बर्दिया निकुञ्जमा बाघसँग जम्काभेट...
झन्डै ४ मिनेटको फोटो सेसनपछि बाघ जुरुक्क उठेर हामीतिर फर्कियो। हामी डरायौं। डर लागे पनि हात हल्लाउँदै, मुटु कमाउँदै हामीले मोबाइलमा भिडियो खिच्न छोडेनौं। हामीतिर फर्किएको बाघ दाहिने मोडिएर दक्षिणतर्फ गयो।
ठाकुरद्वारा : प्राकृतिक वासस्थानमा बाघ हेर्न पाइने विश्वकै एकमात्र स्थान बर्दिया राष्ट्रिय निकुञ्ज हो भन्ने सुनेको थिए। नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिले बर्दियाको ठाकुरद्वारामा आयोजना गरेको चार दिने पत्रकार क्षमता अभिवृद्धि तालिमको अवसरमा गत ५ चैतमा जंगल सफारी गर्ने अवसर जुर्यो। गैंडा क्याम्प रिसोर्टबाट निकुञ्जको मूल गेटमा पुगेपछि गाडी टक्क अडियो। सफारी गर्नेको नाम, उमेर सबै निकुञ्जको मूल गेटमानिकुञ्जका कर्मचारीलाई टिपाएर जंगल यात्रा सुरु भयो।
जंगल सफारी मेरो लागि नौलो र पहिलो थियो। निकुञ्जमा के–के वन्यजन्तु देख्न पाइएला ? कौतुहलता थियो। गाडीमा चढेदेखि मन चञ्चल थियो। टुरिस्ट गाइड विनय चौधरीले निकुञ्जमा बाघ, गैंडा हात्ती, मृगका प्रजाति र चराचुरुंगी देख्न पाइने जानकारी दिइरहेका थिए। ‘होहल्ला गर्नुभयो भने देख्न सकिँदैन’, उनी सम्झाउँथे।
पाँच मिनेटको सफारीमै मयुर भेटिएर उत्साह थप्यो। म गाडीको अगाडि बसेको थिए। हामी बघौराफाँटानजिकै पुगेका थियौं। यात्राको झन्डै २५ मिनेटमै पाटेबाघ बायाँतर्फ जाँदै गरेको पुच्छर देखे। सँगै रहेका पत्रकार विक्रम खड्कालाई देखाए। चालकले गाडी दौडाए। मलाई लाग्यो, बाघको डरले दौडाएका होलान्। बाघ गएको ठाउँनजिकै गाडी टक्क रोकियो। झन्डै १५ मिटरको दुरीमा बसिरहेको पाटेबाघ देखियो। हामीले मोबाइल झिकेर बाघको फोटो र भिडियो कैद गर्न थाल्यौं।
झन्डै ४ मिनेटको फोटो सेसनपछि बाघ जुरुक्क उठेर हामीतिर फर्कियो। हामी डरायौं। डर लागे पनि हात हल्लाउँदै, मुटु कमाउँदै हामीले मोबाइलमा भिडियो खिच्न छोडेनौं। हामीतिर फर्किएको बाघ दाहिने मोडिएर दक्षिणतर्फ गयो।
‘बाघ पानी खान तलको खोलामा जान्छ। हेर्न जाम’, गाइड चौधरीले थपे। हामी जंगलभित्र पस्यौं। चालक र गाइडसँग लौरो थियो। ‘हामी सबै सँगै जानुपर्छ। एक्लै गएबाघले झम्टन्छ’, उनले सर्तक गराए। हामी खोल्सी तरेर खोलाको किनारमा पुग्यौं। गाइड चौधरीले खोलातर्फ देखाउँदै भने, ‘हेर्नुहोस्, ऊ त्यो तलको घाँसनजिकै बाघ आउँछ। नबोलिकन बस्नुहोला।’ नभन्दैै खोलामा पानी खाएर बाघ खौराहा खोला तर्यो। हाम्रोविपरीत दिशाबाट विदेशी पर्यटकले भरिएको अर्को सफारी गाडी आयो।
