जुन फूल नयाँ वर्षमा फुल्छ
जनकपुरधाम : भनिन्छ, चोखो प्रेम अमर हुन्छ। १४ औं शताब्दीमा राजा सलहेश र उनलाई साँचो मनले प्रेम गरेकी दौना मालिनीको प्रेमको प्रतीकको रूपमा प्रत्येक वर्ष सलहेश फूलबारीमा वर्षको पहिलो दिन हारमको रूखमा माला आकारको अद्भुत फूल फुल्ने गर्छ।
आश्चर्य त के छ भने हारमको रूखमा फुल्ने यो फूल अर्को दिन नै ओइलिन्छ। वैशाख २ गते दिन ढल्दैै जाँदा विस्तारै फूल पनि ओइलिँदै जान्छ। यो अनौठो फूल हेर्न र राजा सलहेशको वीरता, साहस र प्रेमको गाथालाई स्मरण गर्न वैशाख १ गते लहानको सलहेश फूलबारी श्रद्धालुहरूले भरिभराउ हुन्छ।
प्रत्येक वर्ष झैं यस वर्ष पनि सलहेश फूलबारीमा अद्भुत फूल हेर्न र मेला भर्न जानेको शुक्रबार घुइँचो नै लागेको थियो। मेला भर्न भारतको बिहारबाट समेत श्रद्धालुहरू आउने गर्छन्। लहान बजारदेखि चार किलोमिटर पश्चिम दक्षिणमा ९ बिघा क्षेत्रफलमा फैलिएको सलहेश फूलबारी हेर्दै मनमोहक देखिन्छ। फूलबारीको मध्यभागमा हारमको रूखमा फूलेको माला जस्तो फूल हेर्न पाउनु नै श्रद्धालुहरूका लागि वरदानभन्दा कम हुँदैन।
फूलबारीमा राजा सलहेश र मालिनीको छुट्टाछुट्टै गहबर (मन्दिर) छ। मन्दिर पछाडि इनार र बालगंगा नदी बग्छ। जस्तोसुकै खडेरीमा पनि बालगंगा नदी नसुक्ने स्थानीय बताउँछन्। मेला भर्न आउनेहरू यस नदीमा स्नान गरेर पूजा गर्छन्। मेला भर्न आउनेहरूले सलहेश गहबरमा पूजापाठ गरी भाकल गर्दा सबै मनोकामना पूरा हुने जनविश्वास छ। विशेषगरी सलहेश गहबरमा पूजापाठ गर्दा निःसन्तान महिलाहरूले सन्तानसमेत पाउने विश्वास छ।
यस्तो छ किंवदन्ती
दुसाध र दनुवार जातिका इष्ट देवता हुन् सलहेश। उनकै नामबाट फूलबारीको नाम रहन गएको हो। यस फूलबारीको कथा चौधौं शताब्दीका लोकनायक राजा सलहेश र उनको प्रेमिका दौना मालिनीको गाथासँग जोडिएको जनविश्वास छ। गरिबहरूलाई समस्या पर्दा सहलेशले निदान गरिदिन्थे। उनी पहलमान, पराक्रमी तथा विद्यावान् थिए। उनी पहाडको राजा थिए। खासमा उनको नाम जयवद्र्धन थियो।’, मिथिलाका संस्कृतिविद् तथा प्राज्ञ धीरेन्द्र प्रेमर्षि भन्छन्, ‘सहलेशको नाच र किंवदन्तीमा पनि दुःख पर्दा गरिबहरूलाई सहयोग गर्न जाने गरेको कुुरा वर्णन गरिएको छ। यही विशेषताले सहलेश लोकप्रिय भए। पहिला उनी जनतामा गएर जनताको कुरो बुझ्थे। अनि न्याय गर्थे।’
सोे बेला सिरहा सदरमुकामलाई महिसोथा गढ राज्य भनिन्थ्यो। छैटों र सातौं शताब्दीदेखि मधेसका गढको रूपमा रहेको महिसोथागढको सेनापति भैरवभूपाल सोमदेव र मन्दोदरीको कोखबाट वीरबालक जयवद्रधन (सलहेश) को जन्म भएको थियो। उनी सानै उमेरदेखि सौर्यवान्, प्रखर बुद्धिमान र पराक्रमी थिए।
सलहेश आफ्नो राज्यबाट आएर मानिक दहमा स्नान गर्थे, फूलबारीमा फूल टिप्थे, सिल्हट अखडामा कुस्ती खेल्थे र फेरि सल्हेश गढमा गएर कूलदेवीको पूजा गर्थे। आफ्नो पराक्रम, राष्ट्रप्रेम र नेतृत्वशक्तिले गर्दा पूज्य भएका सलहेश अहिंसावादी थिए। हात्ती चढेर आफ्नो राज्यका जनताको बीचमा पुग्ने सलहेश जनताको पीरमार्कालाई नजिकबाट बुझ्ने गर्थे। पकडिया गढका राजा कुहलेश्वरको दरबारमा सहलेश सामान्य चौकीदार थिए। कार्यशैली, सुझबुझले उनलाई सबैले सम्मान दिन्थे। पछि राजाले उनैलाई राजा बनाए।
सलहेशको विवाह सीमावर्ती भारतको मधुवनी जिल्ला बरुवार भन्ने बलाठपुर गाउँका निवासी बलाठकी छोरी सामैरसँग भएको थियो। सोहीबेला पकडियागढकी राजकुमारी चन्द्रावतीको नौलखा हार चोरी प्रकरणमा सलहेश समातिएपछि पतिलाई जेलमुक्त गराउन सामैर पकडियागढ पुगिन्। उनले त्यहाँ आफ्नो सहपाठी दौना मालिनीको सहयोगमा सलहेशलाई थुनामुक्त गराइन्।
तर, सलहेशलाई हेरेपछि मालिनी मनमनै उनीसँग प्रेम गर्न थालिन्। मालिनीले सलहेशसँग विवाहको प्रस्ताव पनि गरिन् तर, उनले मानेनन्। विवाह नगरे पनि आफ्नो प्रेम कहिले नमिट्ने वाचा गर्दै सो बेलादेखि मालिनी हारमको रूपमा फूल बनेर प्रत्येक वर्ष सलहेशको प्रतीक्षामा फुल्ने गरेको किंवदन्ती छ। साँचो प्रेमको प्रतीक यस फूलको तल चोखो मनले वाचा गर्दै प्रेमीप्रेमिकाहरू वैवाहिक बन्धनमा पनि बाँधिने गर्छन्।