रित्तो रथमा यौनका छिर्का

रित्तो रथमा यौनका छिर्का
सुन्नुहोस्

रत्नले यौनसम्बन्धी विषयलाई लिएर धेरै कथा लेखेका छन् र लेख्दै छन्। भेद, गन्ध र साइँलीको कुखुरी कथा रतिरागभन्दा फरक छन्।

कथाहरूमा मानवीय संवेदनामा यौनको प्रभाव र शारीरिक आवश्यकताले एकोहोरिएको सन्दर्भमा केन्द्रित कथाकार रत्न प्रजापति यतिबेला रित्तो रथ लिएर पाठकसामु हाजिर छन्। जसमा ३२ कथा छन्। गन्ध, साइँलीको कुखुरी, भेद, खर्पन, भुलाँजस्ता केही कथाबाहेक अरू सबैमा यौन चाहनाविपरीत देहप्रतिको एकोहोरो आकर्षण, कुण्ठा, रतिरागजन्य आवश्यकताको परिपूर्ति र अतृप्तिबाट उत्पन्न विकृति विषयक कुनै न कुनै प्रसंग छन्।

बिसन्चोदेखि रित्तो रथसम्मका सबै कथा संग्रहमा यौनले प्राथमिकता पाएको छ। कथाहरू कुनै न कुनै रूपमा नारी र पुरुषबीचको आकर्षण, प्रेममा शारीरिक सम्बन्धको प्रबल चाहना र त्यसको परिपूर्तिका लागि प्रयत्नरत हुनु, आकर्षण र चाहनाबाट शंका, कुण्ठा र अतृप्ति बढ्नु र त्यसका लागि समग्र  परिवेश नै यौनकेन्द्रित छन्।

रतिरागको चाहना, परिपूर्ति, अतृप्ति, विकृति र दुर्बलता सबै उमेरका व्यक्तिमा रहेबाट यो मानवीय पक्षको अत्यावश्यक विषय हो कि भन्ने छनक पनि दिन्छ। रित्तो रथ, म्यादी, घुँक्कघुँक्क, हाइफाइभ, भाँडो, संकेत, जाडो  :  जिजीविषा, मन : ताप, उकुसमुकुस, त्यो रात र सविरा आदि कथामा प्रेमको कोमलता विपरीत लिंगीप्रतिको आकर्षण, सामाजिक जीवनको लागि शारीरिक सम्पर्कको आवश्यकता, खाते बालबालिकामा बढेको यौन उच्छृंखलता, पेटको आगो निभाउन देह व्यापारसम्म पुगेको शृंखला आदि विषय प्रबल रूपमा उठाइएका छन्। रित्तो रथ र म्यादीमा युवायुवतीबीच बाहिरी आकर्षण र एकोहोरो प्रेमको परिणति देखाइएको छ। रित्तो रथमा पाटनको जात्रा मच्छेन्द्रनाथको रथ तान्ने क्रममा आँखा जुधेपछि एकअर्कोमा सुरु भएको आकर्षण जात्राकै क्रममा टुट्छ। यस विषयलाई कथाकार रत्नले सांस्कृतिक परिवेशमा किसानी जीवनको चित्रण पनि गरेका छन्। 

प्रस्तुतिका दृष्टिले म्यादीमा भन्दा रित्तो रथको विषय र परिणति स्वाभाविक छ। सांस्कृतिक परिवेश तथा पुरुष र नारीबीचको स्वाभाविक यौन मनोविश्लेषणले रित्तो रथ कथा सहज र संवेगपूर्ण पनि छ। भाँडो, टाँक र संकेतमा पुरुष र नारी पात्रहरूको यौन मनोविज्ञान र प्रतीकको 
प्रयोग प्रभावकारी छ।

अन्तिम काम, घुँक्कघुँक्क, उपदेश, भालेको रस, सपनाको अवसान र मान्छेको स्वाद आदि कथाहरू यौनमा मात्र केन्द्रित छैनन्। समाजमा बाँच्न पैसाको आवश्यकता, रोजगारको लागि बिदेसिनु पर्नेको बाध्यता र तिनका नियति, गरिबीले उत्पन्न गरेको समस्या र अधिक पैसा भएपछि त्यसबाट मोजमस्ती गर्ने लत बस्नुजस्ता आर्थिक उपार्जन र सामाजिक मर्यादासित जोडिएर आउने प्रेम र यौनका विविध सन्दर्भ छन्। मान्छेको स्वाद र सपनाको अवसानमा वैदेशिक रोजगारमा जानेको दु : खद् नियति र तिनका परिवारमा आएको मर्यादाहीनतालाई समेत विषय बनाइएको छ। अन्तिम काम कथामा पनि गरिबीकै एउटा चित्र छ तर अलि फरक रूपमा। गरिबीले ग्रस्त एउटी महिलाले दिनभर अरूकहाँ काम गरेर पनि सुख पाउँदिन, एकछिन आराम गर्न पाउँदिन। अनिच्छामा समेत घरमा लोग्नेको इच्छापूर्ति गदिदिनुपर्ने संवेदनालाई प्रभावकारी रूपमा उठाइएको कथा हो, अन्तिम काम।

