असिनापानीसहितको हावाहुरीले झापामा एक महिलाको मृत्यु, करोडौंको क्षति

असिनापानीसहितको हावाहुरीले झापामा एक महिलाको मृत्यु, करोडौंको क्षति
सुन्नुहोस्

शनिबार बिहान आएको हावाहुरीले दमक नगरपालिका ४ की ४० वर्षीया सिलाइ धिमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए।

झापा : असिनापानीसहित आएको हावाहुरीले झापामा जनधनको क्षति भएको छ। हावाहुरीले दमकमा एक महिलाको मृत्यु भएको छ भने घर तथा उद्योगको छानो भत्किँदा र अन्नबाली नष्ट हुँदा करोडौँ मुल्य बराबरको क्षति भएको छ। 

शनिबार बिहान आएको हावाहुरीले दमक नगरपालिका ४ की ४० वर्षीया सिलाइ धिमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए। 

तारावारीको अर्नाखाडीमा भाँचिएको रुखको हाँगा तान्ने क्रममा सोही हाँगाले लागेर धिमाल घाइते भएकी थिइन्। घाइते भएकी धिमाललाई उपचारका लागि विराट नर्सिङ अस्पताल विराटनगरमा लगिएको र उनको सोही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको डीएसपी रिजालले बताए। 

डीएसपी रिजालका अनुसार शुक्रबार साँझ र शनिबार बिहान आएको हावाहुरीले जिल्लाभरि करोडौँ मुल्य बराबरको क्षति भएको छ। कृषि बालीसँगै टिनको छानो भएका उद्योगहरूमा व्यापक क्षति भएको उनले बताए। भद्रपुर ६ स्थित जगदम्बा चिया फ्याक्ट्रीको जस्तापाताको छाना उडाउँदा ६ लाख, बिर्तामोड नगरपालिका २ स्थित पाथीभरा प्लाइ एन्ड इन्ड्रष्ट्रिजको फेस स्टकमा क्षति पुर्‍याउँदा एक करोड, ६० लाखको तयारी प्लाइउड, ३५ हजारको कोर फाली, एक करोड २५ लाखको ट्रस डेमेज (टिन सहितको घर) गरी तीन करोड २० लाखको क्षति भएको छ।  

बिर्तामोड नगरपालिका २ स्थित चैतुबारीको नमस्ते प्लाई एन्ड ईन्ड्रष्ट्रिजमा तयार रहेको प्लाईहरु फेस पत्ता, कम्प्रेशर मेसिन, कोर पत्ता, फाइबर सिट, टिनसहितको वाल, सिसी क्यामेरा लगायत अन्य सामानसहित गरी ७० लाख, बिर्तामोड २ स्थित मनकामना टोलमा रहेको कन्चनजंघा सिमेन्ट उद्योगको टिनको छानो उडाइ त्यसको गोदामभित्र रहेको किलिङकर (कच्चापदार्थ) फलारास, तयारी सिमेन्ट गरी ६ करोड, बिर्तामोड नगरपालिका २ स्थित अन्बे भवानी प्लाइ उद्योगको ९५ लाख र बिर्तामोड नगरपालिका २ स्थित  कनकाइ प्लाई उद्योगको १४ करोड एक लाख बराबरको क्षति भएको डीएसपी रिजालले बताए।  

उद्योग तथा कलकारखानामा भएको क्षतिको विवरण संकलन जारी रहेको उनको भनाइ छ। 

बिर्तामोड ३ स्थित मुसहर बस्तीमा चार वटा घर हावाहुरीले भत्काएको छ। स्थानीय सन्तोष ऋषिदेव, राजेन्द्र ऋषिदेव, सञ्जय ऋषिदेव र मनु ऋषिदेवको भत्काएको हो। उनीहरूको टिनको छाना भएको बाँसको घरको छानो उडाएको प्रहरीले जनाएको छ। हावाहुरीका कारण अधिकांशको चर्पीसमेत भत्किएको छ। 

अन्जु चौधरी, मनु ऋषिदेव, सुरज ऋषिदेव, सम्झना मुर्मूलगायतको चर्पी भत्किएको हो। बिर्तामोड– ३ का मुसहरसँगै बिर्तामोड– १० विराट पोखरका विपन्न मुसहर बस्तीका घर पनि भत्किएको जनाइएको छ। ठुलठुला असिना पर्दा अधिकांशको छानो प्वाल समेत परेको जनाइएको छ। 
यता असिनापानीसहित आएको हावाहुरीले जिल्लाभरि ३ देखि ४ हजार हेक्टर क्षेत्रफलमा लगाइएको अन्नबालीमा क्षति पुग्न सक्ने अनुमान गरिएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिए। 

कनकाई नगरपालिकामा मात्रै ११ देखि १२ सय हेक्टर जमिनमा लगाइएको अन्नबालीमा क्षति पुगेको तथ्याङ्क संकलन भइसकेको जानकारी गराउँदै उनले भने, ‘अन्य पालिकाहरूमा के कति क्षति भयो ? त्यसको विवरण संकलन कार्य धमाधम भइरहेको छ।’ असिनापानी र हावाहुरीले तरकारी, मकै, खरबुजा, आँप, लिची लगायतको अन्नबालीमा ठुलो क्षति पुर्‍याएको छ। जिल्लाभरि ४० हजार हेक्टर जमिनमा मकै लगाइएको छ। 
‘अन्नबालीमा क्षति पुगेका किसानलाई राहत उपलब्ध गराउने केन्द्रसँग कुनै कार्यक्रम छैन, सरकारले निर्णय गरेर राहत उपलब्ध गराए मात्र किसानले क्षतिपूर्ति पाउन सक्छन्,’ उनले भने। 

त्यस्तै हावाहुरीले विद्युत्, केवल, टेलिफोन क्षेत्रमा पनि ठुलो क्षति पुर्‍याएको छ। नेपाल विद्युत् प्राधिकरण भद्रपुर वितरण केन्द्रका प्रमुख राजमणि बजगाईंका अनुसार हावाहुरीले ११ हजार भोल्टेजको चार वटा र एलटी लाइनको १० वटा गरी १४ वटा बिजुलीको पोल ढालेको छ। त्यस्तै करिब दुई किलोमिटर बिजुली तार चुँडाएर सेवा अवरुद्ध गरिएको उनले बताए। ‘अहिले पनि क्षतिको विवरण संकलन कार्य भइरहेको छ,’ उनले भने, ‘करिब २० लाख रुपैयाँ बराबरको क्षति भएको छ। ’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.