नागरिकताविहीनको मेची-महाकाली अभियान, सर्वोच्चमा सामूहिक मुद्दा हाल्ने
ढल्केवर(धनुषा) : नागरिकता विहीनहरूले सर्वोच्च अदालतमा सामूहिक रिट हाल्ने तयारी सुरु गरेका छन्।
नागरिकता विहीन संघर्ष समितिले देशैभरका पीडितहरूको कागजपत्र संकलन गरेर सर्वोच्चमा मुद्दा हाल्ने तयारी थालेको हो।
पीडितहरूको कागजात संकलनका लागि चैत्र १० गतेबाट मेचीमहाकाली अभियान सुरु गरिएको नागरिकता विहीन संघर्ष समितिको केन्द्रीय संयोजक इन्द्रजित साफीले बताए।
अभियानका क्रममा सोमबार धनुषाको ढल्केवर पुगेका साफी नेतृत्वको टोलीले चार हजारको हाराहारी पीडितहरूको कागजात संकलन भइसकेको जानकारी दिए।
महाकालीसम्म पुगेर १० हजार पीडितको तथ्य प्रमाणसहितको कागजातहरू संकलन गरेर सर्वोच्च अदालतमा एकमुष्ट मुद्दा दर्ता गराउने गरी तयारी गरिरहेको साफीले सुनाए।
'पीडितहरू त थुप्रै छन्। तर हामी राजमार्ग छेउ छाउका स्थानहरूमा पुगेर कागजात संकलन गरिरहेका छौं। एकमुष्ट मुद्दा हाल्ने हाम्रो तयारी छ। सर्वोच्चले संविधानकै मर्म बुझेर हाम्रो पक्षमा आदेश सुनाउँछ भन्नेमा हामी ढुक्क छौं,’ संयोजक साफीले भने।
नागरिकता प्राप्तिका लागि आफूहरूसँग दुईवटा विकल्प मात्रै बाँकी रहेको उनी सुनाउँछन्। ‘पहिलो नागरिकता विधेयक प्रमाणिकरण हुनुपर्यो हैन भने सर्वोच्च हाम्रो अन्तिम विकल्प हो। नागरिकता विधेयकका लागि पनि हामी तयारीमा छौं,’ साफी भन्छन् ‘सर्वोच्चमा मुद्दा हाल्ने समेत हाम्रो म्यान्डेट बनिसकेको छ।’ मुद्दाका लागि वकिल पनि व्यवस्थापन भइसकेको उनले सुनाए।
विगत २ वर्षदेखि संघर्ष समितिले जन्मसिद्ध नागरिकता प्राप्त व्यक्तिको सन्तान र एकल आमाका सन्तानहरूलाई नागरिकता प्रदानका लागि नागरिकता विद्येयक पास गराउनका लागि विभिन्न चरणबद्ध रूपले सडक आन्दोलन लगायत सरोकारवालालाई ज्ञापनपत्र बुझाउने जस्ता क्रियाकलाप गर्दै आइरहेका छन्।
तर पनि सरकारले यस विषयमा आलटाल गरी रहेपछि बाध्य भएर मुद्दा हाल्ने तयारीमा जुटेको संयोजक साफी बताउँछन्।