उपल्लो मुस्ताङमा भेटियो संरक्षित पाहान बिरालो
जोमसोम : उपल्लो मुस्ताङमा बिहीबार दुर्लभ संरक्षित वन्यजन्तु पाहान बिरालो अर्थात (लिङ्क्स) भेटिएको छ।
राष्ट्रिय प्रकृति संरक्षणकोष, अन्नपूर्ण संरक्षित क्षेत्र आयोजना अन्तर्गत उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड-३ को जोमसोम-कोरला राजमार्गको झो खोला नजिक संरक्षित वन्यजन्तु पाहान बिरालो भेटिएको हो।
झन्डै एक दशक अघि यो प्रजातिको संरक्षित वन्यजन्तु उपल्लो मुस्ताङमा देखिएको दावी गरिए पनि यसपटक भने लोमान्थाङ-५ छोदे गुम्बाका लामा झ्यम्ब ग्यचो गुरुङले संरक्षित पाहान बिरालोको केही तस्बिर र १५ सेकेन्डको भिडियो खिचेका छन्। उनले भेटिएको संरक्षित वन्यजन्तु पाहान बिरालोको भिडियो सामाजिक सञ्जालमा समेत राखेका छन्।
बिहीबार पोखराबाट बेनी-जोमसोम-कोरला सडक हुँदै सवारी साधन मार्फत लोमान्थाङ जाँदै गरेका ग्यचोले कोरला सडकभन्दा माथि भिरालो स्थानमा दिउँसो ४ बजेको समयमा पाहान बिरालो देखेका हुन्।
उनले दुर्लभ संरक्षित पाहान बिरालोको भिडियो र तस्बिर मोबाइलबाट खिचेका हुन्। उनले यात्रा गर्ने क्रममा संरक्षित पाहान बिरालो अर्थात लिङ्क्स देखेर गाडी रोकेर भिडियो खिचेको जानकारी दिए।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ ले यो प्रजातिको संरक्षित पाहान बिरालोलाई संरक्षित वन्यजन्तुमा सूचीकृत गरेको एक्याप जोमसोमका कार्यालय प्रमुख अशोक सुवेदीले जानकारी दिए।
उनका अनुसार धेरै वर्ष पहिला यो प्रजाति उपल्लो मुस्ताङमा भेटिएको भएपनि त्यसपछि यो प्रजाति सार्वजनिक रूपमा देखा परेको थिएन।
समुन्द्री सतहदेखि २७५० मिटरदेखि ५००० हजार मिटर अग्लो उचाइमा संरक्षित पाहान बिरालोको मुख्य बासस्थान रहने गर्छ। घाँस र बुट्यान क्षेत्रहरूमा पाइने यो प्रजाति गुफा र चट्टानको दुलाहरूमा बस्छ। नेपालमा यो प्रजाति उपल्लो मुस्ताङ र ढोर पाटन सिकार आरक्षणमा पाइन्छ। यो फेलिडी परिवारको प्रजाति हो।
यसले खरायो, साना स्तनधारी प्राणी, चरा आदि आहार गर्छ। कहिलेकाही आहारा नपाउँदा भेडा च्यांग्रा समेत मारेर खाइदिन्छ।
उच्च हिमाली भेगमा पाइने बिरालो प्रजातिमध्येको दोस्रो ठूलो मानिने पाहान बिरालो (लिङ्क्स) नेपालको संरक्षित दुर्लभ प्रजाति अन्तर्गत पर्दछ। नेपाल बाहिर उत्तर अमेरिका, युरोप र एसियामा पाइने गर्छ।
उच्च हिमाली क्षेत्रमा पाइने बिरालो प्रजातिको पाहान बिरालोको औसत आयु २० सम्म हुन्छ। एक वयस्क पाहान बिरालोको शरीरको लम्बाइ ८५ सेमीदेखि ९० सेमीसम्म हुने गर्छ भने अग्लाई १० सेमीसम्म हुन्छ। पाहान बिरालोको पुछारको लम्बाई १८ देखि २३ सेमी सम्म हुने गर्छ।यसको तौल बढीमा २७ केजीसम्म हुन्छ।
कानको टुप्पामा ठाडा ठाडा रौं हुन्छन् भने ती रौंका टुप्पा कालाकाला रंङको हुन्छ। रौंले गर्दा नै अन्य बिरालो प्रजातिबाट यसको पहिचान गर्न सजिलो हुन्छ। छोटो पुच्छर र लामा खुट्टाहरू भएकाले यो प्रजाति बलियो हुन्छ।