पाँचथर अस्पतालमा शिशुको रहस्यमय मृत्यु, छानबिनका लागि समिति गठन
फिदिम : पाँचथर अस्पतालमा नवजात शिशुको रहस्यमय मृत्यु भएको छ । चिकित्सकको लापरबाहीले शिशुको मृत्यु भएको भन्दै अभिभावक आक्रोशित बनेका छन् ।
पाँचथरको याङवरक २ नाम्रेककी सीता खतिवडा (अधिकारी)लाई प्रसूति गराउन उनका श्रीमान शान्तिराम अधिकारीले अस्पताल लगेका थिए । सुत्केरीपछि आमा र शिशुको हेरचाहमा वास्ता नगरेपछि शिशुको मृत्यु भएको आफन्तको आरोप छ।
शिशुको मृत्युको कारणबारे जिज्ञासा राख्दा डाक्टरले गैरजिम्मेवारपूर्ण जवाफ दिएर पन्छिन खोजेको अधिकारीको भनाइ छ । प्रसूति कक्षमा खटिएकी नर्स र डाक्टर उपेन्द्र पोख्रेलको लापरबाहीले शिशुको मृत्यु भएको भन्दै आफन्त आक्रोशित बनेका हुन् ।
आफन्त आक्रोशित बनेपछि अस्पतालका डाक्टर बरुण अग्रवालको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको हो । उक्त समितिलाई घटनाको छानबिन गर्न सात दिनको समय दिइएको अस्पताल विकास समितिका अध्यक्ष रामराज आङ्देम्बेले जानकारी दिए ।