विश्व कविता दिवसमा बहुभाषिक कवि गोष्ठी

काठमाडौं : बालसिर्जना मञ्च, नेपालले विश्व कविता दिवसको अवसर पारेर युनेस्कोका निमित्त राष्ट्रिय आयोगको सचिवालयको सहयोगमा राजधानीमा बहुभाषिक कवि गोष्ठीको आयोजना गरेको छ ।
सन् १९९९ देखि युनेस्कोको घोषणाअनुसार २१ मार्चलाई विश्व कविता दिवसका रूपमा मनाइने गरिएको छ । नेपालमा पनि विश्व कविता दिवस मनाउने क्रममा मञ्चले २५ जिल्लाका झन्डै चार दर्जन स्रष्टा समेटेर ११ भाषामा बहुभाषिक कवि गोष्ठी आयोजना गरेको हो ।
जनमत वाङ्मय प्रतिष्ठानका अध्यक्ष मोहन दुवालले नेपालमा बोलिने सबै भाषाभाषीलाई यसरी अनेक हिसाबले संरक्षण र प्रवद्र्धन गर्दै जानुपर्नेमा जोड दिए । युनेस्कोका निमित्त राष्ट्रिय आयोगको सचिवालयका सचिव हरि खनालले हरेक भाषाको आफ्नै अस्तित्व र महत्व हुने भएकाले तिनलाई साहित्यका माध्यमबाट जनमानसमा पु¥याउन सके संस्कृतिसमेत जोगिने बताए ।
कार्यक्रममा अतिथि डा. बमबहादुर थापा जिताली, पुरुषोत्तम सिग्देल, जगदिश्वर पोखरेल, मञ्चका पूर्वअध्यक्ष छायाँदत्त न्यौपाने, अध्यक्ष डा. सीता सुवेदी पन्थी, उपाध्यक्ष गोपीकृष्ण ढुंगानाले नेपालमा बहुभाषाको प्रयोग र महŒव, नेपाली साहित्य र सर्जकबारे बोलेका थिए ।
कार्यक्रममा ‘राष्ट्रिय पहिचान’, ‘सुशासन’, ‘जंगे पिलर’ जस्ता राष्ट्रिय मुद्दामा पनि कविता वाचन गरिए । काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, मोरङ, लमजुङ, पर्वत, कञ्चनपुर, मकवानपुर, तनहुँ, इलाम, दोलखा र धनकुटा गरी १४ जिल्लाका कविले सिर्जना वाचन गरेका थिए ।
कार्यक्रममा मगही, मैथिली, दमै, संस्कृत, तामाङ, केवरत, राई र नेपाली गरी ११ भाषामा रचना वाचन गरिएको थियो । वाचन गर्ने कविमा, डा. जिताली, सिग्देल, भगवती रोका भूमिका, उषा केसी, आर. मानन्धर, श्याम राई, इन्द्र चौधरी, राजकरण महतो, नेत्र तामाङ, आनन्द गुप्ता, बालकृष्ण श्रेष्ठ पासा, जुनु घिमिरेलगायत झन्डै ५० जना थिए । गोष्ठीमा काठमाडौं प्रज्ञा कुञ्ज स्कुल, एभरेष्ट पब्लिक एकेडेमी, भक्तपुर, आदर्श मावि, भक्तपुरका विद्यार्थीले पनि कविता वाचन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस !
