उद्योगी व्यवसायीका समस्या सम्बोधन गर्न उपाध्यक्षमा उम्मेदवारी : श्रेष्ठ

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनमा जिल्ला नगर तर्फका प्रत्यासी दिनेश श्रेष्ठले साना तथा मझौला व्यवसायीका समस्या समाधान गर्न आफूले उम्मेदवारी दिएको बताएका छन्।
महासंघको सबैभन्दा महत्वपूर्ण कार्यक्षेत्र भनेको जिल्ला नगर उद्योग वाणिज्य संघ रहेको भन्दै श्रेष्ठले यही ठाउँबाट शसक्त अभियान सञ्चालन गर्नका लागि जिल्ला नगर तर्फको उपाध्यक्षमा दावेदारी दिएको बताएका हुन्।
महासंघको जिल्ला नगरतर्फको उपाध्यक्ष रहेका श्रेष्ठले फेरि यथावत स्थानमै उम्मेदवारी किन भन्ने सबैको जिज्ञासा आफ्नो लागि संवेदनशील विषय बनेको पनि बताएका छन्।
‘सहकार्य र सहमतिको बाटो लिने निर्णय गरिसक्दा पनि पूर्ण रूपमा सहमति नजुटेको अवस्थामा मेरा लागि पदभन्दा पनि वर्तमान अवस्थामा नाजुक बन्दै गएको निजी क्षेत्रको उत्थानका निम्ति पहल पैरवी गर्न एउटा सशक्त फोरम महत्वपूर्ण छ।’
सबै जना नेतृत्वका लागि एकै पटक निर्वाचनमा जाँदा आगामी कार्यकालमा सबल नेतृत्वको अभाव हुन सक्ने कुरालाई पनि आफूले ध्यानमा राखेर साथीहरूसँगको सल्लाहमा जिल्ला नगर उपाध्यक्षमा उम्मेदवारी दिएको उनले बताए।
देशका सम्पूर्ण निजी क्षेत्रको धरोहरका रूपमा रहेको महासंघलाई नयाँ दिशातर्फ अघि लैजान आफूले उम्मेदवारी दिएको बताउने श्रेष्ठले सदस्यहरूलाई मजबुत रूपमा संगठित गरी नयाँ जोश र सक्रियता तर्फ लम्काउन जरुरी रहेको बताए।
सबै सदस्यहरूले पाउने सेवाहरू सूचारु रूपले प्रदान गर्न, सबै वर्गका सदस्यहरूले महासंघले आफूहरू प्रति सम्मान व्यवहार गरेको महसुस गराउन, कुनै व्यक्ति, वर्गवाद वा समूहको स्वार्थ पूर्तिको माध्यम बन्ने अवस्था आउन नदिन आफूले जिल्ला नगर उपाध्यक्षमा उम्मेदवारी दिएको श्रेष्ठले बताए।
जिल्ला नगर उद्योग वाणिज्य संघहरूको भूमिकालाई सक्रिय बनाउनु पर्नेमा जोड दिएका उनले हरेक जिल्ला तथा नगरका उद्योगी व्यवसायीसँग भएको निरन्तरको भेटघाट तथा छलफलले महासंघमा यथास्थानमा उम्मेदवारी दिएको उनको भनाइ छ।
‘विगत छ सात वर्षदेखि जिल्ला तथा नगरसँग प्रत्यक्ष रूपमा संलग्न हुने अवसर पाएँ। साथीहरूले परिपक्क निर्णय गर्दै स्थानीय उद्योग व्यवसायलाई बुझेर नेतृत्वमा आउन दिएको आदेशले नै मैले उम्मेदवारी दिएको हो,’ श्रेष्ठले भने, ‘जिल्ला नगरमा रहेका उद्योग वाणिज्य संघले उद्योगी व्यवसायीलाई सिमित सेवा दिन सकिरहेको अवस्था छ। त्यहाँका साना ठूला समस्याहरू सरकार समक्ष पुर्याई समाधान गर्न सक्षम केन्द्रीय नेतृत्व हुनु जरुरी भएको साथीहरूको आग्रहलाई शिरोधार्य गर्दै उम्मेदवारी दिएको हुँ।’
जिल्ला नगरका उद्योगी व्यवसायीका समस्या तथा जिल्ला नगर उद्योग वाणिज्य संघको सशक्तीकरणमा जोड दिँदै प्रत्यासी श्रेष्ठले महासंघमा आफूले धेरै काम गर्न बाँकी रहेको बताए।
कुनै पनि कम्पनी दर्ताका लागि संघले दिने सिफारिसदेखि आम्दानी सुनिश्चितताका साथै उत्पत्तिको प्रमाणपत्रको पैसा जिल्लाहरूले नपाउने समस्याका विषयमा आवाज उठाउने उनले प्रतिबद्धता जनाएका छन्।
पछिल्लो समय उद्योग व्यवसाय धरासायी अवस्थामा पुगेको भन्दै उनले बैंक वित्तीय संस्थाको ब्याजजदर, सहुलियत लगायत विषयमा समस्याको पहिचान गर्न जरुरी रहेको बताए।
ब्याजदर र बैंक वित्तीय संस्थाबाट उत्पन्न समस्याका विषयमा लामो समयदेखि आवाज उठाइरहेको बताएका उनले आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिने बताए।
प्रतिक्रिया दिनुहोस !
