जलविद्युत्को स्वर्णयुग
यता, ७० को दशकमा प्राधिकरणद्वारा निर्मित तीन ठूला आयोजना राष्ट्रिय प्रसारणमा जोडिएका छन्। चमेलिया ४० मेगावाट, त्रिशूली थ्री ए ६० मेगावाट माथिल्लो तामाकोसी जलविद्युत् आयोजना ४ सय ५६ मेगावाट राष्ट्रिय प्रसारणमा जोडिएका छन्।
काठमाडौं : मुलुकको पहिलो फर्पिङ जलविद्युत् आयोजना १९६८ सालमा बनेपछि नेपालमा जलविद्युत्को युग सुरु भएको हो। जलविद्युत् उत्पादनको १ सय २२ वर्षपछि विद्युत्जडित क्षमता करिब २५ सय मेगावाट पुगेको नेपाल विद्युत् प्राधिकरणको तथ्यांक छ।
यसमा पनि ७० दशक जलविद्युत्का लागि खास रह्यो। १८ घण्टासम्मको लोडसेडिङले आक्रान्त भएको यो दशकमा नै विद्युत् उत्पादन वृद्धि भई भारतमा निर्यातसम्म गर्न सफल भयो। दशकौंसम्म अन्धकारमा बस्न बाध्य भएको मुलुक २०७५ वैशाख ३१ गतेबाट लोडसेडिङ मुक्त भयो। २०७३ सालमा नेपाल विद्युत् प्राधिकरणको नेतृत्व कुलमान घिसिङले सम्हालेपछि सोही वर्षको कात्तिकको लक्ष्मीपूजादेखि काठमाडौं उपत्यका लोडसेडिङ मुक्त भएको थियो।
२०४९ सालमा सरकारको खुल्ला बजार नीतिपछि निजी क्षेत्र पनि विद्युत् उत्पादनमा अघि बढेको हो। समीक्षा दशकमा कुल विद्युत् उत्पादनमा निजी क्षेत्रको योगदान दुई तिहाइभन्दा बढी रहेको छ। यो अवधिमा निजी क्षेत्रबाट मात्रै करिब एक सय आयोजनाका करिब १५ सय मेगावाट राष्ट्रिय ग्रिडमा जोडिएको छ। २०७९ सालमा मात्रै निजी क्षेत्रद्वारा उत्पादित करिब ४ सय ९६ मेगावाट राष्ट्रिय ग्रिडमा जोडिएको छ।
यता, ७० को दशकमा प्राधिकरणद्वारा निर्मित तीन ठूला आयोजना राष्ट्रिय प्रसारणमा जोडिएका छन्। चमेलिया ४० मेगावाट, त्रिशूली थ्री ए ६० मेगावाट माथिल्लो तामाकोसी जलविद्युत् आयोजना ४ सय ५६ मेगावाट राष्ट्रिय प्रसारणमा जोडिएका छन्।
२०७० को दशकमा पहिलो अन्तरदेशीय प्रसारणलाइन ढल्केवर–मुज्जफपुर ४० केभी प्रसारणलाइन सञ्चालनमा आयो। यस्तै, आन्तरिक रूपमा नै विद्युत् प्रसारणका लागि आवश्यक खिम्ती ढल्केवर २२० केभी प्रसारणलाइन पनि यही दशकमा नै सञ्चालनमा आएको छ।
२०७८ सालको वर्षायाममा दैनिक करिब पाँच सय मेगावाटसम्म बिजुली खेर जाने अवस्था पनि सिर्जना भयो। २०७९ सालकोे वर्षाबाट भारतलाई बिजुली निर्यातको बाटो खुल्यो। २०७९ जेठबाट कात्तिकसम्म करिब ११ अर्बको बिजुली भारतलाई बेचिएको छ। तर, दशकौंदेखि चर्चामा रहेका पञ्चेश्वर बहुउद्देश्य आयोजना, बुढीगण्डकीलगायतका आयोजना भने यस अवधिमा बन्न सकेनन्।