मेयर कप : एपीएफसँग १० विकेटले हार्यो मधेस प्रदेश

काठमाडौं : सीता राना मगरको अविजित ४५ रनप्रेरित सशस्त्र प्रहरी बलको एपीएफ क्लबले आजदेखि सुरु भएको ललितपुर मेयर कपमा मधेस प्रदेशलाई १० विकेटको फराकिलो अन्तरले पराजित गरेको छ। त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको मधेसले १९.४ ओभरमा सबै विकेट गुमाएर ५८ रनमात्रै बनाउन सकेको थियो।
जवाफी ब्याटिङमा उत्रिएको एपीएफले ७.३ ओभरमा विकेट नगुमाई लक्ष्य पूरा गर्यो। एपीएफका लागि ओपनर सीता रानामगरले ३६ बलमा ९ चौकासहित अविजित ४५ रन बनाउँदा ज्योति पाण्डे आठ रनमा अविजित रहिन्। बलिङतर्फ मधेसका कुनै बलरले विकेट लिन सकेनन्।
पहिलो इनिङमा मधेसका लागि साना प्रविनले २५ रनबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेका थिएनन्। एपीएफका लागि सोनु खड्काले २.४ ओभरमा ९ रन खर्चेर सर्वाधिक चार विकेट लिएकी थिइन्। त्यस्तै सीताले तीन तथा रेखा रावल, नेरी थापा र इन्दु वर्माले एक-एक विकेट लिए।
आजै भएको खेलमा सुदूरपश्चिम प्रदेशलले मेयर्स ११ लाई ५१ रनले हराएको थियो।
प्रतिक्रिया दिनुहोस !
