आकाशमा किन ठोक्किन खोज्छन् जहाज ?

आकाशमा किन ठोक्किन खोज्छन् जहाज ?
सांकेतिक तस्बिर।
सुन्नुहोस्

एयर इन्डियाको जहाज ५ सय फिटभन्दा पनि कम सेपरेसनमा देखिएकाले यसलाई गम्भीरतापूर्वक नै छानबिन गरिने प्राधिकरणका अधिकारी बताउँछन्।

काठमाडौं : जहाजलाई अवतरणअघि आकाशमै तीन कारणले ‘होल्ड’ गरिन्छ– एयर ट्राफिक, खराब मौसम र प्राविधिक समस्या। एउटा मात्र धावनमार्ग भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि जहाज होल्ड हुने गरेका छन्। उड्डयन क्षेत्रमा होल्डिङ एक नियमित प्रक्रिया भएको पूर्वपाइलट केबी लिम्बू बताउँछन्। 

९ हजार, ११ हजार, १५ हजार, १९ हजार फिट गरेर होल्डमा हुन्छन्। सबैभन्दा तलकालाई पहिलो प्राथमिकता दिँदै बिस्तारै सबै विमान अवतरण गरिन्छन्। होल्डिङमा हुँदा दुई जहाजबीचको स्तरीय दूरी (स्ट्यान्डर्ड भर्टिकल सेपरेसन) १ हजार फिट हुनुपर्छ। तर, गत शुक्रबार बिहान ११ देखि साढे ११ बजेबीच यो दूरी मिच्दा दुई जहाज झन्डै ठोक्किए। 

त्यस बेला भर्टिकल सेपरेसन ५ सय फिटभन्दा पनि तल पुगेको अनुमान नेपाल नागरिक उड्डयन प्राधिकरणको छ। एयर ट्राफिक कन्ट्रोलर (एटीसी)को सहयोगपछि जहाजलाई तोकिएको दूरीमा पुर्‍याइएको प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुल बताउँछन्। 

मुलुकको एक मात्र अन्तर्राष्ट्रिय आगमन बिन्दु सिमरा प्रवेश गरिसकेको एयर इन्डियाको २१३ कल साइनको जहाज १९ हजार फिटमा थियो। उक्त उडान दिल्लीबाट काठमाडौं आउँदै थियो। त्यसको ठ्याक्कै अघि मलेसियाको क्वालालम्पुरबाट काठमाडौं आउँदै गरेको नेपाल एयरलाइन्सको ४१६ कल साइनको जहाज थियो। उक्त विमान १८ हजार फिटमा होल्डमा थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा त्यस दिन खटिएका तीन एटीसीले नेपाल एयरलाइन्सलाई १५ हजार फिटमा झर्न अनुमति दिए भने एयर इन्डियालाई १६ हजार फिटमा। तर, एयर इन्डिया एटीसीको अनुमतिबिना सिधै १५ हजार फिटमा झर्‍योे। 

सहप्रवक्ता भुलका अनुसार उक्त जहाज १६ हजार फिटसम्म आउँदा सुरक्षित नै हुन्थ्यो। किनभने, १ हजार फिटको सेपरेसन नै कायम भइरहेको हुन्थ्यो। तोकिएको दूरीभन्दा तल झरेपछि ट्राफिक कोलिजन एबार्डेन सिस्टम (टिकास)ले नेपाल एयरलाइन्सको पाइलटलाई सतर्क गरायो। ‘दुई जहाजबीचको दूरी १ हजार फिटभन्दा कम भएपछि टिकासले ट्राफिक–ट्राफिक भनेर सतर्क गराउँछ। यो सतर्कतापछि पाइलटले एटीसीलाई रिपोर्ट गर्‍यो’, भुलले अन्नपूर्ण पोस्ट्सित भने। 

