु निर्वाचनमा एक सदस्य बाहेक सभापति सहितका पदाधिकारी र सदस्यहरुमा अनेरास्ववियुका उम्मेदवार निर्वाचित भएका थिए। सभापतिमा अनेरास्ववियुकी मनिषा चौधरी निर्वाचित भएकी हुन्।

तर नेविसंघले भने चुनावमा क्याम्पस प्रमुख भट्टराइले धाँधली गरेको भन्दै क्याम्पस प्रमुख  भट्टराईको राजीनामा माग गर्दै सोमबार क्याम्पस प्रमुखको कार्यकक्ष र क्याम्पस प्रशासन शाखामा सोमबार तालाबन्दी गरेको थियो।

स्ववियु निर्वाचनमा उम्मेदवारी मनोनयनको समयदेखि नै क्याम्पस प्रमुखको भूमिका शंकास्पद रहेको आरोप नेविसंघको छ। सोमबार नेविसंघले  एक विज्ञप्ति जारी गर्दै अनेरास्ववियुका उम्मेदवारले समय सकिएपछि मात्र मनोनयन दर्ता गराएको, क्याम्पस प्रमुख भट्टराईले राति राति होस्टलमा गएर अनेरास्ववियुका उम्मेदवारलाई मत दिन विधार्थीलाई दबाब दिएकोले उनले राजीनामा दिनु पर्ने माग गरेको हो । 

क्याम्पस प्रमुख भट्टराईले भने स्ववियु निर्वाचन निष्पक्ष ढंगले सम्पन्न भएको दाबी गर्दै आएकी छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.