विदेशी उत्तरतर्फ देखाउँदै ‘राइनोज...राइनोज...’ भनिरहेका थिए। हामीले पनि जंगलतिर दौडिरहेको गैंडा देख्यौं। अगाडि जाँदा फाँट र घाँसे मैदानमा चित्तल, बाह्रसिंगे, जरायोका हुलका हुल चरिरहेको अत्यन्तै मनमोहक दृश्य थियो। टिभीका भित्तामा विदेशका घाँसे मैदानमा वन्यजन्तु देखिएको जस्तो भान भयो। आफ्नै देशमा पनि यति ठूला घाँसे मैदानमा झन्डै ५÷७ हुलका हुल मृगका प्रजातिदेख्न पाउँदा मनमा आनन्द छाएको थियो।
बघौरा फाँटामा चित्तलको बथान चरिरहेको थियो। त्यहीँ मयुर नाचिरहेका थिए। पहाडमा लालीगुराँस फुलेर रातै भएसरि राता रूखको जंगल पनि देखियो। मैले हाम्रो गाइड चौधरीलाई सोधे, ‘यो रातै भएको बोट केको हो ?’ उनले कुसुम फुलेको भने। ती सबै दृश्य शब्दमा वर्णन गर्न पनि नसकिने अत्यन्तै सुन्दर र रोमाञ्चक थिए। हामीले कर्णाली नदीको तिर लालमटीमा गएर खाना खायांै। कर्णाली नदीसुन्दर र मनमोहक थियो। डल्फिनले सुनमा सुगन्ध थपे। कतिबेला लुक्थे डल्फिन ? कति बेला बुरुक्क, बुरुक्क पानी बाहिर उफ्रन्र्थो। त्यो वातावरणले हामीलाई भू–स्वर्गको एक कुनामाबसेको आभाष भएको थियो।
निकुञ्जभित्र पर्यटकलाई वन्यजन्तु अवलोकनका लागि ठाउँ–ठाउँमा अग्ला मचान बनाइएका थिए। घरि घाँसेमैदान त घरी निकुञ्जको ग्राभेल सडकमा गाडी घुँइकाउँदै चालक हरि थारुले ठाउँ र जनावरको वर्णन गर्थे। उनी भन्थे, ‘दाइ तपाईंहरू कति भाग्यमानी हुनुहुँदो रहेछ। यति नजिकैबाट बाघ हेर्न पाउनुभयो ?’ यात्रामा नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय अध्यक्ष पत्रकार तारानाथ दाहालसँगै हुनुहुन्थ्यो। निकुञ्जभित्र बुढा रूखमात्र धेरै छन्। विभिन्न लहराले रूखहरू नै मारिरहेको छ। त्यो काट्न सकेर जंगलमा नयाँ बिरुवाहरू उमार्न सके भविस्यमा समेत जंगल सुरक्षित हुने हामीले कुरा गर्यौं। २० मंसिर २०४५ मा कर्णाली र बबई नदीका केही भाग समेटेर बर्दिया राष्ट्रिय निकुञ्ज घोषणा भएको थियो। तराईका निकुञ्जमध्ये यो निकुञ्ज सबैभन्दा ठूलो हो। जहाँ धेरैजसो भाग सालको जंगलले ढाकेको छ। ठाउँ–ठाउँमा घाँसे मैदान छन्। निकुञ्जमा पाटेबाघ, एकसिंगे गैंडा, चितुवा, घोडगधा, जरायो, चित्तल, लगुना, बाह्रसिंगा र जंगली हात्तीलगायत ५६ प्रजातिका स्तनधारी वन्यजन्तु पाइन्छन्।
जलचरहरूमा घडियाल गोही, मगर गोही, सोंस र विभिन्न किसिमका माछा यहाँ पाइन्छन्। रैथाने र बसाइँ सरी आउने ४ सय ३८ थरीचरा निकुञ्जमा अभिलेख गरिएको छ।
पर्यापर्यटनको प्रचुर सम्भावना रहेको बर्दिया निकुञ्जमा बर्सेनि आन्तरिक र बाह्य पर्यटक बढेका छन्।