स्ववियु निर्वाचनको माग गर्दै टायर बालेर प्रदर्शन

स्ववियु निर्वाचनको माग गर्दै टायर बालेर प्रदर्शन
सुन्नुहोस्

वीरगन्ज : वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा स्थगित स्ववियु निर्वाचन चैत मसान्त भित्रै गराउन माग गर्दै बुधबार विद्यार्थी नेताहरूले टायर बालेर प्रदर्शन गरेका छन्। 

ठाकुरराम बहुमुखी क्याम्पसमा विवादका कारण चैत ५ मा हुन नसकेको स्ववियु निर्वाचन क्याम्पस प्रशासनले आगामी जेठ १३ गते गर्ने निर्णय गरेको छ। 

तर चुनावको पक्षधर रहेका विद्यार्थी संगठनका नेताहरूले स्थगित निर्वाचन यही चैत मसान्तभित्र गराउन माग गर्दै बुधबार क्याम्पस परिसरमै टायर बालेर नाराबाजी गर्दै प्रदर्शन गरेका हुन्। 

यसअघि मंगबार बसेको चुनाव पक्षधर विद्यार्थी संगठनहरूको बैठकले नेविसंघका तर्फबाट प्रत्याशी मुनराज तिवारीको संयोजकत्वमा संघर्ष समिति गठन गरेको थियो। 

संघर्ष समितिमा नेविसंघसँगै लोकतान्त्रिक विद्यार्थी संघ, विद्यार्थी जनमत संघ, अनेरास्ववियु (क्रान्तिकारी), नागरिक विद्यार्थी समाज लगायतका संगठन र समूहको पनि प्रतिनिधत्व छ। 

उक्त संघर्ष समितिकै अगुवाइमा बुधबार विद्यार्थी नेताहरूले क्याम्पस परिसरमा टायर बालेर प्रदर्शन गरेका हुन्। प्रदर्शनमा सहभागी संघर्ष समितिका संयोजक तिवारीले चैतमै निर्वाचन हुनुपर्ने माग राखेर बुधबारदेखि संघर्ष समितिले आन्दोलन थालेको र पहिलो दिन टायर बालेर प्रदर्शन गरिएको बताए। 

यदि क्याम्पस प्रशासनले चैत मसान्तभित्र निर्वाचन गराउन तत्काल प्रक्रिया नथाले अझ सशक्त आन्दोलन गर्ने चेतावनी पनि उनले दिए। 

यहि माग राखेर संघर्ष समितिले मंगलबार जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेर प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र पनि बुझाएको थियो। यस्तै चैत २ गते क्याम्पसका विभिन्न शाखामा तालाबन्दी पनि गरेको थियो। 

संघर्ष समितिका संयोजक तिवारीले भने, ‘त्रिविले चुनाव स्थगित र रोकिएका क्याम्पसहरूमा चैत भित्रै निर्वाचन गराउन लिखित निर्देशन पनि दिइसकेको छ तर ठाकुरराममा क्याम्पस प्रशासनले त्रिविको निर्देशन पनि अटेर गरिरहेको छ, क्याम्पस प्रशासनले नै चुनाव गराउन चाहिरहेको छैन।' 

क्याम्पस प्रमुख डाक्टर उमेश चौरसियाले भने चैत १२ देखि स्नातक संकायको चौथो वर्षको परीक्षा सुरु हुने र परीक्षा चैत महिनाभर चल्ने भएका कारण चैतमा निर्वाचन गराउन सम्भव नभएको बताउँदै आएका छन्। 

त्यसमा पनि विद्यार्थी संगठनले नै क्याम्पसका विभिन्न शाखामा तालाबन्दी गरेकाले यसले समस्या थप बढाएको उनको भनाइ छ। उनी भन्छन्,‘ मतदाता नामावलीको विवाद यथावत नै छ, तालाबन्दी जारी नै छ, चैत १२ देखि परीक्षा पनि सुरु हुँदैछ, यो अवस्थामा चैतमा निर्वाचन गराउन समस्या देखिएकाले राजनीतिक दलहरूको सहमतिमै जेठ १३ का लागि मिति तोकिएको हो।' 
  


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.