माओवादीनिकट कर्मचारी संगठनको महाधिवेशन तयारी पूरा, अध्यक्षमा भट्टको दाबेदारी

काठमाडौं : नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीको महाधिवेशन तयारी पूरा भएको छ। महाधिवेशन १७ र १८ फागुनमा काठमाडौंमा हुँदैछ । महाधिवेशन नजिकिँदै गर्दा नेतृत्व लिन वरिष्ठतम् उपाध्यक्ष अम्बादत्त भट्ट अग्रसर भएका छन्।
संगठनको करिब ७ वर्षपछि हुन लागेको महाधिवेशनमा दुई कार्यकाल उपाध्यक्ष भइसकेका भट्ट अध्यक्षको एकल दाबेदारका रूपमा देखिएका छन् । यद्यपि, महाधिवेशनमा प्रतिस्पर्धा हुने कि सर्वसम्मत नेतृत्व चयन हुने टुंगो लागिसकेको छैन।
बैतडी घर भई भूमिव्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा कार्यरत भट्टले नेतृत्वमा आफ्नो स्वभाविक दाबी रहेको बताए। भट्ट २०६९ देखि संगठनको केन्द्रीय उपाध्यक्षको जिम्मेवारीमा छन्। ‘व्यक्तिगत दुई कार्यकालदेखि उपाध्यक्ष छु, यसपालि नेतृत्व लिने सोच बनाएको छु,’ उनले भने, ‘नेतृत्वमा अरू साथीको खासै तयारी देखेको छैन। बहुसंख्यक साथीको समर्थन प्राप्त गर्छुजस्तो लाग्छ।’
विधान मस्यौदा समितिका संयोजकसमेत रहेका भट्टले संगठनको संरचनागत संख्या तय गर्न संघीय निजामति ऐन नबन्दा कठिनाइ भएको बताए। संगठनका सचिव लोकेन्द्र चौलागाईंले प्राविधिक रूपले हल व्यवस्थापनदेखि लिएर प्रचारका लागि ब्यानर पोस्टर छपाइलगायत तयारी भएको बताए।
जिल्ला अधिवेशनहरू पूर्णरूपले सम्पन्न भइसकेको र प्रदेश अधिवेशन भइरहेको उनले बताए। १६ गतेसम्म संगठनका सबै इकाईमा अधिवेशन सम्पन्न भएर महाधिवेशनबाट नेतृत्व चयन गरिने उनले बताए । सबैतिरबाट प्रतिनिधि छानिसकेको उनले बताए।
उनकाअनुसार महाधिवेशनको उद्घाटन प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्नेछन्।
प्रतिक्रिया दिनुहोस !
