
मुलुकको राजनीति नै तरल अवस्थामा छ। संसद् (प्रतिनिधिसभा)मा कुनै पनि दलको बहुमत छैन। त्यसकारण राप्रपा पाँचै वर्ष सरकारबाहिर बस्छ भन्ने ग्यारेन्टी भने गर्न सकिँदैन। परिस्थितिले के भन्छ ? त्यहीअनुसार हामी अघि बढ्छौं। अस्थिरता निम्त्याउने, अराजकता निम्त्याउने शक्तिको पछि लाग्दैनौं। देशलाई उकास्नका लागि भने राप्रपा जोसँग पनि काँधमा काँध मिलाउन पछि हट्दैन।
हामीले गत पुस १० गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई समर्थन दिएका थियौं। तर, पछिल्लो घटनाक्रमपछि समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिइसकेका छौं। कतिपय प्रदेश सरकार पनि छाडेका छौं। लुम्बिनी, गण्डकी र कोसी प्रदेशमा समर्थन फिर्ता लिएका छैनौं।
यी तीन प्रदेशबाट पनि छिट्टै बाहिरिन्छौं नै। विचार, सिद्धान्त नमिल्नेसँग यस्तो अस्थिर सरकारमा जानु नै राप्रपाको भूल भयो। प्रधानमन्त्री प्रचण्ड अस्थिर हुनुहुन्छ। जो डेढ महिनामै गठबन्धन भत्काउनु हुन्छ। समीकरण तोड्नुहुन्छ। राजनीतिमा यो जस्तो बेइमानी केही पनि हुँदैन। गठबन्धन र समीकरण भनेको निश्चित अवधि हुनुपर्छ।
उहाँबाट देश बनाउने अपेक्षा गर्नु नै हुने थिएन। तापनि देशलाई केही माथि उठाउन सकिन्छ कि, जनताका पक्षमा थोरै भए पनि काम गर्न सकिन्छ कि भनेर राम्रो मनसायले हामी सरकारमा गएका थियौं। तर, सोचेजस्तो भएन।
सरकारबाट बाहिर आइसकेकाले हामी अब प्रतिपक्ष हौं। संघदेखि प्रदेशसम्मै हामी प्रतिपक्षमा बस्छौं। जनताका मुद्दा र पार्टीका एजेन्डालाई सदन र सडकबाट उठाउँछौं।
हाम्रो मुख्य एजेन्डा नै सनातन धर्मसापेक्ष हिन्दूराष्ट्र र राजासहितको प्रजातन्त्र हो। यी दुई एजेन्डालाई सडक र सदनबाटै स्थापित गर्न प्रयास गर्नेछौं। जनताका मुद्दा उठाउँछौं। सरकारका गतिविधिबाट जनताले धेरै दुःख पाइरहेका छन्। हामी अब आफ्ना एजेन्डा र मूल्यमान्यतालाई अगाडि बढाउनेबाहेक अन्यत्र सोच्न लाग्दैनौं।
देशमा भ्रष्टाचार व्याप्त छ। हरेक क्षेत्रमा बेथिति नै बेथिति छ। आर्थिक रूपमा देशको अवस्था धराशायी बनेको छ। श्रीलंकाले हालै जस्तो आर्थिक दुरवस्था भोग्यो, यहाँ पनि त्यस्तै हुने भइसकेको छ। हाम्रो मुलुक डुब्न लागेको छ। राज्यका कुनै पनि संयन्त्र राम्रोसँग चल्न सकेका छैनन्।
भ्रष्टाचार, अनियमितता, बेथितिले थलिएको देशलाई बनाउनेतिर लाग्नुको साटो दलहरू सत्ताकै खेलमा अल्झिएका छन्। गणतन्त्र, संघीयता पनि असफल भइसकेको छ। यो व्यवस्था ल्याउने नेताहरू पनि असफल भएका छन्। अब यो देशमा सनातन धर्मसापेक्ष हिन्दु राष्ट्र र राजासहितको प्रजातन्त्रको विकल्प छैन। अब देशलाई उठाउन सक्ने एउटा मात्रै उपाय हाम्रो एजेन्डा हो।
देशलाई अनिर्णयको बन्दी बनाउने र फितलो नेतृत्वको पछि लाग्ने काम हामीबाट पनि भयो। यस्तो खेलमा लाग्नै हुँदैनथ्यो। यसले राम्रो सन्देश दिएन। हामी अब पुरानै लय, बाटोमा फर्किएका छौं। यसको अर्थ राप्रपा अब सबै राजावादी र हिन्दुराष्ट्रवादीसँग एक भएर अघि बढ्नेछ। सबै देशभक्त, राष्ट्रवादी शक्ति देश बनाउन एक ठाउँमा आउनै पर्छ। मोर्चा बनाउनुपर्छ। त्यसका लागि संगठन विस्तारदेखि नयाँ ढंगले हामी अघि बढ्दै छौं।
२१ औं शताब्दी सुहाउँदो पार्टी बनाएर देशको नेतृत्व गर्ने अवस्थामा पुर्याउने गरी राप्रपा लाग्नेछ। अहिलेको अवस्थाबाट देशलाई माथि उठाउनुको विकल्प छैन। यो अभियानलाई सडक र सदनबाटै जोडदार रूपमा उठाउँछौं। त्यसैले हामी गठबन्धन र समीकरण फेरिरहनेको पछि लाग्दैनौं। यो स्पष्ट धारणा हो। प्रचण्ड नेतृत्वको सरकारमा त हामी जाँदै जाँदैनौं।
(डा. राणा राप्रपा महामन्त्री हुन्।)
प्रतिक्रिया दिनुहोस !
