पूर्वी सिक्किमको छोम्गोमा भीषण हिमपहिरो, कम्तीमा सात जनाको मृत्यु
झापा : भारतको पूर्वी सिक्किमको छोम्गोमा भीषण हिम पहिरोमा परी कम्तीमा सात जना पर्यटकको ज्यान गएको छ।
मृतकहरूको सनाखत हुन बाँकी रहेको सिक्किम प्रहरीले जनाएको छ। जसमा चार पुरुष, एक महिला र एक शिशु रहेका छन्।
हिमपहिरोमा परी घुम्न गएका कैयौँ पर्यटकहरू फसेका छन्। उनीहरूको उद्धार कार्य जारी रहेको भारतीय सञ्चारमाध्यमले जनाएको छ। मंगलबार बिहान ११ बजेर १० मिनेटमा १७ औं माइल नजिकैको गान्तोक नातुला जेएनएम रोडमा हिमपहिरो खसेको थियो।
त्सोमगो ताल नजिकै हिम पहिरो खस्दा नाटुला जाने क्रममा २० देखि ३० पर्यटकसहित आधा दर्जन सवारीसाधन हिउँमुनि पुरिएको आशङ्का गरिएको छ।
उद्धार कार्यमा त्रिशक्ति कोर्प्स, भारतीय सेना र बीआरओ परियोजना स्वस्तिकको टोली खटाइएको छ। हिमपहिरोबाट ६ स्थानीयसहित २३ पर्यटकको उद्धार गरी भारतीय सेनाको नजिकैको स्वास्थ्य संस्थामा उपचारका लागि ल्याइएको छ।
साथै सडकबाट हिउँ हटाएर त्यहाँ अलपत्र परेका ३५० पर्यटक र ८० सवारी साधनको उद्धार गरिएको भारतीय सञ्चारमाध्यमले जनाएको छ।