मुस्ताङको सामुदायिक होमस्टेमा पर्यटकको क्रेज बढ्दो
जोमसोम : मुस्ताङको घरपझोङ गाउँपालिका-५ ठिनी गाउँमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ।
जिल्लाका केही गाउँहरूमा औपचारिक र अनौपचारिक रूपमा होमस्टे सञ्चालन गरिए पनि जोमसोम नजिकै रहेको ठिनी गाउँमा थकाली सामुदायिक होम स्टे भने पर्यटकको रोजाइमा पर्न थालेको हो।
चालु वर्षको श्रावणदेखि हालसम्म दैनिक ७०/८० जना पर्यटक मुस्ताङको ठिनी थकाली सामुदायिक होम स्टेमा आउने गरेका छन्।
जोमसोममा पर्यटक लक्षित होटलहरूमा खाना तथा बासका लागि महंगो शुल्क तिर्नुपर्ने भएकाले पनि जोमसोम नजिकै रहेको गाउँ ठिनी थकाली सामुदायिक होमस्टेमा पर्यटकको लर्को लागेको हो।
सदरमुकाम जोमसोम नजिकै रहेको ठिनी गाउँ कृषिका अलावा व्यावसायिक रूपमा ओझेल परेपछि स्थानीय जनमुक्ति युवाक्लवको पहलमा २०७३ सालमा थकाली सामुदायिक होमस्टे सञ्चालनमा ल्याएको थियो।
सुरुआती क्रममा स्थानीय जुमा थकाली, मिना थकाली, स्मिता थकाली, आइतकुमारी थकाली र बत्तीमाया थकाली गरी पाँच घरधुरीका महिलाहरू होमस्टेमा जोडिएका थिए।
सुरुआती परिक्षणका रूपमा सुरु गरिएको होमस्टे दोस्रो वर्षमा दर्ता गरी सञ्चालनमा ल्याइएको थियो। सुरुआती ५ घरधुरीका महिलाले सञ्चालन गरेको ठिनी थकाली सामुदायिक होमस्टेमा अहिले ठिनी गाउँका १० वटा घरधुरी जोडिएका छन्।
यसअघि मुस्ताङको ठिनीका थकाली महिलाहरू कृषि पेशामा मात्रै आश्रित थिए। मुस्ताङमा पर्यटकको संख्या वृद्धि भएपनि होमस्टे नहुँदा ठिनीका स्थानीयले कुने व्यावसायिक लाभ लिन सकेका थिएनन्। पछिल्लो समय ठिनीका थकाली महिला उद्यमीहरूको जीवनशैली होमस्टेले फेरिन थालेको छ।
ठिनी त्यहाँका महिलाहरूले होमस्टे व्यवसायमा अपनाउन थालेपछि उनीहरू प्रत्यक्ष लाभान्वित भएका छन्। एक आपसमा गुजुमुच्च जोडिएका माटोले बनेका प्राचीन शैलीका घरहरू, त्यहाँको सांस्कृतिक धरोहरले ठिनी गाउँ मुस्ताङकै एक महत्वपूर्ण पर्यटकीय गन्तव्य बनेको छ। ठिनीबाट जोमसोम बजार र कालिगण्डकी नदी मनमोहक देखिन्छ।
त्यस्तै होमस्टेमा आएका पर्यटकले ठिनी गाउँको थकाली ऐतिहासिक संग्रहालय, ढुम्बाताल, कुछ्प तेरंगा गुम्बा, स्नो लियोपार्ट, यारुजो भ्यु टावर, कैसाङ क्याम्पमा रहेको छम्मा ताल, तिलिचो ताल, भम्पो गुम्बा, निलगिरी हिमाल र जोमसोम बजार अवलोकन गर्ने गर्छन।
जिल्लामा यातायातको सञ्जाल जोडिएपछि बर्सेनि हवाई तथा धावनमार्ग हुँदै मुस्ताङको भुगोल अवलोकन गर्ने तथा मुक्तिनाथ र प्रसिद्ध शालीग्राम स्थल कागबेनीधाम दर्शन गर्न आएका आन्तरिक तथा बाह्य पर्यटक फर्किँदा ठिनी होमस्टे पुग्ने गरेका छन्।
उत्तरी कोरलानाका पुगेर फर्किएका पर्यटक समेत पछिल्लो समय ठिनी थकाली होमस्टे खोजी गर्दै जान थालेका छन्। होमस्टे पुगेका पर्यटक पाहुनाले होमस्टेको व्यवस्थापन,आतिथ्यता र सुलभ मूल्यमा खाना र बस्न पाइने व्यवस्था रहेको खुसी व्यक्त गर्ने गरेका छन्।
ठिनी गाउँमा मोटर बाटो विस्तार भइसकेको छ। जोमसोमबाट ठिनीमा १५ मिनेटमै पुग्न सकिन्छ। ठिनी गाउँबाट पर्यटकीय स्थल ढुम्बाताल १० मिनेटमै पुग्न सकिन्छ।
जोमसोमबाट ठिनी हुँदै ढुम्बाताल र छैरोसम्म गण्डकी प्रदेश सरकारले ग्राभेल रिङरोड सडक समेत विस्तार गरिसकेको छ। ठिनी होमस्टेमा १ सय जना पर्यटक अटाउन सक्ने क्षमता छ। जसअनुसार एक होमस्टे घरधुरीमा दैनिक १० जना पर्यटक बस्न मिल्ने सुविधा छ।