मुसहरको चम्किलो तारा मञ्जय
मञ्जय शिक्षकमात्र होइनन्, अँध्यारो बस्तीको चम्किलो प्रेरणाको स्रोत बनेका छन्। कुनै बेला हुनेखानेबाट हेपिएका र दबिएका उनको परिचयसँगै पहिचान फेरिएको छ।
पुस्तौंनी गरिबी। जंगलको दाउरा बिक्री गरेर छाक टार्नु पर्ने। दाउरा नबिके मुखमा माड लगाउनै कठिन। स्कुल पढ्न जानुपर्छ भन्ने कुरो एकादेशको कथा। अँध्यारोमा पक्कडमा थियो सारा बस्ती। पाँच पुस्ताको अँध्यारोलाई छिचोल्दै दलितअन्तर्गत मुसहर समुदायका मञ्जय सदाले सुनौलो बिहानी ल्याउँदै हालै स्नातक (बीबीएस) उत्तीर्ण गरे। महोत्तरीको बर्दिबास नगरपालिका–१४ मा झन्डै ६० परिवारको एकीकृत नमुना मुसहर बस्ती छ। जहाँ साढे तीन सयको बसोबास छ। यो बस्तीमा सबैभन्दा बढी पढेका एक्ला विद्यार्थी हुन् मञ्जय। उनले मुसहर समुदायको अँध्यारो जीवनलाई उज्यालो मात्रै बनाएका छैनन्। मञ्जय मुसहर समुदायको आशा, भरोसा र सबैको प्रेरणाको स्रोत बनेका उनी पढेको बर्दिबास जनता बहुमुखी क्याम्पसका प्रमुख तोपबहादुर ठकुरी बताउँछन्। उनी भन्छन्, ‘दु:ख र अभावमा मान्छे कसरी अगाडि बढ्छ। त्यो मञ्जयबाट सिक्दा हुन्छ।’
तराईका जिल्लामा मुसहर समुदायको बसोबास छ। त्रिभुवन विश्वविद्यालय केन्द्रीय मानवशास्त्र तथा तथ्यांकशास्त्रअन्तर्गत प्रकाशित नेपाल सोसल इन्क्लुजन सर्भे–२०१२ को तथ्यांकअनुसार मुसहर जातिको साक्षरता दर २१.८ प्रतिशत मात्रै छ। २०७१ सालमा मञ्जय बस्तीबाटै पहिलो एसएलसी उत्तीर्ण विद्यार्थी बन्दा उनका बुवा लक्ष्मी सदालाई खुसीको सीमा नै थिएन। त्यतिबेला खसी ढालेर गाउँलेलाई भोज खुवाएर उनका बुवाले खुसी साटेका थिए। खुसीयालीसँगै मञ्जयको खुसी पनि तीव्र गतिमा अघि बढ्दै गयो। उनले तत्काल होम ट्युसन सुरु गरे। प्रतिमहिना २ सय ५० रुपैयाँ लिने गरी त्यतिबेला ६–७ जनालाई पढाउन थाले। पढाइसँगै अघि बढाउन मञ्जय ११ कक्षा टेके। २०७२ सालमा गाउँ पुगेका धुर्मुस–सुन्तलीले पढेर राम्रो गरेको भन्दै पाँच हजार इनाम दिए। त्यसले उनी झनै उत्साहित भए।
पढाइमा लगनशील मञ्जयले एसएलसी उत्तीर्ण गरेकै जनता माध्यमिक विद्यालयबाट २०७४ मा आर्थिक चुनौतीबीच सहजै प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरे। निकै दु:ख गरेर तीनै मञ्जयले अहिले स्नातक (बीबीएस) उत्तीर्ण गरेका छन्। उनी अहिले लोकसेवाको तयारी गर्दैछन्। अनि स्नातकोत्तर पनि पढ्ने योजनामा छन्। खुसी त एसएलसी उत्तीर्ण गर्दाको समयमा भन्दा झन् अहिले स्नातक उत्तीर्ण गर्दा बढी छ, मञ्जयमा। तर त्यो बेलाको खुसी बाँड्ने मञ्जयका बुवा लक्ष्मी अहिले यो संसारमा छैनन्। ‘छोरो हाकिम बन्छ भन्ने सपना देख्नु भएका बाबा संसारमा हुनुहुन्न’, उनी भन्छन्, ‘बाबाले मलाई शिक्षक भएको नै देख्न पाउनु भएन। मेरो कमाइ खान पाउनु भएन। एक्लै हुँदा बुवालाई सम्झेर कतिखेर आँखाबाट आँसु झर्छ पत्तै हुँदैन। अहिले बाबाको सपना पूरा गर्ने लक्ष्यले अगाडि बढिरहेको छु। अब अफिसरको लागि पनि योग्यता पुगेको छ।’
