हतियारसहित एक जना पक्राउ
बर्दिबास : महोत्तरीमा हतियारसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा महोत्तरीको बर्दिवास नगरपालिका–१४ नमुना बस्तीका ४९ वर्षीय गणेश बहादुर मगर रहेको प्रहरीले जनाएको छ।
बिहीबार दिउँसो बर्दिवास नगरपालिका–८ स्थित रहेको सागरनाथ वन विकास परियोजना अन्तर्गत पर्ने हात्तिलेटको वन व्यवस्थापन शाखाको जंगलमा केही मानिसहरू जंगली जनावरको सिकार गरिरहेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बर्दिवासबाट खटिएको प्रहरी टोलीले उनलाई हतियारसहित पक्राउ गरेको हो।
केही व्यक्तिहरू सिकार खेल्दै गरेको अवस्थामा प्रहरीलाई देखेर भरुवा बन्दुक २ थान समेत वन जंगलको झारीमा फाली भाग्दै गरेको अवस्थामा मगर पक्राउ परेको महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिलीप कुमार गिरीले जानकारी दिए। उनका अनुसार अर्का एक जना महोत्तरीको बर्दिवास नगरपालिका–१४ नमुना बस्ती बस्ने ३५ वर्षीय अविचन सदा फरार भएका हुन्।
पक्राउ परेका मगरसँग हातहतियारका बारेमा सोधपुछ गरी खोज तलास गर्ने क्रममा वनमाराको झारी भित्र फाइरिङ भइसकेको भरुवा बन्दुक १ नाल र तयारी हालतमा लोड भएको भरुवा बन्दुक १ नाल र सो भरुवा बन्दुकहरूमा प्रयोग हुने बारुद, फलामको छर्राहरू, सलाईको बट्टा काटी, कपडाको टुक्राहरू समेत फेला परेको छ।
तयारी अवस्थामा रहेको भरुवा बन्दुकलाई डिस्पोज गरी ती हातहतियारहरू बरामद गरी मगरलाई इलाका प्रहरी कार्यालय बर्दिबासमा राखेर अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक गिरीले जनाए।