मुस्ताङमा एमालेको मिसन ग्रासरुट, बौद्ध कलेज निर्माणको विषयलाई विवादित नबनाउन आग्रह

मुस्ताङमा एमालेको मिसन ग्रासरुट, बौद्ध कलेज निर्माणको विषयलाई विवादित नबनाउन आग्रह
सुन्नुहोस्

जोमसोम : नेकपा एमाले मुस्ताङको मिसन ग्रासरुट अभियान शनिबारदेखि सुरु भएको छ। ग्रासरुट अभियानको गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले उद्घाटन गरे। अभियानको उद्घाटन गर्न मुख्यमन्त्री अधिकारी हवाईमार्गबाट जोमसोम आएका हुन्। 

उनीसँगै एमाले केन्द्रीय सदस्य एवं विदेश विभाग उपप्रमुख कृष्ण केसी र केन्द्रीय सदस्य नवराज पौडेल पनि मुस्ताङ आएका हुन्। मुस्ताङका नेता कार्यकर्ताहरूले बौद्ध कलेज निर्माण गर्ने विषयलाई लिएर केही हप्ताअघि पार्टी अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्तिलाई लिएर चर्को आलोचना गरेका छन्।

मुख्यमन्त्री अधिकारीले कार्यक्रम र अभियानको औचित्यमाथि संक्षिप्त जानकारी गराएलगत्तै एमाले गण्डकी प्रदेश कमिटी सदस्य एवं लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले पार्टी अध्यक्ष ओलीले मुस्ताङमा यतार्थता र वास्तविकता अध्ययन नगरी बौद्ध कलेज स्थापनाका विषयमा विवादास्पद अभिव्यक्ति दिएकोप्रति रोश प्रकट गरे। 

‘मुस्ताङका बौद्ध स्कुलमा माध्यमिक तहको पढाइ हुन्छ। त्योभन्दा माथिको उच्च शिक्षा अध्ययन गर्न भारत र काठमाडौं जानुपर्छ। यहीँ कलेज भइदिए यहाँका बौद्धमार्गी विद्यार्थीलाई उच्च शिक्षा अध्ययन गर्न निकै सहज हुन्थ्यो,’ उनले भने। 

बौद्ध संघको सिफासिसमा मुस्ताङमा बौद्ध कलेज निर्माण गर्न वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले समन्वय गरेको थियो। कलेजको विषयमा नकारात्मक समाचार र अभिव्यक्ति आएपछि सो गाउँपालिकाका अध्यक्षले चर्को आलोचना थेग्न परेको थियो। 

मिसन ग्रासरुट अभियानमा सो पालिकाका अध्यक्ष रिङझिङ नाम्गेल गुरुङले विश्व विद्यालयका विषयमा यथार्थभन्दा नियोजित प्रसार भएको बताए। मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले स्थानीय बौद्धमार्गी विद्यार्थी अध्ययन गर्ने उद्देश्यले बौद्ध कलेज खोल्न सहयोग सिफारिस गरेको उल्लेख गरे। वारागुङको फल्याक निषेधित क्षेत्रभित्र नपर्ने र खम्पाले विद्रोह गरेको ठाउँ नभएको प्रष्ट्याए।

पार्टी विदेश विभाग उपप्रमुख केसीले एमालेविरुद्ध राष्ट्रिय र अन्तर्राष्ट्रिय शक्ति लागिपरेको बताए। उनले एमालेले ग्रासरुटसम्म आफ्नो संगठन विस्तारका लागि अभियान सञ्चालन गरेको र यसले कार्यकर्ता पंक्तिलाई थप ऊर्जा प्रदान गर्ने बताए। 

भौगोलिक जैविक विविधता र कलासंस्कृति र सम्भयताले मुस्ताङ जिल्ला अन्य जिल्लाभन्दा विशिष्ट जिल्ला रहेको उल्लेख गर्दै केन्द्रीय सदस्य केसीले यहाँको वास्तविकता र तमाम कार्यकर्ताको भावना बोकेर साक्षात्कार गर्दै अभियानलाई फलदायी बनाइने बताए। त्यस्तै पौडेलले जनताको घरदैलोमा जनताको मन जित्न ग्रासरुट अभियानले योगदान पुर्‍याउने बताए।

मुख्यमन्त्री अधिकारीले बौद्ध कलेज स्थापना गर्ने भनिएको जग्गाको स्थलगत अवलोकन गरे। वडाध्यक्ष सुरेन्द्र गुरुङले पार्टी नेतृत्वले दिएको अभिव्यक्तिले आफूहरुको भावनामा निकै ठुलो ठेस पुगेको बताए। उनले मुस्ताङको बौद्ध कलेजका विषयमा जे-जति चर्चामा आए ती सबै सत्य नभएको र पार्टी नेतृत्वलाई गल्ती सच्याउन अनुरोध गरे।

बौद्ध कलेज स्थापना गर्ने भनिएको जग्गा करिब ७ घरधुरीको निजी जग्गा हो। उनीहरूले कलेज खोल्न मुस्ताङ शाक्य बौद्ध संघलाई दान दिएका थिए। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.