घाम झुल्किनासाथ बस्तीमा झगडा र होहल्ला सुरु हुन्थ्यो। बस्तीका हरेकजसो मानिस रक्सी पिउँथे र रातभर झगडा गर्थे। बस्तीको त्यस्तो अवस्थाका बाबजुद मञ्जय पढाइका लागि संघर्ष गर्दै अघि बढिरहे। मुस्कुराउँदै थप्छन्, ‘पछिपछि त अरूले झगडा गरेर डिस्टर्भ गर्छन् भनेर साँझै सुत्न थालेको थिएँ। अनि अरू सुतेपछि उठेर रातभर पढ्थें।’ उनी पाँच कक्षामा पुग्दासम्म परिवारको अवस्था उस्तै थियो। ‘बाबा–आमा बिहानै दाउरा लिन जंगल पुग्नुहुन्थ्यो। त्यो दाउरा बर्दिवास बजारको चोकमा ल्याएर बेच्नुहुन्थ्यो। त्यही पैसाले हाम्रो घरमा बेलुका र बिहानपखको भान्छा हुन्थ्यो। बचत भन्ने केही थिएन। दाउरा बेच्यो, त्यही पैसाले छाक टार्यो’, त्यो बेलाको क्षण सम्झिँदै आँखा रसाएका मञ्जय भन्छन्, ‘दाउरा नबिकेको दिन त भोकै बस्नुपरेको दिनहरू पनि अहिले याद आउँछ।’
मञ्जयको कक्षा कोठामा मुसहर बस्तीका साथी कोही थिएनन्। उनी कक्षा कोठामा छुट्टै बस्थे। मञ्जय विद्यालय जान लागेका सुरुआती दिनहरू सम्झिँदै भन्छन्, ‘कक्षाका साथीहरू मेरो नजिकै पर्दैनथे, हेलाँ गरेको जस्तो महसुस हुन्थ्यो। त्यसले मलाई पढाइमा कुनै असर गरेनन्। बरु त्यो वातावरणले पढाइप्रति अझै मलाई उक्साइरह्यो। त्यसरी म पढाइमा मिहिनेत गरिरहें।’ जब उनले यी सबै परिस्थितिलाई सहज रूपमा लिए, उनको पढाइ सुध्रियो। मञ्जय कक्षामा उत्कृष्ट विद्यार्थीको लिस्टमा पर्न थाले। स्कुलले पनि छात्रवृत्ति दियो। पहिले पन्छिने साथीहरू पनि नजिकिए।
कतिपटक केही साथीका अभिभावकले त घरभित्र छिर्न पनि नदिएको मञ्जयसँग तीतो अनुभव छ। आफ्नो पढाइको नतिजाले विद्यालयमा साथीहरूको व्यवहारमा पनि फरक पर्दै गएको मञ्जय सम्झिन्छन्। ‘पछि फस्ट–सेकेन्ड–थर्ड हुन थालेपछि त सबैबाट माया पाउन थाले। अब सार्न पाउँछन् भनेर होस् या ऊ जस्तै जान्ने बन्नलाई होस् साथीहरू मसँग विस्तारै नजिकिन थाले। त्यसपछि त पढाइमा झन् मज्जा आउन थाल्यो’, हाँस्दै मञ्जयले सुनाए।
पढाइमा मिहिनेतले सजिलो भए पनि आर्थिक विपन्नताले मञ्जयलाई पछ्याइरह्यो। बिदाका दिन जंगलमा दाउरा लिन गएर किताब हेरेर पनि पढन् छाडेनन् मञ्जयले। बिहान अरूको खेतमा छेउकुना खन्न गएर बचेको समयमा पढ्न भ्याउँथे उनी। बस्तीमा कसैको घरमा बिजुली थिएन। टुकीको उज्यालोमा आफ्नो भविष्य खोजिरहेका थिए उनी। तर, बस्तीले उनलाई प्रोत्साहित गर्नुको साटो उल्टै मजाक उडाउँथ्यो। कतिपयले उनको बाबाआमासँग आएर भनेको कुरालाई सम्झिँदै मञ्जय सुनाउँछन्, ‘तेरो छोराले पढेर के गर्छ ? यी हेर मेरो छोरा काममा गएर तीन सय कमाएर ल्याएको छ।’ बस्तीबाट स्कुल जाँदा आउँदा पनि उनलाई साथीहरूले नै मजाकको पात्र बनाउँथे। गाउँले र बाबा ममीको दु:खले मञ्जयलाई निकै पिरोल्थ्यो। ‘मेरै समुदायमा किन यस्तो अँध्यारो भएको होला ? आज मैले राम्रो पढ्न सकिनँ भने पछि मैले पनि अरूकोमा गएर गुलाामी गर्नुपर्छ, अरूले हेप्छ भन्ने त्यतिबेला सोचाइ आउँथ्यो’, मञ्जय भन्छन्।
