असन्तुलित बसाइसराईलाई व्यवस्थित बनाउनुपर्छ : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २०७८ सालको सार्वनजिक जनगणनामा अधिकांश सूचकमा ग्रामिण र सहरी क्षेत्रकाबीच असमानता देखिएको बताएका छन्। शुक्रबार १२ औं राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले धेरैजसो सूचकहरूमा ग्रामिण र सहरी क्षेत्रकाबीच असमानता देखिएको र यसलाई सम्बोधन गरी असन्तुलित बसाइसराईलाई व्यवस्थित गर्नुपर्ने बताए।
उनले भने,'महिला परिवारमूली भएका परिवारहरू तथा परिवारमा उपलब्ध संचारलगायत अन्य साधन सुविधा,सफा खानेपानी प्रयोग गर्ने,बिजुली प्रयोग गर्ने,खाना पकाउन आधुनिक इन्धन प्रयोग गर्ने, शौचालय सुविधा भएका परिवारहरूको अनुपात वृद्धि भएको छ । साक्षरता दर ६६ प्रतिशतबाट बढेर करिब ७६ प्रतिशत पुगेको देखिएको छ । तर धेरैजसो सूचकहरूमा ग्रामिण र सहरी क्षेत्रकाबीच असमानता देखिएको छ, जसलाई सम्बोधन गरी नेपालमा विद्यमान असन्तुलित बसाइ सराईलाई व्यवस्थित गर्नु पर्ने देखिएको छ ।'
प्रधानमन्त्रीले कम उमेरका व्यक्तिहरूको संख्या क्रमश:घटेको र बढी उमेरका व्यक्तिहरूको संख्या क्रमश:बढेको देखिएकोले जनसंख्याको वृद्धि सन्तुलित नभएको बताए। उनले समग्र जनसङ्ख्याको वार्षिक वृद्धिदर घट्ने क्रममा रहेको देखिएको बताए।
प्रतिक्रिया दिनुहोस !