त्यसपछि नेपाल एयरलाइन्सको जहाजलाई अझै तल १३ हजार ५ सय फिटमा ल्याइयो। यस्तै, एयर इन्डियाको जहाजलाई माथि चढाएर १६ हजार फिटमा पुर्‍याइयो र सम्भावित दुर्घटना टर्‍यो। यसले हवाई सुरक्षामा सिधा असर गर्ने गर्छ। पाइलट तर्सिन्छ वा झस्किन्छ, जसले गर्दा हतासमा गलत निर्णय लिन सक्छ। यसले दुर्घटना निम्त्याउन सक्छ। यसले गर्दा नै हवाई दुर्घटना हुने नभई दुर्घटना हुने कारण बन्न सक्छ। 

जानकारका अनुसार आकस्मिक अवस्थामा त्यस्तो दूरी ५ सय फिटसम्म पुर्‍याउन सकिन्छ। तर, नेपाली आकाशमा गत शुक्रबार भएको घटनामा आकस्मिक कारण केही देखिँदैन। यसमा अन्य कारणभन्दा पनि लापरवाहीजस्तो देखिएको पूर्वपाइलट लिम्बू बताउँछन्। ‘जहाज कसरी तल झर्‍यो ? के निर्देशन भयो ? मानवीय त्रुटिअन्तर्गत लापरवाही गरेको नै देखिन्छ’, उनी भन्छन्। तर, ट्राफिक छ भन्ने थाहा पाएपछि र एटीसीको अनुमतिबिना तल झर्न नहुने उनको भनाइ छ।

यस्तो घटना दोहोरिन नदिन प्राधिकरण कडा रूपमै आउनुपर्ने पूर्वकार्यकारी निर्देशक राजकुमार क्षेत्री बताउँछन्। ‘टिकासजस्तो प्रविधि नभइदिएको भए त दुर्घटना नै हुने थियो। उक्त घटना राम्रोसँग छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्छ’, उनी भन्छन्।

एयर इन्डियाको जहाज अनुमतिबिना तोकिएको फिटभन्दा तल किन झर्‍यो भन्ने सम्बन्धमा प्राधिकरणले छानबिन समिति गठन गरेको छ। घटनाको कारण केलाएर प्रतिवेदन दिन उक्त समितिाई करिब एक साताको समय दिइएको छ। 

शुक्रबार काममा रहेका तीन जना एटीसी ‘ड्युटी अफ’मा परेका छन्। एयर इन्डियाको पाइलटलाई पनि कन्ट्री अफिसमार्फत रिपोर्ट नआउन्जेसम्म काठमाडौंमा उडान गर्न नदिन भनिएको सहप्रवक्ता भुल बताउँछन्। यो कारबाही नभई छानबिनका लागि सहज वातावरण बनाएको उनको भनाइ छ। 

समितिले बुझाएको रिपोर्टका आधारमा कारबाही प्रक्रिया अघि बढाइने भएको छ। ‘एटीसीले गल्ती गरेको छ भने एटीसीलाई र पाइलटको गल्ती भए उसलाई कारबाही गर्न भारतको उड्डयन प्राधिकरणलाई लेखेर पठाउनेछौं। उनीहरूले कारबाही गर्छन्। हामीले सिधै कारबाही गर्न पाउँदैनौं’, भुल भन्छन्, ‘दुई देशको हवाईसेवा सम्झौताबमोजिम अर्को देशको पाइलटलाई सिधै कारबाही गर्न मिल्दैन। उसले नै नियमबमोजिम कारबाहीको प्रक्रिया अघि बढाउँछ।’

एयर इन्डियाको जहाज ५ सय फिटभन्दा पनि कम सेपरेसनमा देखिएकाले यसलाई गम्भीरतापूर्वक नै छानबिन गरिने प्राधिकरणका अधिकारी बताउँछन्। यो कहिलेकाहीँ राडरको सिस्टम त्रुटि या कहिले पाइलटको त्रुटिले पनि हुन्छ। रेडियो फ्रिक्वेन्सी (भीएचएफ) रेकर्ड हेरेपछि त्रुटि थाहा हुने पनि बताइएको छ। यसअघि पनि अघिल्लो महिना नेपाल एयरलाइन्स, बुद्ध र कतार एयरलाइन्सबीच पनि स्ट्यान्डर्ड सेपरेसन समस्या भएको त्रिभुवन विमानस्थलका प्रक्ता टेकनाथ सिटौला बताउँछन्। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.