धमिलो तस्बिर, सजाय, उपदेश, रंगीन बाफ, सामाजिक तन्नेरी सुरक्षित तरुनी आदि कथामा पनि यौन जीवनका केही फरक परिवेश र फरक प्रसंगलाई उजागर गर्ने प्रयास देखिन्छ। यहाँ कथाहरूमा वर्णित घटनालाई हेर्दा तिनमा थोरबहुत यथार्थ होला तर कथाकारले जीवनका विविध सन्दर्भलाई पर्गेलेर हेर्नुभन्दा पनि केवल यौनलाई मात्र परिलक्षित गर्ने उद्देश्य राखेको हो कि भन्ने देखिन्छ। कथाकारले केही कथा सांस्कृतिक र स्थानीयपनको पहिचान झल्किने गरी लेखेका छन्। तलमाथि, अर्कै घरबाट, रित्तो रथ, भुलाँ, खर्पन आदि सांस्कृतिक र स्थानीय परिवेशले युक्त कथा हुन्। 

किसानी परिवेशमा लेखिएका कथा तलमाथि र अर्कै घरबाटमा प्रेम र शारीरिक सम्पर्कको एउटा एउटा पक्षलाई प्रस्तुत गरिएको छ। खर्पन र भुँलामा भने रतिरागको कुनै सन्दर्भ छैन। खर्पन कथामा केही समयअगाडि सरकारले गुठीबारे ल्याएको विधेयकले सिर्जना गरेको अन्योल र भ्रमको विषय छ। भुलाँमा खेतीकर्म गर्नेले परम्परालाई धान्न मृतकको नाउँमा कुनै बेला छुट्ट्याएको जग्गा पछि जग्गाअभाव हुँदै जाँदा दाजुभाइको विवादको विषय बनेको कथा छ। यसमा मिलेर कृषिकर्म गरिरहेका किसानहरू समयक्रममा भौतिक सम्पत्तिका लागि कसरी अतिक्रमण र विग्रहतर्फ धकेलिएका छन् भन्ने देखाइएको छ। 

कथाकार रत्नले यौनसम्बन्धी विषयलाई लिएर धेरै कथा लेखेका छन् र लेख्दै छन्। भेद, गन्ध र साइँलीको कुखुरी कथा रतिरागभन्दा फरक छन्। लोभ, लालच र अति व्यावसायिकताले मानवीय संवेदना हराएर स्वार्थ र अवसरको फाइदा हाबी भएको विषयलाई साइँलीको कुखुरी कथामा उपयुक्त तरिकाले प्रस्तुत गरिएको छ। विषय र व्यंग्यका दृष्टिले भेद र गन्ध कथा निकै प्रभावकारी छन्। शैक्षिक क्षेत्रमा समेत भ्रष्टाचार मौलाएको भिन्न विषयको कथा हो भेद। कथाको अन्तिम पंक्ति ‘मुर्दाघरबाट पुलिस, प्रशासन र न्याय कुहिएको गन्ध आइरहेको थियो’ लेकथालाई उत्कृष्ट बनाएको छ।

कथाकार रत्नले जुनै विषय वा घटनालाई आख्यानको संरचनामा ढाले पनि त्यसमा यौनको सन्दर्भ कुनै न कुनै रूपमा आएकै हुन्छ। यो उनको लेखकीय विशेषता हो। उही र उस्तै सन्दर्भका घटनाले गर्दा नयाँपनको केही अभाव र विषयगत पुनरुक्तिको दोष देखिन्छ। कथामा भाषा सरल र सहज लाग्छ। केही कथाको संरचना र शैलीमा ध्यान नदिँदा अप्रभावी हुन पुगेको छ। केही कथाको प्रस्तुति र संरचनामा नयाँपनको अभाव र शैली कमजोर छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.