प्रधानमन्त्रीको भारत भ्रमण तयारी तीव्र, साउद बने परराष्ट्रमन्त्री

प्रधानमन्त्रीको भारत भ्रमण तयारी तीव्र, साउद बने परराष्ट्रमन्त्री
सुन्नुहोस्

काठमाडौं : परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणको तयारीमा जुट्ने बताएका छन्। परराष्ट्रमन्त्रीको रूपमा आइतबार पद तथा गोपनियताको शपथ ग्रहण गरेका साउदले सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहणका क्रममा भने, ‘प्रधानमन्त्रीको भारत भ्रमणका बिषयमा मन्त्रालयले काम गरिरहेको छ। म यो बिषयमा सचिव सँगै कर्मचारीसँग ब्रिफिङ लिएर अगाडि बढ्छु।’

मन्त्री साउदले नेपाललाई शान्तिप्रिय लोकतान्त्रिक देशको रूपमा विश्वसामु चिनाउने उद्देश्यतर्फ लाग्ने पनि बताए।

‘नेपालले सबै छिमेकीहरूसँग सौहार्दपूर्ण र शान्तिपूर्ण सम्बन्धलाई कायम राख्नतर्फ म लाग्नेछु,’ उनले भने, ‘नेपाल शान्तिप्रेमी देश हो। छिमेकी राष्ट्रहरूसँग विगतदेखि नै हाम्रो सौहार्दपूर्ण र शान्तिपूर्ण सम्बन्ध रहीआएको छ। हामीले आगामी दिनमा पनि सबै छिमेकी देशहरूसँगको सम्बन्धलाई घनिष्ट बनाउँदै लैजानेछौं। नेपाललाई शान्तिप्रिय लोकतान्त्रिक देशको रूपमा विश्वसामु चिनाउने काम गर्नेछौं।’

राष्ट्रपति र प्रधानमन्त्रीको भारत भ्रमणलाई ध्यानमा राख्दै सत्तारूढ दलले साउदलाई परराष्ट्रमन्त्रीमा नियुक्त गर्ने सहमति गरेको थियो। कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाका विश्वसनीय नेताका रूपमा चिनिएका मन्त्री साउदलाई पार्टीभित्रकै धेरै आकांक्षी भित्रबाट सभापति देउवालेनै मन्त्रीका लागि अघि सारेका हुन्। 

त्यसो त कांग्रेसको राजनीतिमा साउदले निरन्तर देउवालाई सहयोग गर्दै आएका नेताका रूपमा चिनिन्छन्। मन्त्री साउदका विषयमा कांग्रेस नेता नैनसिंह महर भन्छन्, ‘एनपी साउदजि आफैंमा सक्षम मान्छे हो। उहाँले परराष्ट्र मन्त्रालय पाउने क्षमता उहाँमा थियो। अर्को कुरा पार्टी सभापतिजिको दुखः सुखमा सधैं साथमा उभिएको मान्छे हो। त्यसले पनि केहि न केही अर्थ त राख्छ। यद्यपि क्षमतामा प्रश्न छैन। उहाँ गरेर देखाउने मान्छे पनि हो।’ महर अगाडि भन्छन्, ‘विश्व राजनीतिमा दख्खल राख्ने नेतृत्व हो।

गठबन्धनको सरकारमा कांग्रेसको भागमा ९ मन्त्री परे पनि कांग्रेसको संस्थापन र इतरपक्षको भागबन्डा नमिल्दा बाँकी रहेका ४ वटा नाम पनि पठाउन सकेको थिएन। कांग्रेसबाट यसअघि चैत १७ गते नै ४ जना मन्त्री भइसकेका छन्। ती सबै संस्थापन पक्षबाट थिए। जसअन्र्तगत पार्टीका उपसभापति पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षामन्त्री, प्रकाशशरण महत अर्थमन्त्री, रमेश रिजाल उद्योग र सीता गुरुङ सहरी विकासमन्त्री बनिसकेका छन्। 

आइतबार मन्त्री भएका साउद पनि संस्थापक्षकै हुन्। उता शेखर गगन पक्षले भने ३ जना मन्त्री आफ्नो पक्षमा मागेका थिए। तर, अहिलेसम्म ३ जनाको नाम पठाइएको छैन। साउद मन्त्री भ पछि पनि अझै ३ जना मन्त्री कांग्रेसले पाउँछ। जसमा २ जना शेखर गगन समूहबाट छन् भने १ जना राष्ट्रपति रामचन्द्र पौडेलको कोटाबाट बनाउने तयारीमा कांग्रेस लागेको छ। 

यस्तै, आइतबारै नेकपा (एकीकृत समाजवादी) की नेत्री नन्दा चपाई भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नियुक्त भएकी छन्। 

विद्यार्थी राजनीतिबाट उदाएका साउद 

साउद विद्यार्थी राजनीतिबाट उदाएका नेता हुन्। पञ्चायतकालीन अवस्थामा कञ्चनपुरको विद्यार्थी आन्दोलनदेखि अघि बढेका उनी २०३६ सालमा महेन्द्रनगर माध्यमिक विद्यालयको नेपाल विद्यार्थी संघ एकाइ सचिव भएका थिए।

साउद २०४१ सालमा भएको नेपाल विद्यार्थी संघको निर्वाचनमा केन्द्रीय सदस्य हुँदै २०४८ असोजमा भएको नेविसंघको छैटौं महाधिवेशनबाट केन्द्रीय अध्यक्षमा चुनिएका थिए। साउद २६ वर्षकै उमेरमा नेविसंघको केन्द्रीय अध्यक्षमा निर्वाचित भएका हुन्। २०५९ सालमा वर्तमान सभापति शेरबहादुर देउवाको नेतृत्वमा कांग्रेस विभाजित भएर बनेको नेपाली कांग्रेस प्रजातान्त्रिकको केन्द्रीय सदस्य बने। 

कांग्रेस प्रजातन्त्रिकको ११ औं महाधिवेशनदेखि एकीकरणपछिको १२ औं महाधिवेशन र पछिल्लो १४ औं महाधिवेशनसम्म लगातार केन्द्रीय सदस्यमा निर्वाचित हुँदै आएका छन्। साउदले २०५१ देखि नै संसदीय निर्वाचनमा प्रतिस्पर्धा गर्दै आएका हुन्। यो बीचमा साउदले २०५६, ०६४, ०७०, २०७४ र ०७९ मा कञ्चनपुरबाट चुनाव लडे। हालसम्म उनले ३ पटक संसदीय निर्वाचन जितेका छन्। साउद यसअघि २०५६ मा शिक्षा राज्यमन्त्री र २०७० मा सिँचाइमन्त्री भएका थिए। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.