सुदूरपश्चिमकै पहिलो बालश्रम मुक्त वडा घोषणा

डोटी : डोटीको दिपायल सिलगढी नगरपालिका वडा नम्बर ५ बालश्रम मुक्त वडा घोषणा भएको छ। यो डोटीको मात्रै नभएर सुदूरपश्चिम प्रदेशकै जम्मा सात सय ३४ वडामध्ये पहिलो बालश्रम मुक्त वडा घोषणा भएको हो।
सबै प्रक्रिया पुरा गरेर बालश्रम मुक्त वडा घोषणा भएको हो। नगरपालिकालेनै बालश्रम मुक्त नगर बनाउने उद्देश्यले २०७५ देखिनै विभिन्न अभियानहरु सञ्चालन गर्दै आइरहेको थियो । सोही अनुरुप बुधबार वडा नम्बर ५ घोषणा भएको हो।
घोषणा सभाका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मणबहादुर सिंहले बालश्रम मुक्त वडा भएको भन्दै घोषणा गरेका थिए। नेपालको कानुन अनुसार १८ वर्ष मुनीकालाई बालबालिका जनाइए पनि १४ वर्षमुनिका बालबालिकालाई कुनै पनि श्रममा लगाउन पाइँदैन। १४-१८ वर्षका बालबालिकालाई बिहान ६ बजेदेखि बेलुकीको ६ बजेको बीचमा बढीमा ६ घण्टामात्रै काम गर्न दिइने र काम गर्नको लागि कुनै किसिमको दबा दिन नपाइने भनिएको छ।
दिपायल सिलगढी नगरपालिकाको वडा नम्बर ५ मा सात सय ६१ बालिका र छ सय ८४ जना बालक गरी जम्मा एक हजार चार सय ४५ जना बालबालिका रहेका छन्। जसमा वडाभित्रका तीन सय ७२ जना बालबालिकाहरुले पोषण भत्ता पाइरहेका छन्।
बालश्रम मुक्त वडा घोषणापूर्ब वडामा विभिन्न किसिमका अभियान सञ्चालन गरिएका थिए। श्रमिक बालबालिकाहरुको तथ्यांक संकलन गर्नेदेखि बालश्रमिक राख्नेविरुद्ध खबरदारीसमेत गरिएको बताइएको छ। वडाभित्र उद्दार गरिएका श्रमिक बालबालिकाहरूलाई शिक्षण सामग्री सहयोगका साथै आवासीय विद्यालय भर्ना समेत गरिएको थियो।
वडामा कुपोषित बालबालिका र बाल मृत्यदर रहेको छैन। यस वडामा बालबिवाह दर शून्य रहेको र जन्मदर्ता शत प्रतिसत रहेको वडा अध्यक्ष गणेशबहादुर भण्डारीले जानकारी दिएका छन्। वडामा बालश्रमिक मुक्त घरधुरीमा हरियो झण्डा गाड्ने अभियानसमेत सञ्चालन गरिएको अध्यक्ष भण्डारीले बताए।
बालश्रम मुक्त वडा घोषणा कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख सिंहले यस वडाले गरेको कामलाई सबै वडाहरुले अनुसरण गर्दै जिल्लाका अन्य वडाहरूसमेत बालश्रम मुक्त वडा घोषणा हुनपर्ने बताए।
दिपायल सिलगढी नगरपालिकामा यनिसेफको सहयोगमा बालश्रमविरुद्धका विभिन्न अभियानहरु सञ्चालन हुँदै आइरहेका छन्। छिट्टै नगरपालिकाका सबै वडालाई बालश्रम मुक्त वडा घोषणा गरेर नगरपालिकालाई नै बालश्रम मुक्त नगर घोषणा गरिने नगर प्रमुख बाजीसिं खड्काले बताएका छन्।
हामी जसरी बालश्रम मुक्त वडा घोषणामा सुदूरपश्चिमको पहिलो भएका छौं, त्यसरीनै बालश्रम मुक्त नगर घोषणामा पहिलो हुने नगरप्रमुख खड्काले बताए। नेपालमा पछिल्लो तथ्यांकअनुसार ५-१७ वर्षका बालबालिकामध्ये १५.३ प्रतिशत बालबालिका श्रममा लगाइएका छन्।
प्रतिक्रिया दिनुहोस !
