साइकलिङ यात्रामा घाइते विदेशी नागरिकको हेलीबाट उद्दार
जोमसोम :काठमाडौंबाट साइकलिङ यात्रा तय गर्दै मुस्ताङ आएका एक विदेशी नागरिक मंगलबार साइकल दुर्घटनामा परी घाइते भएका छन् । मुस्ताङको थासाङ गाउँपालिका–३ लेते–धम्पु ,सिर्खुम हुँदै थासाङ–२ सौरु गाउँतर्फ जाँदै गर्दा डेनमार्गका ४० वर्षीय पुरुष नागरिक जेस्पर साइकल दुर्घटनामा परि घाइते भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
डेनमार्क नागरिक जेस्पर साइकल यात्रा गर्दै गर्दा सौरु जाने थाङ्ने भीरनजिक सडकमार्गबाट करिब १० मिटर तल खस्दा घाइते भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी गोपीकृष्ण सुवेदीले जानकारी दिए ।
घाइते विदेशी नागरिकको बायाँ हात र कुहिना भाँचिएको जनाइएको छ । साइकल दुर्घटनापछि कोवाङ प्रहरी चौकी घटनास्थलमा पुगेको थियो । घाइते साइकल यात्रीको जिल्ला प्रशासन कार्यालय मुस्ताङ ,प्रहरी र स्थानीयको समन्वय र सहयोगमा कैलाश एयरको हेलिमार्फत् थप उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।
साइकल यात्रा गर्दै मुस्ताङ आउने टोलीमा ५ जना विदेशी र ४ नेपाली नागरिक थिए । ४ विदेशी र दुई नेपाली गरी ६ जना साइकल यात्रामा सहभागी थिए। उनीहरुले बेनी–जोमसोम मुख्य राजमार्ग सडक छोडेर धम्पु,सिर्खुम,सौरु पदमार्ग सडकको यात्रा तय गदै जोमसोमतर्फ जाँदै थिए ।
साइकलिङ यात्राका लागि उनीहरूले दुईवटा बोलेरो जीपमा बन्दोबस्तीका सामान लिएर आएका थिए ।