नवयुगको गोलमा नेपालको अग्रता दोब्बर

काठमाडौं : एरियल बलमा लाओसका डिफेन्डरबाट बल खोस्दै ५६औं मिनेटमा नवयुग श्रेष्ठले उत्कृष्ट गोल गर्दै नेपालको अग्रता दोब्बर पारेका छन्। गोलकिपर अगाडि बढेका बेला नवयुगले करिब ३५ यार्ड टाढाबाट गरेको प्रहारमा लाओसका गोलकिपर सेसाभाथ निरीह बने।
यसअघि अनन्त तामाङले ३०औं मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए।
प्रधानमन्त्री थ्री नेसन्स कपअन्तर्गत उद्घाटन खेलमा नवीन लामाले बायाँतर्फबाट प्रहार गरेको कर्नरमा ६ यार्ड बक्सभित्र उत्कृष्ट रन बनाएका अनन्तले उत्कृष्ट गोल गरे।
त्यसअघि पाँचौं मिनेटमा आयुष घलानले बायाँ तर्फबाट गरेको क्रसमा नवयुग श्रेष्ठले हेडरमार्फत् गोल गर्ने सुन्दर मौका गुमाएका थिए। पेनाल्टी एरियाभित्र अन्मार्ज्ड रहेका नवयुगले हेडरको कोसिस गरे पनि अपेक्षित कनेक्ट गर्न सकेनन्।
सुरुआती २० मिनेटसम्म भ्रमणकारी लाओसमाथि हाबी बने पनि नेपाल स्पष्ट मोका बनाउन संघर्षरत थियो। आयुषले १८औं मिनेटमा बायाँ फ्लान्कमा उत्कृष्ट ड्रिबलिङ गर्दै पेनाल्टी एरियाभित्र रहेका एरिक विष्टलाई पास दिएका थिए। एरिकले मिलाइदिएको पासमा पुजन उपरकोटीले पेनाल्टी एरिया अगाडिबाट गरेको लामो प्रहार क्रसबार माथिबाट बाहिरिएको थियो।
प्रतिक्रिया दिनुहोस !
