भीर पहरामा भरिन थाले रैथाने भीरमौरी

भीर पहरामा भरिन थाले रैथाने भीरमौरी
सुन्नुहोस्

जाजरकोट : जाडो मौसम सुरु भएसँगै चाका छोडेर औंलतिर झरेका भीरमौरी अहिले रैथाने पहरामा भरिन थालेका छन्। चिसोका कारण मंसिरदेखि फागुनसम्म चाका छोडेर तराईतिर झरेका भीरमौरी चैत लागे यता जाजरकोटका अप्ठेरा पहरामा फर्केका छन्।

भीरमौरी धरैजसो अप्ठेरो तर पानी नपर्ने पहरामा चाका बनाएर बस्छन्। जाजरकोटको नलगाड नगरपालिकाको बानियाँगाउँ, बारेकोट गाउँपालिकाको तांसीधुम, लपेस, मुल्साम र कुशेको चाल्नाका भीरपहरामा सयौं संख्यामा गोलो लगाएर बस्ने गरेका छन्। एउटै पहरामा १ सयदेखि २ सयसम्मका गोला देखिएको वन्यजन्तु संरक्षणका अभियान्ता गोविन्द सिंहले बताए। बसन्त ऋतुको आगमण सँगै लेकतिर विभिन्न प्रकारका फूल फुल्ने र मौसम पनि आनन्ददायी हुने भएकोले मौरी यतिवेला फर्कने गरेको उनको भनाई छ।

उनका अनुसार जाजरकोटको बारेकोट क्षेत्रबाट मात्रै हरेक वर्ष ६ देखि ८ टन भीरमौरको मह निकासी हुने गरेको छ। छानेको मह प्रतिकेजी ८ सय रुपैयाँको दरले व्यापारीले गाउँमै आएर लिने गरेको उनले बताए। ‘पाटनका औषधिजन्य विभिन्न जडीबुटीको रसबाट मह बनाउने भएकोले भीरमौरीको महको आयुर्वेदिक महत्व छ,’ उनले भने, ‘वैशाख-जेठ र कात्तिक÷मंसिरमा २ पटक मात्रै निकालिने भीरमौरीको महको माग ठूला सहरमा बढी छ।’

भीरमौरीको मह निकाल्न त्यति सहज छैन। पूरै गाउँले मिलेर खानपिन बोकेर कम्तीमा एक हप्ताका लागि जंगलमा जान्छन्। भीरमौरीको चाका काट्न सिपालु र अनुभवीले मात्रै भीरमौरीको मह निकाल्न सक्ने नलगाड रग्दाका स्थानीय अगुवा नरबहादुर ध्यारले बताए।

उनका अनुसार कम्मरमा डोरी बाँधेर डोरीको सिँढी बनाएर पहरामा गएर भीरमौरीको मह निकालिन्छ। ‘मह काड्नेहरू बिहान पखेरामा गएर साँझ मात्र तल झर्छन्,’ उनले भने, ‘भीरमा मह काढ्नेलाई भाग लगाउँदा बढी नै मह दिने गरिन्छ।’ मह काढ्न जोखिम पनि उत्तिकै हुने गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.