शान्ति प्रक्रियाका मुद्दा टुंग्याउन दबाब

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग गिरिजाबाबुको राम्रै सम्बन्ध रहेकाले प्रचण्ड पनि संक्रमणकालीन न्यायका विषयलाई टुंगोमा पुर्याउन इच्छुक हुनुपर्ने विश्वास व्यक्त गरे।
काठमाडौं : सरकारलाई शान्ति प्रक्रियाको संक्रमणकालीन काम टुंग््याउनु नै सबैभन्दा ठूलो जिम्मवारी रहेको कांग्रेसका नेताहरूले बताएका छन्। नेपाल प्रेस युनियनले काठमाडौंमा राखेको गिरिजाप्रसाद कोइरालाको स्मिृतिसभा कार्यक्रममा बोल्दै महामन्त्री गगन थापाले कांग्रेससँगै माओवादी नेतृत्वको सरकार एकजुट भएर शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउनुपर्ने बताए।
थापाले भने, ‘गिरिजाप्रसाद कोइराला शान्ति प्रक्रियाको नायक हो। उहाँसँगै जोडिएका केही विषय हामीले टुंग््याएका छैनौं। हामीले गिरिजाप्रसादलाई मान्छौं भन्दै जाने तर शान्ति प्रक्रियाको विषयलाई टुंग्याएनौं भने अपुरो हुन्छ।’
थापाले शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउन एमालेसहित सबै दलहरूलाई पनि एकजुट हुन आग्रह गरे। उनले भने, ‘शान्ति प्रक्रियाको संक्रमणकालीन न्यायसँग जोडिएका केही विषय छन्। जुन विषयको सन्दर्भमा हामी प्रष्ट हुनुपर्छ। शान्ति प्रक्रिया हामी सबैको विषय हो। यसलाई टुंग्याउने सबैभन्दा महत्वपूर्ण जिम्मेवारी पनि कांग्रेसकै हो’ उनले भने, ‘माओवादी, एमालेसहित सबै दलहरूले तत्कालको नाफाघाटा नहेरी साझा विषयको रूपमा टुंग्याउनुपर्छ। तर, हामीलाई समयको छुट छैन।’
त्यस्तै, कार्यक्रममा बोल्दै कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले अबको सरकारलाई गल्ती गर्ने छुट नभएको बताए। उनले भने, ‘गिरिजाबाबु थोरै बोल्नुहुन्थ्यो। जति बोल्नुहुन्थ्यो नतिजा निकाल्ने गरी बोल्नुहुन्थ्यो। उहाँ धेरै सुन्नुहुन्थ्यो। त्यस्तो क्षमता बिरलै देखिन्छ। संक्रमणकालीन न्यायको विषय अहिलेसम्म टुंगिन नसक्नु पनि आश्चर्यजनक कुरा हो।’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग गिरिजाबाबुको राम्रै सम्बन्ध रहेकाले प्रचण्ड पनि संक्रमणकालीन न्यायका विषयलाई टुंगोमा पुर्याउन इच्छुक हुनुपर्ने विश्वास व्यक्त गरे। उनले भने, ‘अहिलेको सरकारका प्रमुख प्रचण्डजीले परिणाम निकालेर काम गर्न चाहेको भन्नुहुन्छ। गिरिजाबाबुसँग उहाँको १२ बुँदे समझदारीसम्म आउँदाको सम्बन्ध साच्चिकै राम्रो थियो। त्यसैले म भन्छु संक्रमणकालीन न्यायको विषयलाई विशेष प्राथमिकता दिनुहोस् यति गरेपछि मात्र गिरिजाबाबुप्रति सच्चा सम्मान हुनेछ।’
कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी डिना उपाध्यायले गिरिजा अन्यायका लागि सधैं लड्ने एक योद्घा भएको बताए। त्यसैगरी, कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले भने, ‘नेपालको राजनीति शान्तिको बाटोमा लैजान महत्वपूर्ण योगदान छ। अरू देशमा जन्मिएको भए उहाँले नोबेल शान्ति पुरस्कार पाउने मान्छे हो। तर, यहाँ उहाँले बोकेका राष्ट्रले न्याय पाउने विषय आजसम्म टुंगिन नसक्नु आश्चर्यजनक हो।’ अहिले एउटाले अर्काको खुट्टा तान्नमा नेताहरू अल्मलिएको भन्दै गिरिजाप्रति सच्चा श्रद्घाञ्जलि व्यक्त गर्न लायक नभएको बताए। ‘शान्ति प्रक्रियाको संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्याऔं त्यसपछि मात्र श्रद्घाञ्जली अर्पण गरौं,’ उनले भने।
गिरिजा शान्ति प्रक्रियाको नायक हुन्। उहाँसँगै जोडिएका केही विषय हामीले टुंग््याएका छैनौं। हामीले गिरिजालाई मान्छौं भन्दै जाने तर शान्ति प्रक्रियाको विषयलाई टुंग्याएनौं भने अपुरो हुन्छ।
गगन थापा -महामन्त्री, कांग्रेस
गिरिजाबाबु थोरै बोल्नुहुन्थ्यो। जति बोल्नुहुन्थ्यो नतिजा निकाल्ने गरी बोल्नुहुन्थ्यो। उहाँ धेरै सुन्नुहुन्थ्यो। संक्रमणकालीन न्यायको विषय अहिलेसम्म टुंगिन नसक्नु पनि आश्चर्यजनक कुरा हो।
डा. शेखर कोइराला - नेता, कांग्रेस
प्रतिक्रिया दिनुहोस !