यसरी हुँदाहुँदै मञ्जय मुसहर बस्तीमै पहिलोपटक एसएलसी पास भएकाले दंग थिए। ‘त्यतिबेला बस्ती नजिकैकी भवानी अन्टीले खुसी हुँदै पाँच हजार रुपैयाँ हातमा थमाइदिनुभयो र भन्नुभयो यस्तो समाजमा बसेर पनि तिमीले कसरी पढ्यौ ? मेरो छोराले पनि बोर्डिङ स्कुलबाटै एसएलसी पास गर्यो। तर, त्योभन्दा बढी खुसी तिमीलाई एसएलसी पास गरेको देख्दा भएँ’, ती दिनहरू सम्झँदै मञ्जयले सुनाए। १२ मा पढ्दै गर्दा बर्दिबासमा अटो चलाएर होटलको सामानहरू ओसारपोसार गरेको पनि मञ्जयलाई सम्झना छ।
कुनै बेला हुनेखानेबाट हेपिएका र दबिएका मञ्जयको परिचयसँगै पहिचान फेरिएको छ। मुसहर समुदायको संस्कार र चरम गरिबीको चुनौतीबाट उम्किएका उनलाई बजारमा धेरैजसोले ‘मञ्जयर सर’ भनेर सम्बोधन गर्छन्। अहिले मञ्जय जनता नमुना माध्यामिक विद्यालयका शिक्षक हुन्। २०७६ सालदेखि त्यहाँका कक्षा ९ सम्मका विद्यार्थीलाई पढाइरहेका छन्। आफैंले पढेको विद्यालयमा करार शिक्षक रूपमा कार्यरत छन्, मञ्जय। पढ्ने बेलामा उनलाई गिज्याउने बस्तीका मुसहरहरू अहिले मास्टर साब भनेर सम्मान गर्छन्। पढाइसँगै पढाउन मञ्जयलाई कम्ती गाह्रो थिएन। विद्यार्थीलाई पढाउन उनी आफू पढ्ने कक्षाबाट कुनै दिन एक घण्टी त कुनै दिन दुई घण्टी अगाडि नै विद्यालयबाट निस्किन्थे। ‘आफ्नो पढाइ र विद्यार्थीलाई पढाउनुपर्ने मेरा लागि सामान्य थिएन। दिनभरको थकानले दिमाग खराबै हुन्थ्यो’, मञ्जय भन्छन्, ‘आफू पढेर आइसकेपछि ११–११ घण्टी पढाउनु पथ्र्यो। परिस्थितिले जस्तोसुकै दु:ख पीडा सामना गर्न सिकाउँदो रहेछ।’
मञ्जय शिक्षकमात्र होइनन्, अँध्यारो बस्तीको चम्किलो प्रेरणाको स्रोत बनेका छन्। ‘अहिले म आफैंले विद्यालयमा हाजिर बोलाउँछु। बस्तीका सबै बालबालिकालाई विद्यालय पठाउन उत्प्रेरणा दिइरहेको छु’, खुसी हुँदै मञ्जय भन्छन् ‘अहिले बस्तीका ५० घरधुरीकै बालबालिका विद्यालय गइरहेका छन्। धेरै बालबालिका ४–५ कक्षामा पढिरहेका छन्।’ अब पढाइलाई स्थायी सरकारी जागिरसँगै अघि बढाउन चाहन्छन् उनी। ‘पढाइ साथी हो। मास्टर्समात्र होइन, पीएचडी गर्ने लक्ष्य छ’, थप्छन्, ‘पढाइले थौरै उमेर देख्छ।’ २०७२ सालमा चिसोमा मुसहर बस्ती पुगेका थिए उनी। उनको भाइ कक्षा ९ मा अध्ययनरत थिए। उनी घरभित्र लुकेर पढिरहेका थिए। त्यो बस्तीबाट उनीमात्रै विद्यालय जान्थे।
‘बस्तीनजिकै विद्यालय भए पनि बस्तीका अरू बालबालिका शिक्षाको ज्योतिभन्दा बाहिरै थिए’, धुर्मुस भन्छन्, ‘हाम्रो प्रयास थियो, यी भाइलाई शिक्षित बनाउने र सँगसँगै बस्तीका सबै बालबालिकालाई स्कुल पठाउने। त्यही अर्जुनदृष्टिका साथ सबै सहयोगी मनको साथ र सहयोगले एकीकृत नमुना मुसहर बस्ती ठडियो।’ जो हिजो विद्यालय जाँदैनथे आज ती विद्याको मन्दिरमा रमाइरमाई पढिरहेको देख्दा खुसी लाग्छ उनलाई। सुनाउँछन्, ‘पढाइमा राम्रो नतिजा पनि ल्याइरहेका छन्। विशेषगरी यी मञ्जय सदाले बीबीएस उत्तीर्ण गरेको समाचारले निकै हर्षित छौं। बस्तीका बालबालिकाको प्रगतिको अपेक्षा गर्दछौं।’