बझाङको बयानाको बर्थिङ सेन्टरमा लगाइएको ताला ४ वर्षपछि खुल्यो

बझाङको बयानाको बर्थिङ सेन्टरमा लगाइएको ताला ४ वर्षपछि खुल्यो
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

बझाङ : खप्तडछान्ना गाउँपालिका वडा नं.६ बयानामा विवादका कारण ४ वर्षदेखि बन्द भएको बयाना बर्थिङ सेन्टर सञ्चालनमा आएको छ । तत्कालिन पाटादेवल गाविसबाट २ लाख ३१ हजार र गाउँपालिकाको १० लाखको लागतमा निर्माण गरिएको उक्त बर्थिङ सेन्टर उद्घाटन नहुँदै विवादका कारण बन्द भएको थियो । 

गाउँमा छलफल नै नगरेर जानकारी बिना नियम विपरित बर्थिङ सेन्टर सञ्चालन गरेको र जग्गादातालाई कार्यालय सहयोगी राख्नुपर्ने माग राख्दै २०७६ कार्तिक महिनामा बर्थिङ सेन्टरमा तालाबन्दी गरिएको थियो । सञ्चालनको तयारीमा रहेको बर्थिङ सेन्टरमा तालाबन्दी गरेपछि लाखौं रकमका भौतिक तथा स्वास्थ्य सामग्री प्रयोगविहीन बन्नुका साथै बर्थिङ सेन्टरको झ्याल ढोकासमेत तोडफोड भएका थिए । 

बर्थिङ सेन्टर निर्माणपछि जम्मा दुई दिन मात्रै सञ्चालनमा आएको थियो । उद्घाटन र औषधि खरिद् गरी संचालनमा आएको सेन्टर तेस्रो दिनदेखि जग्गादाता झुरु थापाले ताला लगाएका थिए । निवर्तमान् महिला सदस्य कृष्णादेवी थापाका अनुसार बर्थिङ सेन्टर बन्द भएपछि गाउँका गर्भवती र सुत्केरी महिला मारमा परेका छन् । बर्थिङ सेन्टर बन्द भए यता गाउँका एक दर्जन बढी गर्भवतीले बीच बाटो मै बच्चा जन्माउन बाध्य भएका थिए।

लामो समयदेखि गाउँमा बर्थिङ सेन्टर अलपत्र परेको र सुत्केरीको समस्या यथावत रहेको गुनासो आएपछि गाउँपालिकाले सोमबार स्थानीयसँग समन्वय गरेर बर्थिङ सेन्टर सञ्चालनमा ल्याउने निर्णय गरेको हो । 
सोमबार खप्तडछान्ना गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष तेजबहादुर खड्काको अध्यक्षतामा बर्थिङ् सेन्टर सञ्चालनको विषयमा छलफल गरिएको बताइएको छ ।

बर्थिङ सेन्टर निर्माण गर्नुअघि जग्गादाताको घरबाट एकजनालाई जागिर दिने सहमतिअनुसार कुरा मिलेपछि ताला खोलिएको खप्तडछान्ना गाउँपालिका उपाध्यक्ष विष्णु थापाले बताए ।

गाउँपालिका उपाध्यक्ष थापाले भने,‘जग्गादाता र स्थानीयले पहिले नै जग्गादान गरे वापत जग्गादाताको घरबाट एकजनालाई रोजगारी दिने भनिएको रहेछ तर बर्थिङ् सेन्टर निर्माणपछि अर्कैलाई रोजगारी दिएपछि  जग्गादाता झुरु थापाको परिवारले तालाबन्दी गरेको रहेछ । '

'प्रदेश सरकारले फेरि त्यही वर्थिङ् सेन्टरकै छेउमा आवास गृह निर्माण गरेछ त्यहाँ पनि तालाबन्दी भएको रहेछ । सोमबार हामीले छलफल गरेर पुरानै सम्झौता अनुसार जग्गादाताको घरका सदस्यलाई कर्मचारी बनाउने निर्णय गरेर ताला खोलेका छौं । अब सहज हुन्छ,'उनले भने।

खप्तडछान्ना गाउँपालिका उपाध्यक्ष विष्णु कुमार थापा, सम्पूर्ण वडाका वडाध्यक्ष र स्थानीयको रहोवरमा बयाना बर्थिङ सेन्टर सञ्चालन गर्ने सहमति भएको वडाध्यक्ष तेज बहादुर खड्काले जानकारी दिए । गाउँमा सुत्केरी व्यथा लागेका महिलालाई बोकेर टाढा रहेको स्वास्थ्य संस्थामा लिनुपर्ने बाध्यता रहेकोमा अब गाउँमै बर्थिङ सेन्टर सञ्चालन भएपछि सहज हुने स्थानीयले अपेक्षा गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.