समयावधि सकिएपछि पुल निर्माणले गति लियो
मुस्ताङ : जिल्लाको थासाङ–२ कोवाङ–सौरु जोड्ने कालीगण्डकी नदीमा निर्माणाधीन सस्पेन्सन पुलले गति लिएको छ।
काममा ढिलासुस्ती देखिएको भए पनि गत फागुन महिनादेखि पुल निर्माणको कामले तीव्रता पाएको हो। ठेक्का सम्झौता भई सम्पन्न अवधि सकिएको पुलको कामले तीव्रता पाएपछि स्थानीयवासी उत्साहित भएका छन्।
२०७७ साल वैशाखमा ३० महिनामा सम्पन्न गर्ने गरी सस्पेन्सन ब्रीज डिभिजन कार्यालयले पुलको इलाईट रुविना कन्ट्रक्सनसँग ५ करोड लागतमा ठेक्का सम्झौता गरिएको थियो।
सुरुआती चरणमा जेभीको रुपमा इलाईटले संस्पेन्स पुलको जिम्मा लिए पनि निर्माण कम्पनीको बेवास्ता र कोरोनाका कारण पुल निर्माणमा बिलम्व भएको थियो।
इलाईट र रुविना जेभीको जोईन ठेक्का सम्झौता भए पनि रुविनाले काम गर्न नसकेपछि अहिले इलाईट कन्ट्रक्सनले पुल निर्माणको जिम्मा लिएको इलाईटका प्रतिनिधि निकेश श्रेष्ठले जानकारी दिए।
प्रतिनिधि श्रेष्ठले खन्ती पुलको काम ६ महिना भित्रै सम्पन्न हुने दावी गरे। उनका अनुसार पुलको अहिले ५५ प्रतिशत भौतिक प्रगती सम्पन्न भइसकेको र फाउन्डेसन लगायत सिभिलको काम जेठ महिना भित्रै सकिने बताए। पुलको कालीगण्डकी नदीको बीचमा दुई वटा करिब ६ मिटर गहिरो फाउन्डेसन निर्माण हुनेछ।
पुलको वारिपारि दायाँ फाउन्डेसन स्टक्चर निर्माण हुनेछन्। अहिले निर्माण कम्पनीले फाउन्डेसन निर्माण तथा अन्य काम गर्न आवश्यक उपकरण र जनशक्ति परिचालन गरेको छ।
कालीगण्डकी नदीमा निर्माणाधीन खन्ती–सौरु जोड्ने पुलको लम्बाइ ५७० मिटर छ भने पुल २ मिटर चौडा हुनेछ।
मुस्ताङको थासाङ–२ खन्ती–सौरु जोड्ने पुल ३ वर्षअघि नै ठेक्का सम्झौता भए पनि निर्माण कम्पनीको ढिलासुस्तीले पुल निर्माणको काम अलपत्र परेको थासाङ–२ का वडाध्यक्ष गौतम शेरचनले बताए।
पुल निर्माणको काम लामो समयदेखि अलपत्र रहँदा स्थानीयवासीमा आक्रोस बढेको थियो। मुस्ताङको कालीगण्डकी नदीमा निर्माणाधीन थासाङको कोवाङ–सौरु जोड्ने पुल नबन्दा स्थानीयवासीले वषौं वर्षदेखि विभिन्न सास्ती व्यवहोर्न बाध्य छन्।
सो स्थानमा पुल नहुँदा सौरु र सिर्खुम गाउँका १२० घरधुरीले बर्खायामको मौसममा बेनी–जोमसोम मुख्य राजमार्ग सडक र वडा कार्यालयसम्म पुग्न समस्या छ। यस्तै, सौरु र सिर्खुम गाउँमा उत्पादित कृषि उपज सामाग्री मुख्य सडकसम्म ल्याउन गाह्रो पर्ने गरेको छ।
थासाङ–२ सौरुका स्थानीय सोजन हिराचनले कालीगण्डकी नदीमा पुल नहुँदा सौरु र सिर्खुमवालाई कालीगण्डकी नदी सदियौंदेखि अभिसाप बनेको बताए।